फाइभजी प्रविधिमा जाने सरकारको नीति, नेपाली कम्पनीहरू कति तयार

तस्बिर स्रोत, EPA
- Author, सञ्जय ढकाल
- Role, बीबीसी न्यूज नेपाली
- Published
- पढ्ने समय: ५ मिनेट
नेपालका दुई मुख्य दूरसञ्चार सेवाप्रदायक कम्पनीहरूले आफूहरू फाइभजी (5G) को अत्याधुनिक प्रविधि अङ्गीकार तयार हुँदै गरेको बताएका छन्।
सरकारी नियामक निकाय दूरसञ्चार प्राधिकरणले हालै नेपालको फाइभजीतर्फको बाटो भनिएको "मोबाइल ब्रोडब्यान्ड इन्ह्यान्समन्ट प्लान"को मस्यौदा सार्वजनिक गरी त्यसमा सरोकारवालाहरूको राय सुझाव मागेको छ।
साथै प्राधिकरणले गत साता एउटा विज्ञप्ति जारी गर्दै "देशभरि फोरजी सेवा विस्तार एवं गुणस्तर वृद्धि गर्ने र प्रमुख सहरहरूबाट फाइभजी सेवा प्रारम्भको लागि चरणबद्ध योजना बनाई प्राधिकरण समक्ष पेस गर्ने" निर्देशन पनि जारी गरेको थियो।
त्यसको प्रतिक्रियामा नेपाल टेलिकम तथा एनसेलका प्रमुखहरूले आफ्ना कम्पनी नयाँ प्रविधि अँगाल्न तयार रहेको बताएका छन्।
तर त्यसका निम्ति केही आधारहरू आवश्यक पर्ने उनीहरूको भनाइ छ।
नेपाल टेलिकम र एनसेल के भन्छन्
सरकारी स्वामित्व भएको नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)ले फाइभजीको अलिअलि परीक्षण गरिसकेको र आफूहरू त्यसतर्फ फड्को मार्न तयारी हालतमा रहेको बताएको छ।
"हामीले एक तहको प्राविधिक परीक्षण पनि गरिसकेका छौँ। सरकारले फ्रिक्वन्सी नीति पनि निर्धारण गरिसकेकाले अब चाँडै नै मुख्य सहरहरूमा हामी फाइभजी सेवा ल्याउँछौँ," नेपाल टेलिकमकी प्रबन्ध निर्देशक सङ्गीता पहाडीले बीबीसीलाई बताइन्।
केही समयअगाडि नेपाल टेलिकमले काठमाण्डूमा फाइभजीको परीक्षण गरेको थियो।
"अर्को नयाँ वर्षभित्रमा सेवा सुरु गराउने हाम्रो योजना छ," प्रबन्ध निर्देशक पहाडीले भनिन्।
वैदेशिक लगानी भएको निजी क्षेत्रको दूरसञ्चार कम्पनी एनसेलले "मोबाइल ब्रोडब्यान्ड गुरुयोजना ल्याउने र त्यसमा टेलिकम सञ्चालकहरूको प्रस्ताव माग्ने नेपाल सरकारको पहल एउटा स्वागतयोग्य कदम हो" भनेको छ।
"फाइभजी र गिगाबिट-पर-सेकेन्डको उच्च गतिको इन्टरनेटजस्ता दूरसञ्चारका सेवाहरूलाई विस्तार गर्न २० देखि २५ करोड डलर (३० देखि ३८ अर्ब रुपैयाँ) नेपालमा लगानी गर्न तयार छौँ भनेर एनसेलले निरन्तर भन्दै आएको छ," एनसेलका प्रमुख कार्यकारी अधिकृत माइकल फोलेले बीबीसीलाई बताएका छन्।
