तीन दिनको अवधिमा तीन जनाद्वारा आत्मदाहको प्रयास, यसले के सङ्केत गर्छ

    • Author, गनी अन्सारी
    • Role, बीबीसी न्यूज नेपाली
  • Published
  • पढ्ने समय: ४ मिनेट

नेपालमा गत बिहीवारदेखि शनिवारसम्म तीन दिनको अवधिमा तीन जनाले आत्मदाहको प्रयास गरे। तीमध्ये दुई जनाको उपचारको क्रममा मृत्यु भइसकेको छ भने एक जनाको उपचार भइरहेको अधिकारीहरूले बताएका छन्।

पहिलो घटना बिहीवार दिउँसो काठमाण्डूको त्रिपुरेश्वरमा भयो। उक्त घटनामा महानगर प्रहरीले मोटरसाइकलमा 'ह्वील लक' लगाएपछि भनाभनको अवस्थापछि मुगुका २५ वर्षीय गणेश नेपालीले आत्मदाहको प्रयास गरेको बताइएको छ।

काठमाण्डूकै वीर अस्पतालमा गणेश नेपालीलाई बचाउने "अथक प्रयास" गर्दागर्दै उनको मृत्यु भएको शुक्रवार अधिकारीहरूले घोषणा गरे।

उक्त मृत्युको घटनाले सडकदेखि सदनसम्म व्यापक आक्रोश निम्त्यायो। काठमाण्डूमा लगातार दोस्रो दिन शनिवार पनि विरोध प्रदर्शन भयो।

दोस्रो र तेस्रो घटना

प्रहरीका अनुसार दोस्रो घटना मधेश प्रदेशको सर्लाहीमा शुक्रवार दिउँसो भयो। जिल्लाको गोडैता नगरपालिकाका ३५ वर्षीय विवेक मण्डलले आफ्नो घरनजिकै आत्मदाहको प्रयास गरेको प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले बीबीसीलाई बताए।

"कारणबारे थप अनुसन्धान भइरहेको छ। तर उहाँका बुवाले बताउनुभएअनुसार मण्डललाई मानसिक स्वास्थ्य समस्या भन्ने प्रारम्भिक रूपमा बुझिएको छ," गौतमले थपे।

शुक्रवार नै हेलिकप्टरबाट काठमाण्डू ल्याइएका मण्डलको कीर्तिपुर बर्न अस्पतालमा उपचार भइरहेको अधिकारीहरूले बताएका छन्।

तेस्रो घटना काठमाण्डूको बुद्धनगरमा शनिवार बिहान भयो, जहाँ ४५ वर्षीय अश्विन राउतले आत्मदाहको प्रयास गरेको प्रहरीले जनाएको छ। पछि उपचारका क्रममा उनको समेत मृत्यु भएको वीर अस्पतालका अधिकारीहरूले बताए।

काठमाण्डू प्रहरी परिसरका प्रवक्ता पवन भट्टराईले बीबीसीलाई बताएअनुसार घरायसी कारणले राउतले शरीरमा आगो लगाएको प्रारम्भिक रूपमा बुझिएको छ।

राज्य 'संवदेनशील' हुनुपर्छ

यस प्रकृतिका घटनाहरूका.सम्बन्धमा राज्यको महत्त्वपूर्ण भूमिका रहने राजनीतिशास्त्री कृष्ण पोखरेल बताउँछन्।

राज्यकै व्यवहारले कुनै नागरिकले आफ्नो जीवन आफैँले समाप्त गर्ने निर्णय लिनुपर्ने अवस्था सिर्जना हुन नदिनेतर्फ सचेत हुनुपर्ने उनको तर्क छ।

"खास गरी सार्वजनिक सेवा लिन जाने ठाउँका कर्मचारीले संवेदनशील भएर सेवाग्राहीसँग व्यवहार गर्नुपर्छ। आफ्नो व्यवहारका कारण त्यस्तो अवस्था सिर्जना नहोस् भन्नेतर्फ राज्य सचेत हुनुपर्छ जस्तो मलाई लाग्छ," बीबीसी न्यूज नेपालीसँग उनले भने।

"त्यसैले राज्यको व्यवहारमा कहीँ न कहीँ प्रेम, आत्मीयता प्रदर्शन गर्नुपर्छ। जनतासँग प्रत्यक्ष ठोकिने निकायका कर्मचारीहरूलाई त्यस किसमिको प्रशिक्षण दिनुपर्छ।"

त्यसबाहेक त्यस्तो अवस्थामा पीडितलाई गर्ने सहयोग, उद्धारको दिशामा थप सजग हुनुपर्ने उनको सुझाव छ।

"काठमाण्डूको त्रिपुरेश्वर घटनामा द्रुत हिसाबले कदम चालिएन कि भन्ने छ। त्यो भएर त्यस्तो अवस्था आउँदा राज्यका निकायले 'प्रम्प्ट' कदम चाल्न जरुरी हुन्छ," राजनीतिशास्त्री पोखरेलले भने।

मनोचिकित्सक के भन्छन्?

