इरानले होर्मुज जलमार्गमा पानीजहाजहरूमाथि हमला रोक्ने खुला प्रतिबद्धता जनाउनुपर्ने अमेरिकी माग

होर्मुज जलमार्ग

तस्बिर स्रोत, Reuters

    • Author, आना फेगी
    • Role, वाशिङ्टन
  • Published
  • पढ्ने समय: ३ मिनेट

शनिवार हुने वार्ताको एक हिस्साका रूपमा इरानले होर्मुज जलमार्ग खुला रहेको सार्वजनिक घोषणा र व्यावसायिक पानीजहाजहरूमा गोलाबारी रोक्ने प्रतिबद्धता जनाउनुपर्ने अमेरिकाले माग गरेको छ।

अमेरिकी सञ्चारमाध्यमहरूले नाम खुलाउन नचाहेका अधिकारीहरूलाई उद्धृत गर्दै तेहरानले आन्तरिक रूपमा राष्ट्रपति डोनल्ड ट्रम्पका सल्लाहकारहरूसँग पानीजहाजहरूमा गोलाबारी गर्नु गल्ती रहेको कुरा स्वीकारेको जनाएका छन्।

यद्यपि इरानी पक्षले त्यस्ता हमलाका घटनामा गलत मनसाय भएको एक आन्तरिक समूहलाई दोष लगाइएको छ।

ट्रम्पले चाहिँ दुवै पक्ष यसै साता होर्मुजको जलमार्गमा भएका लडाइँका बाबजुद वार्ता जारी राख्न सहमत भएको बताएका छन्। त्यसलाई यसअघि ह्वाइट हाउसले युद्धविरामको उल्लङ्घनको रूपमा हेरेको थियो।

जुन महिनामा अमेरिका र इरानले युद्धविराम सम्झौतामा हस्ताक्षर गरेका थिए, जसअन्तर्गत इरानले आंशिक रूपमा व्यावसायिक जहाजहरूलाई सुरक्षित मार्ग दिने भनिएको थियो।

तेहरान र वाशिङ्टन के भन्छन्?

यसै साता इरानले दिवंगत सर्वोच्च नेता आयातोल्लाह अलि खामेनेइको पार्थिव शरीर समाधिस्थ गरेको छ

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, यसै साता इरानले दिवंगत सर्वोच्च नेता आयातोल्लाह अली खामेनेइको पार्थिव शरीर समाधिस्थ गरेको छ

तेहरानले चाहिँ कट्टरपन्थीहरूको एक "दुष्ट" गुटले व्यावसायिक पानीजहाजहरूमा गोलाबारी गरेर वार्तालाई कमजोर पार्न खोजिरहेको जनाएको वरिष्ठ अमेरिकी अधिकारीहरूले बीबीसीको अमेरिकी साझेदार सीबीएस न्यूजलाई बताएका छन्।

"उनीहरू [इरानीहरू] फेरि टेबलमा आएर भने, 'हामीबाट गडबड भयो। हामीले गल्ती गर्‍यौँ। वार्ता जारी राखौँ," एक अधिकारीले उक्त टिभी नेटवर्कलाई भने।

शुक्रवार एक प्रेस ब्रीफिङ्गमा बताइएअनुसार अमेरिकी अधिकारीहरूले क्षेत्रीय मध्यस्थकर्तामार्फत् तेहरानको नेतृत्वलाई सन्देश पठाएका छन्।

त्यसमा इरानले जलमार्ग खुलाको घोषणा गर्ने र व्यावसायिक पानीजहाजहरूमा गोलाबारी बन्द गर्ने माग गरिएको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन्।

"उनीहरूले कि त हामीलाई उक्त वक्तव्य दिने छन् नत्र हामी उनीहरूका लागि राम्रो परिणाम दिने छैनौँ," रोयटर्स समाचार संस्थाले उद्धृत गरेका एक अधिकारीले भने।

सीबीएसको विवरणअनुसार ह्वाइट हाउसले इरानले सार्वजनिक रूपमा पानीजहाजमा गोली चलाउनु गल्ती भएको स्वीकार गरोस् भन्ने चाहेको जनाइएको छ।

