उत्तर कोरियाद्वारा ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण

Published

अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनले प्योङयाङविरुद्ध कडा कदमहरु चाल्नुपर्ने बताए लगत्तै उत्तर कोरियाले एउटा ब्यालेस्टिक क्षेप्यास्त्रको परीक्षण गरेको छ।

दक्षिण कोरिया र अमेरिकाका अधिकारीहरुका अनुसार उक्त क्षेप्यास्त्र उडेको केही बेरमा नै विष्फोट भएको थियो।

यसअघि यसै महिनाको शुरुमा उत्तर कोरियाले गरेको क्षेप्यास्त्र परीक्षण विफल भएको थियो।

पछिल्लो परीक्षण प्योङयाङबाट उत्तरमा पर्ने प्योङगान प्रान्तको दक्षिणी क्षेत्रमा स्थानीय समय अनुसार शनिबार बिहान गरिएको दक्षिण कोरियाले जनाएको छ।

तनाव

परीक्षण गरिएको भनिएको क्षेप्यास्त्रको प्रकृतिबारे केही थहा भएको छैन।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ट्विटरमा लेखेका छन्, "उत्तर कोरियाले आज गरेको क्षेप्यास्त्र परीक्षण असफल भएपनि त्यसले चीन र उसका सम्मानित राष्ट्रपतिको चाहनालाई अपमान गरेको छ।"

यो विषयमा उत्तर कोरियाले कुनै पनि प्रतिक्रिया दिएको छैन।

दक्षिण र उत्तर कोरिया दुवैले सैन्य अभ्यासहरु जारी राखिरहँदा कोरियाली प्रायद्वीपमा हालैका दिनमा तनावहरु बढेका छन्।

उत्तर कोरियाले लामो दुरीसम्म मार हान्ने क्षेप्यास्त्रमा जोडेर अमेरिकासम्म प्रहार गर्न सक्ने परमाणु अस्त्र विकास गर्ने प्रयास गरिरहेको छ।

परिणाम

राष्ट्रसंघको सुरक्षा परिषदमा बोल्दै अमेरिकी विदेशमन्त्री टिलरसनले उत्तर कोरियाको परमाणु कार्यक्रमविरुद्ध कदम चाल्न विश्व विफल भए त्यसले घातक परिणाम ल्याउने चेतावनी दिए।

चीन र रुसले बल प्रयोगको विरुद्ध आफूलाई उभ्याएका छन्।

चिनियाँ विदेशमन्त्री वाङ यीले थप वार्ताहरुको लागि आह्वान गरेका छन्।

रुसका उपविदेशमन्त्रीले सैन्य समाधान पूर्ण रुपमा अस्वीकार्य हुने बताएका छन्।