आत्मदाह गर्ने प्रयासका घटनाहरूलाई विभिन्न कोणहरूबाट हेर्ने गरिन्छ। त्यसमध्ये एउटा घटनाका लागि जिम्मेवार मनोवैज्ञानिक अवस्था पनि पर्ने गर्छ।

एक मनोचिकित्सकका अनुसार मानिसहरू "तत्काल आवेशमा आउँदा" यस्ता आत्महत्याका घटनाहरू हुने गरेको देखिन्छ।

"आवेशमा आउने कारण धेरै हुन सक्छ। वंशाणुगत हुन सक्छ, मनोविज्ञान हुन सक्छ। तर सबैभन्दा ठूलो कारण म पारिवारिक, सामाजिक र आर्थिक देख्छु," मनोचिकित्सक डा सरोज ओझाले बीबीसी न्यूज नेपालीसँग भने।

"मनमा भएको तनाव मान्छेले बाहिर ल्याउन सकेको हुँदैन वा बाहिर आउँदा केही समाधान हुँदैन भनेर भित्र बसिरहन्छ, तर कुनै 'ट्रिगरिङ फ्याक्टर'ले गर्दा जब बाहिर आउँछ, तब यस किसिमको अवस्था आउन पुग्छ," ओझाले भने।

त्यस्ता तनाव व्यवस्थापनमा विभिन्न कदमहरू महत्त्वपूर्ण हुन्छन्।

"घरपरिवारका सदस्यसँग, साथीभाइसँग समस्या साझा गर्न सक्नुपर्छ। व्यक्तिगत तहमा गर्ने प्रयासका साथै मनोचिकित्सकहरूसँग परामर्श गर्नुपर्छ," ओझा सुझाउँछन्।

परिवारका सदस्यले पनि घरमा कसैलाई मानसिक तनाव अथवा अरू त्यस्ता समस्या देखेमा सान्त्वना दिने, आडभरोसा र ढाडस दिनुपर्ने उनको सुझाव छ।

स्वयं व्यक्ति, घरपरिवार र साथीभाइका साथै राज्यको भूमिका उत्तिकै अहम हुने डा ओझा बताउँछन्।

"स्वास्थ्य जनताको मौलिक हक भएको हुँदा त्यस्तो समस्या हुने नागरिकहरूलाई दिइने सहयोग विस्तार गर्नुपर्छ। मनोचिकित्सक र मनोपरामर्शदाताको विकासमा राज्यले ध्यान दिनुपर्छ," उनले अगाडि थपे।

धेरैजसो आत्महत्याका घटना डिप्रेशनका कारण हुने गरेको भए पनि नेपालमा मनोचिकित्सक र मनोपरामर्शदाताको उपलब्धता पर्याप्त नभएको सो क्षेत्रमै कार्यरत चिकित्सकहरूले बताउँदै आएका छन्।

त्यसका साथै जनतामा सचेतना बढाउने काम गर्नुपर्नेमा डा ओझाको जोड छ। "समस्या भएकाले कहाँ सम्पर्क गर्ने, उपचारमा कसरी पहुँच कायम गर्ने भन्नेबारे सकारात्मक चेतनाको विकास भए नियन्त्रणमा सघाउ पुग्छ," उनले भने।

पछिल्ला वर्षहरूमा मानिसहरू सामाजिक सञ्जालमा धेरै समय बिताउने गर्दा त्यसले पनि समस्या निम्त्याइरहेको मनोचिकित्सकहरू बताउँछन्।

सामाजिक सञ्जालको प्रयोगले धेरै मान्छेमा निद्रा खलबलिने, उदास हुने, मन डराउने र डिप्रेशनजस्ता समस्या निम्त्याउने गरेको आफूले पाएको डा. सुनाउँछन्।

"धेरै प्रयोगले घरपरिवार र साथीभाइसँग टाढिन पुग्छन्। त्यसले पनि मनोविज्ञानमा असर पर्ने, एक्लोपन महसुस हुने, मन डराउने जस्ता समस्या हुने भएकोले सही रूपमा सदुपयोग गर्न सक्ने डिप्रेशन, एन्जाइटी को समस्या कम गर्न मद्दत पुग्न सक्छ," उनले भने।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।