'घरपरिवारप्रतिको जिम्मेवारी झल्काउँदै' दशैँ तिहार आसपास झन्डै एक चौथाइ रेमिटेन्स

तस्बिर स्रोत, EPA
नेपाल भित्रिने वार्षिक रेमिटेन्सको एक चौथाइ रकम दशैँ र तिहारमा भित्रिने गरेको अधिकारीहरूले बताएका छन्।
विदेशमा कार्यरत नेपाली श्रमिकहरूले चाड मान्न घरमा रकम पठाउने गरेकाले त्यस्तो हुने गरेको बताइन्छ।
यी ठूला चाडपर्वको समयमा आर्थिक गतिविधि चलायमान हुने गरेको र त्यसमा रेमिटेन्सको मुख्य भूमिका रहने गरेको नेपाल राष्ट्र ब्याङ्कका एक जना प्रवक्ताले बीबीसीलाई बताए।
अघिल्लो वर्ष नेपालमा रेमिटेन्सका रूपमा २३ खर्ब ६३ अर्ब रुपियाँ भित्रिएको थियो जुन देशको कुल गार्हस्थ्य उत्पादनको ३५.८ प्रतिशत भएको अधिकारीहरूले बताएका छन्।
तर कतिपय विज्ञहरू गरिबी न्यूनीकरणमा रेमिटेन्सले महत्त्वपूर्ण भूमिका खेले पनि पुँजी निर्माण र औद्योगिकीकरणमा खासै योगदान दिन नसकेको धारणा राख्छन्।
दशैँ/तिहारमा विदेशबाट कति रकम नेपाल आउँछ?

तस्बिर स्रोत, EPA-EFE/REX/Shutterstock
नेपाल सरकारका प्रतिवेदनहरूले ३० लाखभन्दा बढी नेपाली नागरिक आप्रवासी कामदारका रूपमा विभिन्न देशहरूमा काम गर्दै आएको देखाए पनि वास्तविक सङ्ख्या त्यो भन्दा निक्कै ठूलो रहेको जानकारहरू बताउँछन्।
सन् २००८/०९ देखि सन् २०२३/२४ सम्मको डेढ दशकको अवधिमा ५७ लाख नयाँ श्रम स्वीकृति जारी गरेका अधिकारीहरूले हालैका दशकहरूमा रेमिटेन्स देशको अर्थतन्त्रको मेरुदण्ड बनेको बताउने गरेको पाइन्छ।
अझ चाडपर्वको समयमा वैदेशिक रोजगारीमा रहेका नेपालीले पठाउने रेमिटेन्सको परिमाण उल्लेख्य रूपमा बढ्ने गरेको अधिकारीहरू बताउँछन्।
नेपाल राष्ट्र ब्याङ्कका प्रवक्ता गुरुप्रसाद पौडेल भन्छन्, "नेपालको रेमिटेन्सको प्रवाहलाई चाडपर्व लगायत मौसमजन्य परिस्थितिले प्रत्यक्ष प्रभाव पारेको देखिन्छ। हजारौँ घर परिवारमा आम्दानी गर्ने प्रमुख व्यक्तिहरू बाहिर बसेको हुनाले चाडपर्वको समयमा खर्च पठाउने चलन छ। त्यसलाई हामी स्वाभाविक वृद्धि मान्छौँ।"
उनले थपे, "सामान्यतया ३/४ वर्षसम्मको तथ्याङ्कलाई आधार मानेर हेर्ने हो भने औसतमा दशैँ र तिहारलक्षित रेमिटेन्स वर्षभरिको कुल रेमिटेन्सको एक चौथाइ जति आइरहेको देखिन्छ।"

