अमेरिकी निर्वाचन २०२०: राष्ट्रपतीय मतदानमा 'चीन, रुस र इरान यस्तो प्रभाव पार्न चाहन्छन्'

Published
पढ्ने समय: २ मिनेट

चीन, रुस र इरानले यो वर्ष हुने अमेरिकी राष्ट्रपतीय निर्वाचनलाई प्रभावित पार्न खोजिरहेको एक वरिष्ठ अमेरिकी गुप्तचर प्रमुखले चेतावनी दिएका छन्।

न्याश्नल काउन्टर इन्टलिजेन्स एन्ड सेक्युरिटी सेन्टर (एनसीएससी) का निर्देशक विलिअम इभानिनाले जारी गरेको विज्ञप्तिअनुसार ती राष्ट्रहरूले मत प्रभावित गर्न "गोप्य र खुला प्रभावका उपायहरू" प्रयोग गरिरहेका छन्।

उनका अनुसार चीनले राष्ट्रपति डोनल्ड ट्रम्प पुनर्निर्वाचित होऊन् भन्ने चाहेको छैन भने रुसले डेमोक्र्याटिक उमेद्दवार पूर्वउपराष्ट्रपति जो बाइडनलाई धक्का दिन खोजेको छ।

गुप्तचर प्रमुखहरूले रुसलाई सन् २०१६ को निर्वाचनमा हस्तक्षेप गरेको आरोप लगाउने गरेका छन्।

उनीहरूका अनुसार रुसले अनलाइन माध्यमबाट मिथ्या सूचनाहरू फैलाएर ट्रम्पको निर्वाचन अभियानलाई सघाउन चाहन्छ।

रुसले भने त्यस्तो आरोपलाई अस्वीकार गरेको छ।

के हो सन्दर्भ?

शुक्रवारको पत्रकार सम्मेलनमा चुनावी हस्तक्षेपका समाचारबारे ट्रम्पलाई सोधिएको थियो।

उनले त्यसलाई आफ्नो प्रशासनले 'निकै नजिकबाट' हेर्ने बताए।

ट्रम्पले हुलाकबाट हुने मतदान जोखिमपूर्ण हुने दाबी गरिरहेका बेला यस्तो भनाइ आएको हो।

उनले "इतिहासमै सबैभन्दा त्रुटिपूर्ण र कपटपूर्ण चुनाव" हुनुभन्दा बरु त्यसलाई पर सार्न सकिने बताउने गरेका छन्।

त्यस्तो प्रस्तावको उनकै पार्टीभित्र विरोध गरिएको छ।

डेमोक्र्याटिक सांसदहरूले गुप्तचर निकायहरूले यो वर्षको चुनावमा विदेशी हस्तक्षेपबारेका सूचना जनताहरूलाई नदिएको आरोप लगाएका थिए।

विज्ञप्तिमा के भनिएको छ?

शुक्रवार एनसीएससीका प्रमुखले जारी गरेको विज्ञप्तिमा विदेशी राष्ट्रहरूले मतदाताका रोजाइलाई बिथोल्न खोजेको उल्लेख छ।

ती देशहरूले अमेरिकी नीतिमा परिवर्तन, देशमा 'कलह बढाउन खोजेको' र 'प्रजातान्त्रिक प्रक्रियामा अमेरिकी नागरिकको विश्वास कमजोर पार्न खोजेको' एनसीएससी निर्देशक विलिअम इभानिनाले जनाएका छन्।

यद्यपि ती प्रतिजासुसी प्रमुखले 'ती विरोधी शक्तिहरूलाई हाम्रोमा ठूलो तहमा हस्तक्षेप वा प्रभाव पार्न कठिन हुने' बताए।

निर्वाचन परिणाममा थुप्रै देशका आआफ्ना रोजाई भए पनि आफूहरू मुख्य रूपमा चीन, रुस र इरानप्रति मुख्य चासो रहेको उनले बताए।

विज्ञप्ति अरु के छ?

  • चीनले ट्रम्पलाई अनुमान लगाउन नसकिने स्वच्छन्द स्वभावको ठान्दै उनले नजितून् भन्ने चाहेको छ
  • मस्कोले बाइडनको उमेद्दवारी सहितको 'रुसविरोधी संस्थापन'लाई बदनाम गर्दै 'ट्रम्पको प्रचार सामाजिक सञ्जाल र रुसी टेलिभिजनमा गर्न खोजेको' छ
  • इरानले 'अमेरिका विरोधी' र मिथ्या सूचनाहरू इन्टरनेटमा फैलाउँदै अमेरिकी प्रजातान्त्रिक संस्थाहरू, ट्रम्प र अमेरिकालाई कमजोर पार्न खोजेको छ। ट्रम्पको दोस्रो कार्यकालको निरन्तरताले इरानमाथिको उसको दबाव कायम रहने तेहरानले ठानेको छ।