ब्रोड पीक हिमपहिरो : पाकिस्तान कसरी नेपाली शेर्पाहरूको दोस्रो ठूलो कर्मथलो बन्यो?

    • Author, प्रदीप बस्याल
    • Role, बीबीसी न्यूज नेपाली
  • Published
  • पढ्ने समय: ६ मिनेट

नेपाली पर्वतारोहण समुदायले देशबाहिर झेलेको दशकौँपछिको सबैभन्दा ठूलो दुर्घटनाका रूपमा गत विहीवारको ब्रोड पीक हिमपहिरोलाई सम्झिरहँदा पाकिस्तानमा नेपाली आरोहीहरूको फैलँदो भूमिकालाई पनि चासोपूर्वक हेरिएको छ।

शनिवार नेपाली आरोहण सञ्चालकहरूले दुई दिनदेखि बेपत्ता भएका विदेशीहरूसहितका आफ्ना सबै १० सदस्यहरूको मृत्यु भएको पुष्टि गरेका थिए।

आफ्नो देशबाहिर पाकिस्तानमै एउटै घटनामा छजना नेपालीहरू परेको घटनालाई बुझ्न पर्वतारोहण क्षेत्रमा 'फोर्टीन पीक'को ताजप्रति बढेको मोह र नेपाली शेर्पाहरूको फैलिरहेको भूमिकालाई खोतल्नुपर्ने यस क्षेत्रका जानकारहरू बताउँछन्।

आठ हजार मिटर माथिका सबै १४ वटा अग्ला हिमाल चढ्ने काम 'फोर्टीन पीक'लाई कसैले निर्मल 'निम्सदाई' पुर्जा अघि त्यति छिटो छिटो चढ्न सकिएला भनेर सोचेका थिएनन्।

नेपालमा जन्मेका तथा भूतपूर्व ब्रिटिश 'स्पेसल फोर्सेज (एसबीएस)' समेत रहेका पुर्जाले सन् २०१९ मा त्यसअघि 'फोर्टीन पीक' आरोहण सम्पन्न गर्न लागेको करिब आठ वर्षको समयलाई आधा वर्षमा झारिदिएका थिए।

यसअघि त्यस्तो कीर्तिमान कायम गर्ने दक्षिण कोरियाका किम चाङ्-होले १४-हिमालका आरोहण सक्न सात वर्ष १० महिना ६ दिन लगाएका थिए।

किम चाङ्-होको सो कीर्तिमानलाई त्यसबीचको एक दशकमा कसैले तोडेको थिएन। पुराना चर्चित आरोही राइनहोल्ड मेस्नरका लागि फोर्टिन पीक पूरा गर्न करिब १६ वर्ष लागेको थियो।

पुर्जाले १८९ दिनमा बनाएको उक्त कीर्तिमान नेटफ्लिक्स डकुमेन्ट्रीमार्फत विश्वभर चर्चित बन्यो।

त्यस्तै उनले सम्भव छ भनेर देखाएको 'फोर्टीन पीक'को ताज पर्वतारोहण जगतमा नयाँ लयमा चल्यो।

"फोर्टिन पीकका सबैभन्दा ठूला प्रवर्तक निम्स थिए भन्नेमा कुनै सन्देह छैन," नेपाल पर्वतारोहण सङ्घका कार्यवाहक अध्यक्ष ईश्वरी पौडेलले बीबीसीसँग भने। "उनको उक्त विशेष योगदानले पाकिस्तान नेपाली शेर्पाहरू काम गर्ने देशबाहिरको ठूलो कार्यस्थल बन्न पुगेको हो।"

'फोर्टीन पीक'का लागि पाकिस्तान पुग्नै पर्थ्यो, जहाँबाट आठ हजार मिटरमाथिका विश्वका १४ अग्ला हिमालमध्ये पाँच वटा - केटू (८,६११ मिटर), नङ्गा पर्वत (८,१२६ मिटर), जी वान (८,०८० मिटर), ब्रोड पीक (८,०५१ मिटर), र जी टु (८,०३५ मिटर) - आरोहण हुन्छन्।

पुर्जाको कीर्तिमान नर्वेकी आरोही क्रिस्टिन हरिला र तेन्जेन लामा शेर्पाले सन् २०२३ मा आधाले (९२ दिनमा) तोडिदिएका थिए। लामाको समेत सोही वर्ष तिब्बतमा शिशापाङ्मा हिमाल आरोहणका क्रममा हिमपहिरोमा परेर मृत्यु भएको थियो।

