८१ वर्षे प्राविधिक जसलाई सौर्य एअरलाइन्सले विमान मर्मतको काम गर्न बोलाएको थियो

भिडिओ क्याप्शन सुरु हुँदैछ,
८१ वर्षे प्राविधिक जसलाई सौर्य एअरलाइन्सले विमान मर्मतको काम गर्न बोलाएको थियो
Published

ललितपुरको बखुन्डोलका ८१ वर्षीय श्याम बिन्दुकार बुधवार बिहान ९ः३० बजेतिर आफैँ गाडी हाँकेर त्रिभुवन विमानस्थल पुगेका थिए। उनी सौर्य एअरलाइन्सको टोलीसँगै पोखरा जान लागेका थिए।

विमान मर्मतको काममा दशकौँको अनुभव बटुलेका बिन्दुकारले डेढ वर्षअघि अवकाश लिइसकेका थिए। तर सौर्य एअरलाइन्सले उनको विज्ञता र अनुभव उपयोगी हुने भन्दै उनलाई पोखरा लैजान लागेको उनको परिवारले बताएको छ।

उनलाई विमानस्थलसम्म पुर्‍याउन गएका जेठा छोरा रमेश बिन्दुकारले बुवालाई छाडेर घर पुगेको केही समयमै विमानस्थलमै काम गर्ने आफ्ना भाइ सुरेशले फोनमा भने, "बुवा चढेको विमान दुर्घटनामा पर्‍यो।"

विमानस्थलमा १८ जनाको ज्यान जाने गरी भएको दुर्घटनामा आफ्नो बुवाको मृत्यु भएको कुरा पत्याउन अझै गाह्रो परेको छ।

"ल, बोर्डिङ पास लिएँ, अब जान्छु...।" बुवाले भनेको अन्तिम वाक्य रमेश बिन्दुकारको कानमा घरिघरि गुन्जिन्छ।

श्याम बिन्दुकारले परिवारलाई ‘अब काम गर्दिनँ’ भन्दै आएका थिए।

तर उनले सौर्य एअरलाइन्सको आग्रह नकार्न नसकेको र ‘सी-चेक’ का लागि एअरलाइन्ससँग सम्झौता गरेर काम गर्न तयार भएको उनका कान्छा छोरा सुरेश बिन्दुकारले बताए। उक्त विमानमा चढेका अधिकांश यात्रु सौर्य एअरलाइन्सका प्राविधिक र कर्मचारी थिए।

बुवाको निधनसँगै ७९ वर्षीया आफ्नी आमालाई सम्हाल्न निकै कठिन भएको रमेश र सुरेशले बताएका छन्।

महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा आफ्ना बुवाको शवको प्रतीक्षामा रहेका बिन्दुकारका दुई छोरासँग कुराकानी गरी कमल परियारले बनाएको यो भिडिओ हेर्नुहोस्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।