तीन कारणले अभाव भएको खाना पकाउने ग्यास कहिलेबाट सहजै पाइन्छ?

तस्बिर स्रोत, EPA
- Author, अशोक दाहाल
- Role, बीबीसी न्यूज नेपाली
- Published
- पढ्ने समय: ५ मिनेट
नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको अभाव टार्न दैनिक १ लाख २० हजार हाराहारी सिलिन्डर बजारमा पठाइएको दाबी गरे पनि बिक्रेताहरूले त्यसले मागको ६० प्रतिशत मात्रै धानिरहेको बताएका छन्।
ग्यास बिक्रेताहरूले ग्यासका लागि उपभोक्ताको चाप अघिल्लो साताभन्दा केही घटेको तर कम नभएको बताएका छन्।
"मागको करिब ४० प्रतिशत कम छ जस्तो लाग्छ," ग्यास बिक्रेता महासङ्घका महासचिव विनोद काफ्ले भन्छन्।
"चाप त्यति कम भएको छैन। कुनै पनि डिपोमा सयदेखि डेढ सय जनालाई पर्खाउनु नै परिरहेको छ।"

तस्बिर स्रोत, RSS
नेपालमा ग्यासको आपूर्तिको जिम्मा पाएको आयल निगमका प्रवक्ता मनोजकुमार ठाकुरका अनुसार अहिले दैनिक एक लाख २० हजार हाराहारी सिलिन्डर ग्यास बजारमा गइरहेको छ। निगमले ग्यासको अभाव छिट्टै अन्त्य हुने बताएको छ।
ग्यास उद्योग महासङ्घका अध्यक्ष दिवान चन्द दैनिक एक लाख २० हजारभन्दा धेरै सिलिन्डर ग्यास उद्योगहरूबाट बजारमा गइरहेको बताउँछन्।
"यसअघि भन्दा १५ देखि १७ प्रतिशतले बढेर भारतबाट ग्यास आइरहेको छ। त्यतिले मात्रै एकै पटक पुगिरहेको चाहिँ छैन तर पहिलेभन्दा अत्यास कम भएको छ। मलाई लाग्छ अबको एक हप्तामा चाहिँ यसको प्रभाव देखिएला," चन्द भन्छन्।

तस्बिर स्रोत, RSS
उनका अनुसार भारतको बरौनीमा ग्यास भरिएका थप बुलेटहरू अबको एक सातामा नेपाल आइपुगेपछि बजारको माग पूरा हुने अपेक्षा गरिएको छ। उनका अनुसार अबको दुई महिनासम्म त्यही परिणाममा ग्यास आयातका लागि उद्योगीहरूले भनेका छन्।
आयल निगमका अनुसार साउन महिनामा मात्रै हालसम्म ४२ हजार ५०० मेट्रिक टन ग्यास भारतबाट आयात भएको छ। निगमका प्रवक्ताका अनुसार अहिले दैनिक १०० वटा भन्दा धेरै ग्यास ढुवानी गर्ने बुलेटहरू भारतबाट नेपाल भित्रिरहेका छन्।
एउटा ग्यास बुलेटमा १८ मेट्रिक टन ग्यास आउने गरेको उद्योगी चन्दले बताए। उनका अनुसार एउटा बुलेटबाट १,२५० वटा भन्दा धेरै ग्यास भर्न सकिन्छ। दैनिक १०० बुलेट ग्यास भारतबाट आउँदा नेपालमा दैनिक १ लाख २० हजार वटा सिलिन्डर भर्न सकिने उद्योगीहरू बताउँछन्।
आयल निगमका अनुसार नेपालमा मासिक औसत ४७ हजार मेट्रिक टन ग्यासको माग छ। जस अनुसार दैनिक १,५०० मेट्रिक टन अर्थात् १५ लाख किलोग्राम ग्यास खपत हुन्छ।
नेपालमा साधारण समयमा करिब एक लाखभन्दा केही बढी सिलिन्डरहरूको माग रहेको बिक्रेताले बताएका छन्। त्यसो भए अहिले एक लाख २० हजार सिलिन्डर पठाउँदा पनि किन ग्यास पसलमा मानिसहरू किन लाम लागिरहेका छन्?
बीबीसीले कुरा गरेका आयल निगम, उद्योगी र बिक्रेताहरूका अनुसार अहिले ग्यास अभावका तीन प्रमुख कारण छन्।
आधा सिलिन्डरको असर

