काबुल हमला: अफगान फौजको नियन्त्रणमा होटल

Published

अफगान सुरक्षा फौजले १२ घण्टाको संघर्षपछि राजधानी काबुलस्थित इन्टरकन्टिनेन्टल होटलमाथि आफूले नियन्त्रण हासिल गरेको जनाएको छ।

त्यस क्रममा ६ जना गैरसैनिकको ज्यान गएको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ।

मारिनेमध्ये एकजना विदेशी महिला रहेको बताइएको छ।

तीनैजना हमलाकारी पनि मारिएका छन्।

संघर्ष

१६० जना जतिको उद्धार गरिएको जनाइएको छ।

होटलमाथि नियन्त्रण हासिल गर्न अफगान फौजले रातभरजसो संघर्ष गर्नुपरेको थियो।

कडा सुरक्षा भएको स्थलभित्र कसरी हतियारधारीहरू प्रवेश गर्न सफल भए भन्ने विषयमा प्रश्नहरू उब्जिएका छन्।

कुनै पनि समूहले हमलाको जिम्मेवारी लिएको छैन।

तर सन् २०११ मा उक्त होटलमाथि आक्रमण गरेको तालिवान पछिल्लो घटनामा पनि संलग्न रहेको हुनसक्ने आशंका गरिएका छन्।