इरानी विदेशमन्त्री अब्बास अराग्चीले आफ्नो देशले युद्धविरामबारे "आफ्नो वाचामा दृढ गरेको" बताउँदै अमेरिकाले सम्झौताको उल्लङ्घन गरेको जनाएका छन्।

नयाँ वार्ता

उपराष्ट्रपति जेडी भान्स, विदेशमन्त्री मार्को रुबिओ र मध्यपूर्व वार्तामा गहिरो ढङ्गबाट संलग्न दुई व्यक्तिहरू - विशेष दूत स्टीभ विट्कफ र ट्रम्पका ज्वाइँ जारेड कुश्नर - शनिवार ओमानमा हुने अपेक्षा गरिएको वार्ताको नेतृत्व गर्ने अपेक्षा गरिएको छ।

इरानी विदेशमन्त्री अराग्ची पनि उक्त वार्तामा सहभागी हुने अपेक्षा गरिएको छ।

यसैबीच कतारको एक प्रतिनिधिमण्डलले तनाव कम गर्ने र होर्मुजको जलमार्गमा आउजाउ सहज बनाउने उद्देश्य बोकेको वार्ताका लागि शुक्रवार इरानको भ्रमण गरेको थियो।

ट्रम्पले शुक्रवार ट्रुथ सोशलमा "इस्लामिक गणतन्त्र इरानले हामीलाई 'वार्ता' जारी राख्न आग्रह गरेको" एक पोस्ट लेखेका थिए।

त्यसमा थप भनिएको छ: "हामी त्यसो गर्न सहमत भएका छौँ। तर संयुक्त राज्य अमेरिकाले उनीहरूलाई कुनै पनि अनिश्चित सर्तहरूमा युद्धविराम समाप्त भएको बताएको छ!"

पछिल्लो तनाव

यसै साताको सुरुमा खाडी क्षेत्रमा लडाइँ सुरु भएयता शुक्रवार कुनै पनि नयाँ आक्रमणको खबर आएको छैन।

यस साताका सुरुका हमला जुनमा दुई देशहरूले अन्तरिम सम्झौतामा हस्ताक्षर गरेपछिका अमेरिका र इरानबीचको सबैभन्दा खराब गोलाबारी भएका थिए।

होर्मुज

ओमानी जलक्षेत्र हुँदै अमेरिकाले सुझाएका मार्ग प्रयोग गरेका तीनवटा पानीजहाजहरूमा त्यस्ता प्रहार भएका थिए।

इरानले बारम्बार बताउने गरेको एक मात्र "सुरक्षित" मार्ग उसको जलक्षेत्र भएर जाने छुट्टै मार्ग हुने बताउँदै गएको छ।

गत महिना अमेरिका र इरानबीच १४ बुँदे समझदारी पत्रमा सहमति भएको भयो। त्यसको उद्देश्य युद्धविराम विस्तार गर्ने र "सबै मोर्चामा" द्वन्द्व अन्त्य गर्नु रहेको थियो।

इरानले होर्मुजबारे के भन्छ?

उक्त सम्झौताको एक भागमा इरान र ओमानले अन्य खाडी देशहरूसँग उक्त जलमार्गको "भावी प्रशासन र समुद्री सेवाहरू परिभाषित गर्न" वार्ता गर्नुपर्ने रहेको छ।

द्वन्द्व चर्किएका बेला इरानले होर्मुजमाथि आफ्नो सार्वभौमिकता दाबी गर्न खोजेको छ जसमा "पर्शियन गल्फ स्ट्रेट अथोरिटी" स्थापना गर्ने भन्दै त्यसलाई उसले "सुरक्षित मार्गको अनुमति" दिने गरी व्यवस्थापन गर्ने बताएको छ।

इरानको फार्स समाचार संस्थाले जनाए अनुसार अमेरिकासँगको नयाँ सम्झौताअन्तर्गत होर्मुज जलमार्ग अन्ततः ओमानसँगको समन्वयमा इरानद्वारा व्यवस्थापन गरिने छ।

त्यसमा उक्त जलमार्ग पार गर्न पानीजहाजहरूका लागि सम्भवतः "सेवा शुल्क" समावेश हुने भनिएको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।