तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
भेनेजुएलामा भूकम्प गएपछि नेपालमा चिन्ता, कस्तो छ पूर्वतयारी
- Author, अशोक दाहाल
- Role, बीबीसी न्यूज नेपाली
- Published
- पढ्ने समय: ५ मिनेट
भेनेजुएलामा एक मिनेटको अन्तरालमा दुई पटक ७ म्याग्निट्यूडभन्दा माथिका शक्तिशाली भूकम्प गएको झन्डै दुई घण्टापछि बिहीवार पश्चिम नेपालको जुम्लामा ४.१ म्याग्निट्यूडको भूकम्प गयो।
एघार वर्षअघि झन्डै ९,००० मानिसको ज्यान लिएको 'गोरखा भूकम्प' भोगेको नेपाललाई भेनेजुएला भूकम्पले केही झस्काइदिएको छ। धेरै मानिसले नेपालको पूर्वतयारीबारे चासो व्यक्त गरेका छन्।
अमेरिकी भौगर्भिक सर्वेक्षण निकाय यूएसजीएसका अनुसार भेनेजुएलाको राजधानी कराकसनजिकै केन्द्रबिन्दु भएको पहिलो भूकम्प गएको ३९ सेकेन्डपछि त्यसभन्दा शक्तिशाली दोस्रो भूकम्प मापन भएको थियो। पहिलो ७.२ र दोस्रो ७.५ म्याग्निट्यूड मापन गरिएका भूकम्पले ठूलो विनाश भएको अनुमान त्यहाँका अधिकारीहरूले गरेका छन्।
नेपालभन्दा १४,००० किलोमिटर टाढाको भेनेजुएलामा आएको भूकम्पसँग जुम्लाको तामीमा मापन भएको ४.१ म्याग्निट्यूडको भूकम्पको कुनै सम्बन्ध छैन।
नेपालमा अहिले पनि प्रत्येक दिन औसतमा १० वटा भूकम्प जाने गरेको भूकम्प मापन केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारी बताउँछन्। केन्द्रले दुई म्याग्निट्यूडभन्दा माथिका भूकम्पहरू मापन गर्ने गरेको छ। तर तीमध्ये निकै कम मात्र हामीले महसुस गर्न सकिने विज्ञहरू बताउँछन्।
नेपालमा भुइँचालोको जोखिम कस्तो
नेपाल करिब चार करोड वर्षअघि भारतीय र यूरेशियन प्लेटहरू ठोक्किएर बनेको हिमालय पर्वतमालामा विद्यमान छ। त्यसैले भूकम्पविद्हरू नेपालमा भूकम्पको उच्च जोखिम रहेको मान्छन्।
अहिले पनि यी प्लेटहरू सर्ने क्रम जारी रहेकाले यो क्षेत्रमा भूकम्पको जोखिम रहेको अध्ययनहरूले देखाएका छन्।
"ठूला भूकम्पका लागि नेपालको पूर्वदेखि पश्चिमसम्मकै भाग जोखिम क्षेत्रमा पर्छ। 'मेन हिमालय थ्रस्ट' (एमएचटी) भनिने हिमालय क्षेत्र यसको मुख्य कारण हो," वरिष्ठ भूकम्पविद् अधिकारी भन्छन्।
"अरू सानासाना फल्टहरू चाहिँ हाम्रोमा अध्ययन गर्न बाँकी नै छ।"
नेपालबारे गरिएका अध्ययनहरूले देशको पश्चिमी क्षेत्रमा भूकम्पको जोखिम धेरै रहेको देखाएका छन्।
विसं १९९० यता काठमाण्डू उपत्यकाआसपास र पूर्वी नेपालमा गएका भूकम्पका कारण त्यस क्षेत्रमा सञ्चित ऊर्जा निष्कासन भए पनि पश्चिम नेपालमा ऊर्जा सञ्चित भएर रहेको हुन सक्ने आकलन गरिएको छ।
विसं २०८० साल कार्तिकमा जाजरकोटमा गएको ६.४ म्याग्निट्यूडको भूकम्प र २०७९ साल कार्तिकमै डोटीमा गएको भूकम्पले पनि ठूलो मानवीय तथा भौतिक क्षति निम्त्याएका थिए।
"पश्चिम नेपालमा धेरै लामो समयदेखि भूकम्पीय शक्ति जम्मा भएर बसिरहेको छ भन्ने अध्ययनले देखाएको छ। तर पछिल्लो समय पश्चिममा गएका भूकम्पले ठूलो मात्रै भूकम्पको कुरा गर्नुभन्दा पनि हामी मध्यम खालका भूकम्पबाट पनि असुरक्षित छौँ भन्ने देखाउँछ," अधिकारी भन्छन्।
नेपालमा कस्तो पूर्वतयारी