दोस्रो ठूलो बजार

सर्वोच्च शिखरको चुचुरोसम्मै पुगेर सगरमाथा मापन दलमा काम गरेका 'पन्ध्रौं चुली' पुस्तकका लेखक खिमलाल गौतमले पाकिस्तानलाई "नेपालबाहिरको दोस्रो ठूलो शेर्पा कार्यस्थल मान्न सकिने" बताउँछन्।

"हुन त नेपाली शेर्पाहरूले युरोप, अमेरिकी महादेशदेखि अन्टार्कटिकासम्मकै हिमालमा गाइड गर्दै आएका छन्," गौतम भन्छन्।

नेपाल पर्वतारोहण सङ्घका ईश्वरी पौडेलले "फोर्टीन पीक नहुँदो हो त पाकिस्तानको केटू दोस्रो सर्वोच्च शिखरका रूपमा चर्चित हुनेबाहेक अन्य हिमाल धेरैका आँखामा अहिलेजसरी नपर्ने" ठान्छन्।

निम्सको पहिलो ' फोर्टीन पीक' आरोहणलाई 'प्रोजेक्ट पोसिबल' नाम दिइएको थियो।

"त्यसले निम्सको सफलतासँगै त्यसपछि धेरै शेर्पा र विदेशीहरूलाई पर्वतारोहणको उक्त ताज साँच्चिकै सम्भव छ भन्ने आँट दिलायो। अनि पाकिस्तानका हिमालहरूमा ह्वात्तै आरोहीहरू जाने क्रम बढ्यो," ईश्वरी पौडेल भन्छन्।

"खासगरी विदेशीको त्यही सपनामा मिसिने क्रममा त्यहाँ डोरी टाँगेर बाटो बनाउने, उनीहरूलाई गाइड गर्ने गर्दागर्दै धेरै शेर्पाको 'फोर्टीन पीक' पूरा भएको छ।"

विदेशीहरूका लागि नेपाली शेर्पा अपरिहार्य भएसँगै नेपाली गाइडका लागि पाकिस्तानको पर्वतारोहण बजार फस्टाउन थाल्यो।

"यसले एकातर्फ नेपालीलाई पाकिस्तानमा रोजगारी दिने क्रम त बढायो नै, विश्वको व्यावसायिक पर्वतारोहणलाई समेत एउटा नयाँ आकार दिएको मान्न सकिन्छ," नेपाल पर्वतारोहण सङ्घका कार्यवाहक अध्यक्ष ईश्वरी पौडेलको भनाइ छ।

जातीय शेर्पा समुदायबाहेक हिमालमा 'गाइड'का रूपमा काम गर्ने अन्य जातजातिका पर्वतारोहीहरू समेत पर्वतीय समुदायमा 'शेर्पा'कै रूपमा चिनिन्छन्।

सगरमाथाबाट फुर्सद हुनासाथ पाकिस्तान

पाकिस्तानमा सामान्यतः वर्षमा एउटा याममा मात्र हिमाल चढिन्छ। त्यहाँका हिमाल निकै चट्टानी भएकाले प्राविधिक दृष्टिले पनि आरोहण गर्न कठिन र ढुङ्गा खसिरहने हुँदा जोखिमयुक्त रहने आरोहीहरू बताउँछन्।

शेर्पाहरू वसन्तकालीन आरोहण यामको अधिकांश समय सगरमाथासहितका नेपालका अग्ला हिमालहरूमा काम गर्दै बिताउँछन्।

नेपालमा मनसुन सुरु भएसँगै उल्लेख्य सङ्ख्यामा उनीहरूको पाकिस्तान पुग्ने तालिका रहन्छ।

र त्यसपछि शरदकालीन आरोहण अभियानको समय आइहाल्छ जतिखेर उनीहरू फेरि मनास्लु, आमादब्लमसहितका हिमालमा काम गर्ने गरी स्वदेश फर्कन्छन्।

पुर्जाले यसपटक ब्रोड पीक र त्यसपछि चोयु हिमाल आरोहण गर्दै बिना अक्सिजन दुई पटक 'फोर्टीन पीक'को कीर्तिमान कायम गर्ने लक्ष्य राखेको आरोहणअघि सामाजिक सञ्जालमार्फत् बताएका थिए।

त्यसो हुँदा उनी तीन पटक विश्वका १४ अग्ला हिमाल आरोहण पूरा गर्ने एक्ला आरोही बन्थे।

