विश्वकपको टिकट किनेका नेपालीसहित ५० देशका प्रशंसकले अमेरिकी भिसा लिन धरौटी राख्नुनपर्ने

ओभल अफिसमा फिफा विश्वकपको ट्रफी बोक्दै डोनल्ड ट्रम्प

तस्बिर स्रोत, Bloomberg via Getty Images

Published
पढ्ने समय: ३ मिनेट

ट्रम्प प्रशासनले संयुक्त राज्य अमेरिकामा फिफा विश्वकप फुटबलका खेल हेर्न जान चहाने र वैध टिकट भएका ५० देशका नागरिकलाई अमेरिकाको प्रवेशाज्ञा लिन १५,००० डलर धरौटी मिनाहा गर्ने निर्णय गरेको छ।

ती ५० देशमध्ये एल्जीरिया, काबु भेअर्ड, आइभरी कोस्ट, सेनेगल र ट्यूनिशिया प्रतियोगिताका लागि छनोट भएकाहरू हुन्। अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गर्न लागेको विश्वकप फुटबल २०२६ आगामी ११ जुनदेखि सुरु हुने छ।

"हामी विश्वकपको टिकट किनेका योग्य प्रशंसकहरूलाई 'भिसा बन्ड' मिनाहा गर्दै छौँ," कन्सूलर मामिला हेर्ने सहायक विदेशमन्त्री मोरा नाम्दारले एउटा विज्ञप्तिमा भनेकी छन्।

तोकिएको मिति गुजारेर 'ओभरस्टे' गर्ने प्रवृत्ति घटाउन भन्दै अमेरिकाले गत वर्ष भिजिट भिसाका आवेदकहरूले निश्चित रकम धरौटी राख्नुपर्ने प्रावधान ल्याएको थियो।

विश्वकपमा सहभागी टोलीका खेलाडी र प्रशिक्षकहरूले यसअघि नै छुट पाएका थिए। तर वैध टिकट भए पनि बुधवारअघिसम्म फुटबल हेर्न अमेरिका जाने प्रशंसकहरूलाई उक्त सुविधा दिइएको थिएन।

आप्रवासन नियन्त्रणको प्रयास

ट्रम्प प्रशासनले आप्रवासन नियन्त्रण गर्ने आफ्नो योजनाअन्तर्गत गत वर्ष अगस्ट महिनादेखि भिसाका लागि धरौटी राख्नुपर्ने प्रावधान राखेको थियो। त्यसलाई बाह्रमहिने नमुना कार्यक्रम भनिएको छ।

अमेरिकी विदेश मन्त्रालयका अनुसार 'भिसा ओभरस्टे' नियन्त्रण गर्न अनि प्रवेशाज्ञा दिनुअघि जाँचका लागि आवश्यक जानकारी अपर्याप्त भएको लागेमा पनि धरौटी राख्नुपर्छ।

तर अमेरिका भ्रमण सकिएपछि भिसावाहकले राखेको धरौटी फिर्ता हुन्छ।

नेपाल पनि भिसाका लागि धरौटी बुझाउनुपर्ने सूचीमा परेको छ। अहिलेको निर्णयबाट नेपाली फुटबल प्रशंसकहरू पनि लाभान्वित हुने छन्।

फिफाद्वारा स्वागत

फिफाले एउटा विज्ञप्ति प्रकाशन गर्दै धरौटी मिनाहाको घोषणालाई स्वागत गरेको छ। यसबाट विश्वकपलाई "सफल र बिर्सिन नसकिने एउटा वैश्विक कार्यक्रम बनाउन" ह्वाइट हाउससँग फिफाले गरेको सहकार्य देखिएको उसको भनाइ छ।

"हामी अहिलेको साझेदारीका लागि [अमेरिकी] प्रशासनप्रति कृतज्ञ छौँ," फिफाको विज्ञप्तिमा उल्लेख गरिएको छ।

नाम्दारका अनुसार उक्त सुविधा पाउन विश्वकपमा सहभागी हुने देशका प्रशंसकहरूले टिकट किनेर एप्रिल १५ भित्र 'फिफा पास' मा नाम दर्ता गरेको हुनुपर्छ। 'फिफा पास'मा नाम दर्ता गरेका व्यक्तिले भिसा अन्तर्वार्ताका लागि समय पाउँछन्।

"आसन्न प्रतियोगिताका लागि वैधानिक यात्रालाई सहज बनाउँदा हामी अमेरिकाको राष्ट्रिय सुरक्षाका प्राथमिकताहरूलाई बलियो बनाउन प्रतिबद्ध छौँ," उनले भनेकी छन्।

इरान र हेइटीका प्रशंसकले पाएनन् यो सुविधा

पचास देशका फुटबल प्रशंसकले यो सुविधा पाए पनि इरान र हेइटीबाट आउन चाहने व्यक्तिहरूले अमेरिकामा प्रवेश पाउने छैनन्। विश्वकपसँग सम्बन्धित यात्राका लागि खेलाडी र प्रशिक्षकहरूलाई भने अमेरिका भ्रमण गर्ने अनुमति छ।

आइभरी कोस्ट र सेनेगलबाट आउने मानिसहरूलाई यात्रामा आंशिक प्रतिबन्ध छ।

गत वर्षको अन्त्यतिर अमेरिका सरकारले दर्जनौँ देशका पर्यटकहरूले अमेरिकाको भिसा लिन उनीहरूले सामाजिक सञ्जालमा पाँच वर्ष गरेका गतिविधि हेरिने घोषणा गरेको थियो।

उक्त निर्णयबाट विश्वकप हेर्न अमेरिका जान चाहने कैयौँ मानिसहरू प्रभावित भएको हुन सक्ने ठानिएको छ।

मानवाधिकारवादी समूहहरूले अमेरिका सरकारको त्यस्तो नीतिका कारण यात्रुहरूले अमेरिका प्रवेश गर्न नपाउन सक्ने, पक्राउ पर्न सक्ने, यात्रामा थप प्रतिबन्ध खेप्न सक्ने, सामाजिक सञ्जालको जाँच हुन सक्ने, जातीय प्रोफाइलिङ हुन सक्ने र अझ बढी निगरानीमा पर्न सक्ने जोखिम भएको औँल्याउँदै आएका छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।