उत्तर कोरिया युरेनियम र प्लुटोनियम अस्त्र नष्ट गर्न तयार: अमेरिकी विशेष दूत

Published

उत्तर कोरियाले आफ्ना सबै युरेनियम र प्लुटोनियम प्रशोधन केन्द्रहरू नष्ट गर्ने प्रतिबद्धता जनाएको उत्तर कोरियाका लागि अमेरिकी विशेष दूतले बताएका छन्।

लामो समयपछि सार्वजनिक रूपमा बोलेका स्टेफेन बेगनका अनुसार उत्तर कोरियाली नेता किम जङ अनले आफ्ना सबै हतियार केन्द्रहरू सशर्त नष्ट गर्न तयार रहेको जानकारी अमेरिका र दक्षिण कोरियालाई दिइसकेका छन्।

उतर कोरियाका लागि अमेरिकी विशेष दूत बेगनका अनुसार उत्तर कोरियाली नेता किम जङ अनले आफ्ना सबै परमाणु अस्त्र नष्ट गर्नु अघि अमेरिकाले पनि आफ्ना प्रतिबद्धताहरू पूरा गर्नु पर्ने शर्त राखेका छन्।

त्यसो हुन सके उत्तर कोरियाका सबै अस्त्र नष्ट हुन सक्ने जानकारी उत्तर कोरियाली नेता किमले अमेरिकी विदेश मन्त्री माइक पोम्पेओ र दक्षिण कोरियाली नेताहरूलाई दिइसकेको बेगनको भनाइ छ।

अनुगमन कहिले र कसरी होला?

बेगनले अमेरिकाले उत्तर कोरियाका सबै हतियार भण्डार तथा उत्पादन स्थलहरूमा विज्ञहरू पठाउन चाहिरहेको बताए।

उनले भने, "हामीले परमाणु अस्त्र निरस्त्रीकरण अघि उत्तर कोरियाका अस्त्र र अस्त्र भण्डारबारे सम्पूर्ण जानकारी पाउनु पर्दछ। हामीले उत्तर कोरियाका अस्त्र भण्डारबारे पनि सहमति जुटाउँदै त्यहाँ विज्ञहरू पठाउनु पर्दछ र अन्तराष्ट्रिय मापदण्ड अनुसार तिनको अनुगमन गर्नु पर्दछ।"

अनुगमनपछि आम नरसंहार गर्न प्रयोग हुने देखि साना सबै हतियार नष्ट गर्ने काम थालिने बेगनले बताए।

उनले उत्तर कोरियाको परमाणु अस्त्र नष्ट गर्ने प्रक्रिया अघि नबढे अमेरिकासँग आफ्नो वैकल्पिक योजना रहेको बताए।

त्यसअघि अमेरिकी राष्ट्रपतिले अमेरिका र उत्तर कोरियाबीचको दोस्रो शिखर बैठकको मिति तय भइसकेको बताएका थिए।

डोनाल्ड ट्रम्पको भनाइमा दुवै पक्षले त्यस दिशामा निकै प्रगतिहरू हासिल गरिसकेका छन्।