"तथापि त्यसका निम्ति सरकारले सेवाको निरन्तरताको सुनिश्चितता गर्नुपर्छ र अनुकूल व्यावसायिक वातावरण निर्माण हुनुपर्छ," उनले भने। "हामी नेपालप्रति प्रतिबद्ध छौँ र उल्लेखनीय लगानी गर्ने क्षमता राख्छौँ।"
आधुनिक टेलिकम सेवामा नेपाल विश्वव्यापी स्तरमा मात्र नभई क्षेत्रीय स्तरमा पनि पछि परिरहेको उनले बताए।
"छिमेकीहरूको तुलनामा (नेपाल) पाँचदेखि आठ वर्ष पछि परेको छ। नेपालले अहिले तुलनात्मक रूपमा खराब फोरजी नेटवर्क सञ्चालन गर्दै आएको छ। दशौँ लाख ग्राहक अझै पनि टूजी चलाइरहेका छन् जबकि दक्षिण र उत्तरका छिमेकीहरू सिक् जी सेवा सुरु गर्दै छन्।"
टेलिकम सञ्जाल, डेटा सेन्टर, शैक्षिक संस्थाहरूसँगको कनेक्टिभिटीसहित समग्र कनेक्टिभिटी तथा एआईमा लगानीजस्ता विषयमा नेपालमा निकै न्यून लगानी भएको उनले औँल्याए।

तस्बिर स्रोत, Reuters
फाइभजी सेवा सञ्चालन गर्न दूरसञ्चार सेवा प्रदायकहरूले निकै ठूलो लगानी गर्नुपर्ने देखिन्छ।
काठमाण्डू उपत्यकामा मात्रै फाइभजी सञ्चालन गर्न पनि १८ देखि २० अर्ब रुपैयाँ लगानी गर्नुपर्ने देखिएको एक जानकारले बताए।
नेपाल टेलिकमकी प्रबन्ध निर्देशक सङ्गीता पहाडीले आवश्यक परे सरकारसँग सहयोग लिएर भए पनि नयाँ प्रविधि विस्तार गर्ने बताइन्।
"फाइभजी ल्याउने सरकारको नीति हो। हामी सरकारको सहयोग लिएर भए पनि यसमा लगानी गर्छौँ," उनले यसका निम्ति नेपाल टेलिकमले कति लगानी गर्नुपर्ने छ भन्ने चाहिँ निर्क्योल भइनसकेको बताइन्।
तर निजी क्षेत्रको एनसेललाई चाहिँ उसको व्यवसायको निरन्तरताबारे नै आशङ्काहरू रहेकाले तयारी र क्षमता भए तापनि लगानी गरिहाल्ने आँट नआएको बुझिन्छ।
दूरसञ्चारका कानुनअनुसार वैदेशिक लगानीको एनसेललाई २५ वर्ष सेवा अवधि पूरा गरेपछि सरकारले लिन सक्छ। उक्त अवधि सन् २०२९ को सेप्टेम्बरतिर पूरा हुँदै छ।
त्यसैले अलि दीर्घकालसम्म सेवा निरन्तरता गर्न पाउने भएपछि मात्र उसले थप लगानी गर्ने ठानिएको छ। एनसेलले यस मामिलामा सरकारसँग सोधपुछ गरिरहेको बताइएको छ।
के हो फाइभजी?

