चीन विभाजनको प्रयास विफल पारिनेः सी

Published

चीनका राष्ट्रपति सी जिनपिङले संसद् सत्रको समापनका क्रममा सम्बोधन गर्दै चीनलाई उदाउँदो विश्वशक्तिका रूपमा चित्रित गरेका छन्।

पूर्ण एकता प्राप्त गर्नु सबै चिनियाँ नागरिकको सामूहिक आशा हो भन्दै उनले चीन विभाजनका गर्न सबै खालका प्रयत्नहरू विफल तुल्याइने बताए।

उनको अभिव्यक्तिलाई ताइवान तथा हङकङमा हुन सक्ने पृथकतावादी कदमप्रति लक्षित सशक्त चेतावनी ठानिएको छ।

सीले चीन आफ्नो विकासबाट सन्तुष्ट हुन नसक्ने टिप्पणी पनि गरेका छन्।

उनले भने, "हामीले 'एक चीन' सिद्धान्त पालना गर्नुपर्छ। सन् १९९२ मा गरिएको सहमति कायम राख्नुपर्छ र शान्तिपूर्ण विकासका लागि चीन र ताइवाइन बीचको सम्बन्धमा जोड दिनुपर्छ।"

"हामीले आर्थिक सहकार्य र सांस्कृतिक आदानप्रदानलाई विस्तार गर्नुपर्छ। ताइवानवासीहरूको कल्याणका र दुई देशबीचको शान्तिपूर्ण पुनर् एकीकरणका लागि मुख्यभूमि चीनको विकासपनि बाँड्नुपर्छ।"

सन् २०१३ मा सी राष्ट्रपति बनेका हुन्। न्याश्नल पिपुल्स कंग्रेसले संविधानबाट दुई कार्यकालमात्रै राष्ट्रपति रहने प्रावधान हटाउने पक्षमा मतदान गरेपछि अब उनले अनिश्चित कालसम्म चीनको नेतृत्व सम्हाल्ने सम्भावना देखिन्छ।

उनलाई नेता माओ त्सेतुङपछिको सबैभन्दा शक्तिशाली नेताका रूपमा हेरिएको छ र उनले आफ्ना धेरै प्रमुख सहयोगीहरूलाई न्याश्नल पिपुल्स कंग्रेसको नेतृत्वदायी तहमा नियुक्त गर्दै आफ्नो स्थान थप बलियो बनाएका छन्।

ग्रेट हल अफ द पिपलमा सीले गरेको सम्बोधनमा बारुदको आविष्कार र कन्फ्युसियसका कृतिहरूजस्ता चिनियाँ इतिहासका ठूला उपलब्धिबारे उनले चर्चा गरेका थिए।

प्रतिबद्ध

इतिहासले 'चीनलाई समाजवादले मात्र बचाउन सक्ने' प्रमाणित गरिदिएको बताउँदै सीले चीनका लागि आफ्नो बृहत् दृष्टिकोण प्रस्तुत गरे।

उनले चिनियाँ नागरिकमा 'शत्रुहरूका विरुद्ध अन्तिम क्षणसम्म रक्तपातपूर्ण लडाइँ लड्ने जोस' रहेको टिप्पणी समेत गरेका छन्।

प्रधानमन्त्री ली कचियाङले भने एउटा वार्षिक पत्रकार सम्मेलनमा व्यापार मामिलामा चीन विश्वव्यापी सहकार्यप्रति प्रतिबद्ध रहेको जनाएका छन्।

चीनले आफ्नो अर्थतन्त्र थप विस्तार गर्ने उल्लेख गर्दै प्रधानमन्त्रीले "स्वदेशी तथा विदेशी कम्पनीले चीनको विशाल बजारमा स्वच्छ प्रतिष्पर्धा गर्न सक्ने प्रत्याभूति गराइने" बताए।

चिनियाँ अधिकारीहरुले विगतमा पनि यस्तै प्रतिबद्धता जनाएका थिए।