तस्बिर स्रोत, RSS
मुख्य गरी चाडपर्व लक्षित विप्रेषणको प्रवाह भदौ, असोज र कार्तिक महिनामा देखिने गरेको अधिकारीहरू बताउँछन्। यो आर्थिक वर्षको पहिलो महिनामा विप्रेषण प्रवाह २१.२ प्रतिशतले वृद्धि भएको र २१५ अर्ब ५ करोड रुपैयाँ पुगेको नेपाल राष्ट्र ब्याङ्कले जनाएको छ।
प्रवक्ता पौडेलले नेपाली मुद्राको अवमूल्यन र अमेरिकी डलरको मूल्यवृद्धिले पनि रेमिटेन्स प्रवाहमा प्रत्यक्ष असर गरिरहेको बताउँछन्। पछिल्लो समय अमेरिकी डलर थप शक्तिशाली बनेको देखिएको छ।
उनले थपे, "गत वर्षको मात्रै आँकडा हेर्यो भने नेपाली रुपैयाँमा भित्रिएको रेमिटेन्समा ३७ प्रतिशतले वृद्धि भएको हामी भन्छौँ। तर डलरसँग त्यसलाई तुलना गर्ने हो भने त्यति छैन। वृद्धि चाहिँ छ। त्यसो हुनुको मुख्य कारण भनेको नेपाली रुपैयाँको अवमूल्यन हुनु हो।"
दशैँमा बजारमा कस्ता खालका चहलपहल
दशैँमा बजारमा चहलपहल र विभिन्न किसिमका आर्थिक क्रियाकलापहरू बढ्ने भन्दै जानकारहरू रेमिटेन्सले त्यसमा महत्त्वपूर्ण भूमिका खेल्ने गरेको बताउँछन्।
राष्ट्र ब्याङ्कका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापाले बीबीसीसँग भने, "नेपालमा आफ्ना कर्मचारीहरूलाई एक महिनाको तलब बोनस दिएजस्तै दशैँ तिहारको समयमा विदेशबाट रेमिटेन्स पठाउँदा पहिलेको तुलनामा बढी पैसा पठाउने चलन रहँदै आएको छ। दशैँमा चाडपर्व खर्च थपेर दिएको जस्तै विदेशमा काम गर्ने नेपालीहरूले आफ्नो घरपरिवारप्रति देखाइरहेको जिम्मेवारी रेमिटेन्समा पनि झल्कन्छ।"

तस्बिर स्रोत, RSS
प्रमुख पर्व भएकाले दशैँ तिहारलाई नेपालमा विशेष महत्त्व दिने गरिएको बताएका उनले वर्षभरिका लागि लुगाफाटो किन्नेदेखि नयाँ कामहरू दशैँका बेला गर्ने अभ्यास अझै पनि रहेको उनले सुनाए।
"नयाँ वस्तु किन्नु छ भने, जस्तै के गाडी, के मोटरसाइकल, के घर शुभ मुहूर्त हेर्ने चलन रहँदै आएको छ। दशैँ तिहारमा अरू महिनाको तुलनामा बढी खर्च हुने र आर्थिक गतिविधि, यातायातका सेवाहरू, कृषि उपजको विक्री, व्यापार व्यवसाय बढ्ने गरेको छ।"
राष्ट्र ब्याङ्कका प्रवक्ता पौडेल दशैँ तिहारको समयमा 'निक्कै बढी आर्थिक क्रियाकलापहरू' हुने गरेका बताउँछन्। तर यस वर्ष भोटेकोशी त्रिशूली नदीमा आएको बाढीले ठूलो जनधनको क्षति गराएका कारण उक्त विपद्को प्रभाव चाडपर्व र त्यसमा हुने खर्चमा पनि पर्न सक्ने अधिकारीहरू ठान्छन्।
"दशैँमा रेमिटेन्सले घर गृहस्थी र उपभोगलाई सघाउने गरेको पाइन्छ। सवारी साधनको र मानिसहरूको आवतजावतमा रेमिटेन्सको केही न केही हात रहन्छ। आर्थिक क्रियाकलापहरू बढ्नुमा रेमिटेन्सको ठूलो भरथेग हामीले पाउँछौँ।"
राष्ट्र ब्याङ्कका अनुसार पछिल्ला वर्षहरूमा नेपालले प्रत्येक महिना औसतमा करिब १.२ अर्ब अमेरिकी डलरदेखि १.६ अमेरिकी डलर रेमिटेन्स भित्र्याउँदै आएको छ। त्यसले घर परिवारको आम्दानी र उपभोगको माग सम्बोधन गर्न मद्दत गर्नु बाहेक विदेशी मुद्रा सञ्चिति र निक्षेप सञ्चिति बढाउन सघाइरहेको अधिकारीहरू बताउँछन्।
तर पूर्व कार्यकारी निर्देशक थापा जस्ता विज्ञहरू रेमिटेन्सबाट नेपालले अपेक्षाकृत प्रतिफल लिन नसकेका ठान्छन्।
"घर परिवारको आवश्यकता पूर्तिका लागि यो रेमिटेन्स प्रयोग हुँदै आएको छ। देश विकासको लागि, पुँजी निर्माणको लागि, प्रविधि विकासको लागि रेमिटेन्सको भूमिका त्यत्ति देखिएको छैन। तर गत २०-३० वर्षमा नेपालमा ठूलो मात्रामा गरिबी न्यूनीकरण भयो, त्यसमा रेमिटेन्सको महत्त्वपूर्ण भूमिका छ।"
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



