निम्ससँगै ब्रोड पीकमा ज्यान गुमाएका किली पेम्बा शेर्पाले करिब एक महिनाअघि पाकिस्तानको नङ्गा पर्वतको सफल आरोहण गरेर 'फोर्टीन पीक' गर्ने पर्वतारोहीको सूचीमा थपिएका थिए।

त्यसबेला उनको कम्पनी इम्याजिन नेपालले उनलाई पर्वतारोहीको 'विशिष्ट समूह'मा स्वागत छ भन्दै बधाई दिएको थियो।

उक्त कम्पनीका अध्यक्ष मिङ्मा जी स्वयंले बिना अक्सिजन 'फोर्टीन पीक' पूरा गरेका छन्। त्यसबेला उनले फेसबुकमा किली पेम्बाले पर्वतारोहणमा दर्साएको 'अटल लगाव'को प्रशंसा गरेका थिए।

पुरबहादुर गुरुङ 'युक्ता'ले फोर्टीन पीक सक्न दुईवटा मात्र हिमाल बाँकी थियो। उनले गत वसन्त याममा मात्रै नेपालका आठ हजारमाथिका तीनवटा हिमाल आरोहण गरेका थिए।

पाकिस्तानमा शेर्पा सान

सगरमाथा आरोही सङ्घकी अध्यक्ष रहेकी माया शेर्पाले सन् २०१४ मा पाकिस्तानको केटु हिमाल आरोहण गरेकी थिइन्।

"त्यसको केही वर्षअघि नेपालको सेभेन समिट ट्रेक्सले फोर्टिन पीकको पनि आरोहण अभियान सञ्चालन गर्ने बताएको थियो। खासमा त्यहाँबाट नेपाली शेर्पाहरूलाई पाकिस्तान जाने बाटो खुलेको थियो," माया शेर्पा भन्छिन्।

"तर सुरुका वर्षमा फाट्टफुट्ट मात्र आरोहण हुन्थे। त्यसो हुँदा शेर्पा नै कम जान पाउँथे। अहिले त त्यो बर्सेनि कम्तीमा चार-पाँचवटा कम्पनी गएर एक्सपिडिसन गर्ने अवस्था बनेको छ।"

उनका अनुसार नेपाली कम्पनीहरूले स्थानीय पाकिस्तानी कम्पनीहरूसँग साझेदारी गरेर काम गर्छन्। जसक्रममा केही स्थानीय आरोहीहरू समेत संलग्न हुने भए पनि उचाइका काममा अधिकांश नेपाली शेर्पाहरू नै हुने गर्छन्।

"गाइडका रूपमा पाकिस्तानीहरू हुँदै नहुने होइनन्। तर शेर्पाको तुलनामा ती निकै कम छन्। एक दशकअघि पाकिस्तानका हिमालमा शेर्पाहरू देख्दा दङ्ग पर्नुपर्थ्यो। अहिले त शेर्पा नै शेर्पा हुन्छन्," माया शेर्पाको भनाइ छ।

सन् २०२१ मा सफल भएको पहिलो हिउँदे केटू हिमालको आरोहणले निम्ससहित शेर्पा समुदायलाई चुनौतीको नयाँ सीमा खडा गरिदियो।

पर्वतारोहण जगतको एउटा बाँकी रहेको 'ताज' भनेर निकै चर्चा पाएको उक्त आरोहण अभियान समेत यतिखेर आफ्ना सदस्यहरू गुमाएका तिनवटै कम्पनी इलाइट एक्सपेड, सेभेन समिट्स र इम्याजिन नेपालले मिलेर गरेका थिए।

पाकिस्तानमा काम पाउने क्रम बढेपछि कतिपय शेर्पाहरूलाई गाइड मात्र नभईकन कीर्तिमान पछ्याउन जान नै पनि सहज भएको जानकारहरू बताउँछन्।

कैयौँ नेपाली कम्पनीहरूले पछिल्ला वर्षमा नियमित रूपमै त्यहाँ सम्पूर्ण आरोहण व्यवस्थापनको काम गर्छन्।

पाकिस्तानमा आरोहण सञ्चालन गर्न व्यवस्थापकीय हिसाबले पनि नेपालमा जस्तो सहज नमानिने आरोहीहरू बताउँछन्।

नेपालमा जसरी गाउँहरू हुँदै पदयात्रा गर्ने, लजहरूमा बस्दै आधार शिविर पुगेर हिमाल आरोहण गर्ने अवस्था नहुने 'फोर्टीन पीक' गर्ने कान्छा आरोही निमा रिन्जी शेर्पाले बीबीसीसँगको अन्तर्वार्तामा बताएका थिए।