तस्बिर स्रोत, RSS
अहिले आयात भइरहेको ग्यास बजारको साधारण माग धान्न पर्याप्त भए पनि आयल निगमले यसअघिका चार महिना आधा सिलिन्डर मात्रै ग्यास वितरण गर्न भनेको थियो।
इरान युद्धका कारण होर्मुज जलमार्ग अवरुद्ध भएपछि चार महिना अघि पनि नेपालमा ग्यासको माग धान्न आयल निगमलाई समस्या भए पछि आधा सिलिन्डर बिक्री सुरु गरिएको थियो।
तर इरान र अमेरिकाबीच युद्धविराम भएसँगै भरि सिलिन्डर ग्यास पाइने आशामा उपभोक्ताहरू ग्यास भर्न नगएको उद्योगी र बिक्रेताहरू बताउँछन्।
"आधा सिलिन्डर ग्यास दिँदा हाम्रोमा ग्यास कम आयो। प्रति महिना ४५ देखि ४७ हजार आउनुपर्नेमा ३० हजार मेट्रिक टन मात्रै आयो," चन्द भन्छन्।
"आधा सिलिन्डर मानिसहरूले भर्न खोजेनन्। भरिएर आएपछि भर्न थालेको भएर यो अप्ठ्यारो देखिएको हो। "
सरकारले भरि सिलिन्डर ग्यास बिक्री सुरु गरेसँगै इरानमा पुन: तनाव चर्किएपछि धेरै उपभोक्ताहरू ग्यास भर्न आएको बिक्रेताहरूको अनुभव छ।
ग्यास बिक्रेता महासङ्घका महासचिव काफ्ले पूरा सिलिन्डर ग्यास वितरणपछि अहिले एकै पटक चाप बढेको हो।
भण्डारण पूर्वाधारको अभाव

तस्बिर स्रोत, RSS
ग्यासको भण्डारण पूर्वाधार नहुनु पनि अहिले ग्यास अभाव देखिनुको कारण रहेको ग्यास उद्योगीहरूले बताएका छन्।
ग्यास भण्डारणका लागि पूर्वाधार बनाउने योजना बारम्बार अघि सारिए पनि हालसम्म पूर्वाधार नभएको नेपाल आयल निगमका अधिकारीहरूले बताएका छन्।
नेपालका ५० भन्दा धेरै ग्यास उद्योगहरूसँग करिब पाँच दिनको माग धान्ने ११ हजार मेट्रिक टन ग्यास भण्डारण गर्न सक्ने क्षमता छ।
चन्दका अनुसार नेपालमा धेरै पहिलेबाटै उद्योगीहरूले ग्यास भण्डारण बनाउन आयल निगमलाई अनुरोध गरिहरेका छन्।
"हामीले आयल निगमसँग कि तपाइँहरू भण्डारण बनाइदिनुहोस् होइन भने तपाइहरूसँग मिलेर बनाउन निजी क्षेत्र पनि तयार छ। या हामी आफैँले बनाउन सक्ने नीतिहरू बनाइदिनुहोस् भनेका थियौँ," उनले भने।
खासगरी २०७२ सालमा भारतको अघोषित नाकाबन्दीपछि नेपालमा ग्यास भण्डारण र पाइपलाइन पूर्वाधारका लागि योजनाहरू बने पनि विद्युत्को प्रयोग बढ्ने आकलनमा ती तयारी अलपत्र परेको हुनसक्ने चन्दको बुझाइ छ।
उपभोक्तामा अविश्वास

तस्बिर स्रोत, RSS
ग्यास आयातमा भारतसँग पूर्ण रूपमा निर्भर रहेको नेपालमा भारतले ग्यास ल्याउने इरानमा युद्ध हुँदा अभावको चिन्ता व्यक्त हुने गरेका छन्।
अहिले पनि मध्यपूर्वमा तनाव बढ्ने सङ्केतसँगै उपभोक्ताहरूले ग्यास भण्डारण सुरु गरेको आयल निगमको बुझाइ छ। तर ग्यास बिक्रेता र उद्योगीहरू आपूर्ति नियमित नहुने आशङ्काका कारण मानिसहरूले धेरै सिलिन्डर ग्यास भण्डारण गर्न थालेको बताउँछन्।
"अहिले भरि सिलिन्डर दिन थालेपछि एकै पटक चार-पाँच सिलिन्डर लिएर आउन थाल्नुभयो त्यसकारण अभाव भएको हो," विक्रेता महासङ्घका काफ्लेले भने।
लामो समयदेखि भरि सिलिन्डर ग्यास पर्खिरहेका र धेरै सिलिन्डर भएका उपभोक्ताले एकै पटक ग्यास किन्दा एउटा मात्रै सिलिन्डर राखेका उपभोक्ता मर्कामा परेको अधिकारीहरू बताउँछन्।
"भारतबाट एक दिन ग्यास आउन रोकियो भने पनि यहाँ एक हप्तासम्म असर पर्ने अवस्था छ," ग्यास उद्योगी चन्द सुनाउँछन्।
निगमले बिक्रेतालाई एक परिवारलाई एउटा भन्दा धेरै सिलिन्डर नदिन आग्रह गरिएको जनाएको छ।
आयल निगमले एक सिलिन्डर ग्यासमा एक हजार रुपैयाँभन्दा बढी घाटा भइरहेको जनाएको छ। तर अझै पनि भारतमा भन्दा नेपालमा ग्यासको मूल्य ६३० रुपैयाँ भन्दा बढी छ। निगमका अनुसार काठमाण्डूमा अहिले एक सिलिन्डर ग्यास ल्याउँदा ३,२३८ रुपैयाँ पर्छ।
निगमले एक सिलिन्डर ग्यासको खुद्रा बिक्री मूल्य २,०६० रुपैयाँ तय गरेको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।




















