तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
लुम्बिनीमा स्वतन्त्र पार्टीको बलियो प्रदर्शन
- Author, माधव नेपाल
- Role, बीबीसी न्यूज नेपाली, बुटवल
- Published
पूर्व सञ्चारकर्मी रवि लामिछानेले नेतृत्व गरेको राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरूले लुम्बिनी प्रदेशको प्रतिनिधिसभा सदस्यमा अहिलेसम्म कुनै पनि जित ननिकाले पनि बलिया मानिएका अरू दलका केही प्रभावशाली नेताहरूलाई धरमरको अवस्थामा पुर्याएका छन्।
अहिले रुपन्देही क्षेत्र नं २ को मतगणना भइरहँदा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले बलियो चुनौती दिइरहेका छन्।
मतगणना सुरु भए पछिका दुई दिन सम्म अग्रता कायम गर्दै आएका गणेशलाई अहिले विष्णु पौडेलले पछाडि पारे पनि मत अन्तर भने १ हजार भन्दा कम नै छ।
पोखरेलको पराजय
त्यस्तै दाङ क्षेत्र नं २ का उम्मेदवार एमाले महासचिव शङ्कर पोखरेलको पराजयको एक मुख्य कारण राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विशाल अधिकारीले ल्याएको मत मानिन थालेको छ।
पोखरेलले २६ हजार मत कटाउँदा रास्वपाका अधिकारीले १४ हजार भन्दा केही बढी मत ल्याएर तेस्रो भएका छन्।
जबकि गठबन्धनकी रेखा शर्माले २०० भन्दा कम मतले जितेकी छन्।
यस्तै दाङ १ बाट उठेका समाजवादी पार्टीका मेटमणि चौधरी र नेकपा एमालेकी शान्ता चौधरीको परम्परागत मतलाई स्वतन्त्र पार्टीका देवराज पाठकले छिन्नभिन्न बनाएका छन्।
पाठक यो क्षेत्रमा तेस्रो भए पनि उनले ७ हजार बढी मत ल्याइसकेका छन्।
दाङ ३ का कांग्रेसका उम्मेदवार दीपक गिरी र एमालेका उम्मेदवार कोमल वलीको निम्ति जाने ठानिएको मत पनि स्वतन्त्र पार्टीका कमल सुवेदीले पाएका छन्।
मतगणनामा सुवेदी तेस्रो भएका छन् तर उनले ५ हजार मत कटाएका छन् ।
जताततै चुनौती
नवलपरासी क्षेत्र नं १ मा नेपाली कांग्रेसका विनोद चौधरीले अग्रता बढाउँदै गए पनि केही समय स्वतन्त्र पार्टीका महेन्द्र सेनले चौधरीलाई चुनौती दिएका थिए।
चौधरीले २० हजार मत कटाएका छन् भने जनता प्रगतिशील पार्टीका ह्रदयेस त्रिपाठीले १५ हजार मत कटाएका छन्।
१२ हजार मत कटाएका सेनले यी दुवै उम्मेदवारको मत काटेको पाइएको छ।
पाल्पा २ मा एमालेका ठाकुर प्रसाद गैरेले अग्रता लिइरहँदा समाजवादीका नेता सोमप्रसाद पाण्डे पछि परेका छन्।
यी दुई नेताको मतान्तर करिब ४ हजार छ भने स्वतन्त्र पार्टीका सोम प्रसाद गैरेले पनि ४ हजार भन्दा बढी मत ल्याएका छन्।