"त्यहाँ सबैतिर क्याम्प बनाउँदै अगाडि बढ्नुपर्ने हुन्छ। खास हिमाल आरोहण अभियान त्यहाँ अनुभूति हुन्छ," निमा रिन्जीले भनेका थिए।

"पुरानो जमानाको आरोहणजस्तो समयमा पुगिन्छ त्यहाँ, जहाँ कुनै कुरा पनि तम्तयार अवस्थामा हुँदैन। सबै थोक आफैँले जुटाउँदै, आपसी सम्बन्धहरू कसिलो बनाउँदै घोडा खच्चडमा अगाडि बढ्नुपर्छ।"

त्यस्तो अवस्थाको दुर्गम भूभागमा नियमित रूपमा नेपाली कम्पनीहरूले व्यावसायिक आरोहण अभियान सञ्चालन गर्दा त्यसले 'कम खर्चमै र सहजै' आरोहीहरू 'फोर्टीन पीक' गर्न सक्ने भएको पर्वतारोहण सङ्घका ईश्वरी पौडेल बताउँछन्।

त्यसमाथि विभिन्न आन्तरिक र बाह्य द्वन्द्व भइरहने पाकिस्तानमा नेपालीहरूलाई 'तटस्थ' मानेर विश्वास गरिने गरेको आरोहीहरू बताउँछन्।

विदेशमा पनि शेर्पाकै खोजी

भारतको पन्जाब विश्वविद्यालयमा अध्यापन गर्ने शेर्पा अनुसन्धानकर्ता मेधावी गुलाटीले व्यावसायिक पर्वतारोहण जगतमा गाइडका रूपमा नेपालका शेर्पाहरूजत्तिको दक्ष र उच्च सीपयुक्त जनशक्ति एउटै जातिमा अन्यत्र नपाइने बताउँछिन्।

"उच्च हिमाली पर्वतारोहणमा रहेको लामो इतिहास र फरक-फरक हिमाली परिवेशमा गरेका व्यावसायिक कामका कारण विदेशमै समेत स्थानीय गाइडहरूको तुलनामा शेर्पाहरू नै बढी रोजिन्छन्। पाकिस्तानमा पनि हिमालमा काम गर्ने हुन्जाजस्ता जातीय समुदाय नभएका होइनन्। तर विश्व पर्वतारोहण क्षेत्रमा शेर्पाप्रतिको अलग्गै विश्वास र भरोसा पाइन्छ," गुलाटी भन्छिन्।

"नेपाली शेर्पाको कर्मथलो पाकिस्तानसम्म विस्तार हुँदा त्यसले उनीहरूलाई अझ अभूतपूर्व अन्तर्राष्ट्रिय ख्याति दिलाउन सकेको छ। त्यससँगै हिन्दुकुश-काराकोरम-हिमालय क्षेत्रमा हुने पर्वतारोहणले नयाँ पहिचान र आकार पाउन सकेको छ।"

नेपाल, पाकिस्तान र चीनबाट आरोहण हुने गरेका 'फोर्टिन पीक' मा पर्ने ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमचुलीमा सगरमाथा, केटु, कञ्चनजङ्गा, ल्होत्से, मकालु, चो ओयु, धौलागिरी १, मनास्लु, नङ्गा पर्वत, अन्नपूर्ण १, गेशरब्रम १, ब्रोड पीक, गेशरब्रम २, र शिशापाङमा पर्छन्।

कतिपय यी हिमाल दुई देशका सीमानामा समेत पर्छन्।

"निम्सले उतिबेला निकै महत्त्वाकाङ्क्षी ठानिएको फोर्टीन पीकको योजना बुन्ने बेलादेखि नै आफ्ना सहयात्री र सहयोगीका रूपमा नेपाली शेर्पाहरू र नेपाली कम्पनीको भर परेका थिए। उनको आरोहण अभियानको सफलतासँगै त्यसले थप सशक्त पहिचान बनाउन सक्यो," गुलाटीको भनाइ छ।

करिब १० हजार पटक सगरमाथाको सफल आरोहण भइसक्दा समेत 'फोर्टीन पीक' चढ्नेहरू एक सयभन्दा कमकै सङ्ख्यामा रहनुले पनि त्यसको मान पर्वतारोहण जगतमा अझै निकै उच्च रहेको गुलाटी बताउँछिन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।