अमेरिका-मेक्सिको सीमा: पर्खाल बनाउन डोनल्ड ट्रम्पद्वारा बजेट माग

Published

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले "बढ्दो मानवीय तथा आप्रवासी संकट" समाधान गर्न मेक्सिकोसँगको सीमामा स्टीलको पर्खाल बनाउन आवश्यक लगानीको माग गरेका छन्।

आफ्नो कार्यालय ओभल अफिसबाट देशवासीको नाममा दिइएको टेलिभिजन सन्देशमा ट्रम्पले कङ्ग्रेसको सहमतिबिनै अमेरिका-मेक्सिको सीमामा पर्खाल बनाउने आफ्नो योजना बलपूर्वक अघि बढाउन सङ्कटकालको घोषणा भने गरेनन्।

टेलिभिजनमार्फत् नै असन्तुष्टि जनाउँदै विपक्षी डेमोक्र्याटिक पार्टीका नेताहरूले अमेरिकी जनताहरूलाई बन्धक बनाएको भन्दै ट्रम्पको कडा आलोचना गरेका छन्।

होडबाजी

पर्खालका लागि बजेट विवादकै कारण १८ दिनदेखि जारी सरकारी खर्चबन्दीका बीच सत्तापक्ष र विपक्ष दुवैले आफूलाई अब्बल प्रमाणित गर्ने प्रयास जारी राखेका छन्।

अमेरिकास्थित बीबीसी सम्वाददाताका अनुसार सरकारी खर्चबन्दीको जारी अवस्थाका लागि विपक्षीहरूले राष्ट्रपति ट्रम्प दोषी भएको बताइरहेका छन्।

उनको सम्बोधनले शुक्रवारको बजेट निकासामा समेत प्रभाव पार्ने ठानिएको छ।