भूकम्पसहितका विपद् पूर्वतयारीका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई योजना र समन्वय बनाउने जिम्मा दिइएको छ।
प्रधानमन्त्री र गृहमन्त्री समेत प्राधिकरणका प्रमुख एकाइहरूको अध्यक्ष रहने व्यवस्था छ।
विपद् व्यवस्थापन प्राधिकरणका भूतपूर्व कार्यकारी प्रमुख दिनेश भट्ट भूकम्पको जोखिम कम गर्नका लागि नीतिगत, संरचनागत जनचेतनाका क्षेत्रमा काम भइरहेको बताउँछन्।
"काम नै नभएको होइन जुन स्तरमा हुनुपर्ने थियो त्यति भएको छैन," उनले भने।
"भवन संहिता सहरी क्षेत्रमा निकै कडाइका साथ लागु भएको छ तर गाउँसम्मै पुर्याउनुपर्ने चुनौती अझै छ।"
नेपालमा विसं २०७२ सालको भूकम्प पनि बनेका झन्डै आठ लाख घरहरू सबै 'भूकम्प प्रतिरोधी' बनेको अधिकारीहरूको दाबी छ।
बाढीपहिरोजस्तो कुनै निश्चित मौसममा मात्रै नआउने भएका कारण भूकम्पबारे थप पूर्वतयारी जरुरी रहेको वरिष्ठ भूकम्पविद् अधिकारी बताउँछन्।
"भूकम्प जाने भविष्यवाणी गर्दैनौँ, तर जोखिम छ भन्न सक्छौँ। त्यसैले यसका लागि पूर्वतयारी सबैभन्दा ठूलो कुरा हो," उनले भने।
"तर विडम्बना नै भन्नुपर्छ, भूकम्पका लागि पूर्वतयारी एकदमै न्यून मात्रै भएको देखिन्छ।"
भूकम्पको जोखिम क्षेत्र पहिचान, जोखिमयुक्त संरचनाहरूको पहिचान र रोकथामका क्षेत्रमा अझै पनि पर्याप्त काम हुन नसकेको भूकम्पविद् अधिकारीको भनाइ छ।
सरकारी निकायहरूबीच समन्वयात्मक शैलीमा काम नभएको गुनासो सम्बद्ध अधिकारीहरूले गर्दै आएका छन्।
प्राधिकरणका विपद् प्रतिकार्य प्रमुख रामबहादुर केसी प्राधिकरणको नेतृत्वमा सुरक्षा निकायदेखि स्थानीय सरकारसम्मलाई विपद् पूर्वतयारी र प्रतिकार्यका लागि तयार गरिएको बताउँछन्। प्राधिकारणका अधिकारीहरू २०७२ सालको भूकम्पपछि भवन संहितासहित धेरै नीतिगत कुराहरूमा सुधार भएको र विपद्का कार्ययोजना पनि बनेको दाबी गर्छन्।
"भूकम्प प्रतिरोधी संरचना बनाउने र संरचनाका कारण मानिसहरूको मृत्यु नहोस् भन्ने कुरामा काम भएको छ। जनचेतनाको पाटोमा पनि काम गरिरहेका छौँ," केसी भन्छन्।
विपद् स्वयंसेवक तयार गरिँदै
विपद् व्यवस्थापन प्राधिकरणले सशस्त्र प्रहरीसँगको सहकार्यमा करिब १,५०० मानिसलाई पूर्वतयारी र उद्धारजस्ता प्रतिकार्यको तालिम दिइएको बताएको छ।
"हाम्रो पहाडी भूगोलमा प्रहरी र सुरक्षाकर्मी छिटो पुग्न नसक्ने भएका कारण जनताले आफैँ गर्न सक्ने कामका लागि स्वयंसेवक तयार गर्न सुरु गरेका छौँ," प्राधिकरणका पूर्व कार्यकारी प्रमुख भट्टले भने।
त्यसबाहेक रेडक्रस लगायतका संस्थाहरूले आफूहरूसँग करिब १२,००० स्वयंसेवक रहेको बताउँदै आएका छन्। प्राधिकरणका विपद् प्रतिकार्य प्रमुख केसीका अनुसार यस्तो जनशक्तिलाई भूकम्पबाहेकका प्रकोपमा पनि काम गर्न सक्ने गरी आधारभूत प्रशिक्षण दिइएको छ।
"हामीले १,५०० भन्दा धेरै मानिसहरूलाई पछिल्लो आर्थिक वर्षमा तालिम प्रदान गरेका छौँ। रेडक्रस लगायतका संस्थासँग पनि करिब १२,००० स्वयंसेवक छन्," केसी भन्छन्।
"भूकम्पका समयमा प्रतिकार्य गर्न सक्ने खोज उद्धार गर्न सक्ने आधारभूत विपद्को ज्ञान भएका मानिसहरू समुदायस्तरमै हामीले बनाएका छौँ।"
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।