रुसी कदमपछि अमेरिका आक्रोशित

Published

अमेरिकी विदेश मन्त्रालयले आफ्ना ६० कूटनीतिज्ञलाई रुसी सरकारले आधारहीन ढंगले देशनिकाला गरेको बताएको छ।

रुसी विदेशमन्त्री सर्गेइ लावरोवले सेन्ट पिट्सवर्गमा रहेको अमेरिकी कन्सुलेट ४८ घण्टाभित्र बन्द गर्न आदेश दिएपछि अमेरिकी प्रतिक्रिया आएको हो।

नियमित कूटनीतिक खेलमा 'जस्तालाई त्यस्तै' ढंङ्गले प्रतिक्रिया जनाउनु स्वभाविक मानिन्छ।

तर २० भन्दा बढी देशहरू र रुसबीच केही समययता बढ्दै गएको तनाव वर्षौ यताकै उच्च विन्दुमा पुग्न लागेको देखिन्छ।

प्रतिक्रिया

यसै हप्ताको सुरूमा वासिङटनले मस्कोविरुद्ध दुई ब्रिटिश नागरिकमाथि रासायनिक अस्त्र हमलाको आरोप लगाइरहेको ब्रिटेनलाई समर्थन गर्दै ६० जना रुसी कूटनीतिज्ञलाई देशनिकाला गर्ने बताएको थियो।

त्यसको जवाफमा मस्कोले पनि अमेरिकी कूटनीतिज्ञलाई देश छाड्न आदेश दिएपछि अमेरकी विदेशमन्त्रालयले रुस अरू देशहरूसँग राम्रो सम्बन्ध कायम गर्न अनिच्छुक रहेको टिप्पणी गरेको छ।

विदेशमन्त्रालयकी प्रवक्ता हेदर नावर्टले रूसले गैरकानूनी रुपमा रासायनिक हमला गरेको जिम्मेवारी स्विकार्नु परिपक्व कदम हुने उल्लेख गरिन्।

उनले अमेरिकासँग थप प्रतिक्रिया जनाउने अधिकार रहेको पनि बताएकी छन्।

बीबीसीकी मस्को संवाददाता सेराह रेन्सफोर्ड भन्छिन् अमेरिकासँग सेन्ट पिटर्सवर्ग स्थित आफ्नो कन्सुलेट बन्द गर्न र मुख्य गरी मस्कोमा रहेका आफ्ना ६० कूटनीतिज्ञलाई देश फर्काउन यसै सप्ताहन्तसम्मको समय रहेको छ।

उनका अनुसार युरोप र अमेरिकाले श्रृखंलाबद्ध रुपमा आफ्ना कूटनीतिज्ञहरूलाई देशनिकाला गरेपछि मस्कोले चालेको यो पहिलो कदम हो।