तस्बिर स्रोत, EPA-EFE/REX/Shutterstock
मोबाइल प्रविधिको पछिल्लो पाँचौ पुस्ता फाइभजीले उच्च गतिको डेटा, छिटो चल्ने जस्ता सुविधा प्रदान गर्छ।
मुख्यतया यसमा उच्च गतिको इन्टरनेट हुन्छ। उच्चबिन्दुमा पुग्दा फाइभजीको गति फोरजी, एलटीईभन्दा सय गुनासम्म धेरै हुने बताइन्छ।
यसमा डाउनलोड गर्न लाग्ने समय निकै कम हुने तथा अहिलेका स्मार्ट सहरहरूका निम्ति अनुकूल हुने गरी सानो ठाउँमा धेरै डिभाइस चल्न सक्ने बताइन्छ।
टेलिकमका अतिरिक्त फाइभजी सेवाले स्वास्थ्योपचार, शिक्षा, कृषि तथा उत्पादनजस्ता विविध क्षेत्रमा यसले फेरबदल ल्याउन सक्ने भनिन्छ।
"प्रभावकारिता, सेवा तथा गुणस्तरका हिसाबले अनि नयाँ प्रविधिको उपयोगका हिसाबले पनि फाइभजी महत्त्वपूर्ण छ," दूरसञ्चार प्राधिकरणका प्रवक्ता एवं निर्देशक मीनप्रसाद अर्यालले भने।
"पछिल्ला प्रविधिहरू आऊन् र ग्राहकलाई गुणस्तरीय सेवा उपलब्ध होस् भन्ने हाम्रो 'प्रविधि तटस्थता'को नीति हो। फोरजी होस् वा फाइभजी होस् वा भावी सिक्सजी होस्, ग्राहकलाई छिटोछरितो र गुणस्तरीय सेवा प्रवाह हुन सकोस्। यसैअनुरूप केही ढिलो भए पनि फाइभजीमा जाने कुरा भएका हुन्," अर्यालले भने।
प्राधिकरणले जारी गरेको मस्यौदा योजनामा महानगर तथा उपमहानगरहरूमा सन् २०२७ भित्र अनि देशैभरि सन् २०३५ भित्र फाइभजी सञ्चालन हुने लक्ष्य राखिएको छ।
"यसका लागि प्राधिकरण सहजीकरण गर्न तयार छ। सरकारले राजस्वमा, वा फ्रिक्वन्सी शुल्कमा प्रोत्साहन दिन सक्ने विषय सरकारकै भयो। लगानी, लगानीको प्रतिफल कहिलेसम्म लिने वा कुन चाहिँ विशिष्ट प्रविधि उपयोग गर्ने भन्ने जस्ता विषय चाहिँ सेवाप्रदायकहरूकै हुने भयो," उनले भने।
विश्वमा फाइभजी सुरु भएको चाहिँ सन् २०१९ मा हो। भारतमा यो सेवा सन् २०२२ मै सुरु भएको थियो।
थ्रीजी विस्थापित हुने
फाइभजी अँगाल्ने विषय अघि बढ्दै गर्दा नेपालबाट क्रमश: थ्रीजी सेवाको "सनसेट" विस्थापन पनि गरिने भनिएको छ।
"नेपालमा सेवाप्रदायकहरूले मूलत: टूजी, थ्रीजी र तथा फोरजी सेवा सञ्चालन गरिरहेका छन्। अब फाइभजी ल्याउँदा तिनले चारथरी नेटवर्क सञ्चालन गर्नुपर्ने हुन्छ। प्रयोगकर्ताहरूको व्यवहार नियाल्दा उनीहरूले भोइस (फोन) सेवाका निम्ति टूजी अनि डेटाका निम्ति फोरजी प्रयोग गर्ने देखिन्छ," प्राधिकरणको मस्यौदा योजनामा उल्लेख छ।
"हाल तीन प्रतिशतभन्दा थोरै प्रयोगकर्ताहरू थ्रीजी डेटामा निर्भर छन् तर सो सेवा सञ्चालनका निम्ति महँगो स्पेक्ट्रमको उपयोग भइरहेको छ र सञ्चालन खर्च भइरहेको छ। क्रमश: थ्रीजीलाई विस्थापन गर्दा नेटवर्कको किफायती व्यवस्थापन तथा खर्च कटौती हुन सक्छ। यसो गर्दा सेवा प्रदायकहरूले थ्रीजी व्यवस्थापनको बोझ पन्छाएर फाइभजी अप्ग्रेडमा ध्यान दिन पाउँछन्।"
प्राधिकरणको उक्त योजनामा थ्रीजी सेवालाई सन् २०२६ मै विस्थापन थाल्ने छन्। थ्रीजी मात्र चल्ने मोबाइल तथा डिभाइसको आयात तत्काल रोक्ने पनि त्यसमा उल्लेख छ।
"अझै पनि कतिपय ठाउँमा थ्रीजी मात्र चल्ने मोबाइल सेट छन्। ग्राहकहरूलाई कुनै अप्ठेरो नपरोस् भनेर ती सेट विस्थापन गराएर मात्र प्रतिस्थापन गर्छौँ," एनटीसीकी प्रबन्ध निर्देशक सङ्गीता पहाडीले भनिन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।




















