बेसारका फाइदासम्बन्धी दाबीहरू कति सत्य, कति भ्रम

बेसार

तस्बिर स्रोत, Getty Images

    • Author, सारा बेल
    • Role, बीबीसी ग्लोबल हेल्थ
  • Published
  • पढ्ने समय: ४ मिनेट

चाहे तपाईँ कुखुराको मासुको तरकारी भारतीय शैलीमा बनाउनूस् वा सुडानी क्यामल बिरयानी वा मलेशियाको ल्याक्सा वा बाङ्ग्लादेशी माछर झोल, सबैका लागि एउटा नभई नहुने सामग्री भनेको बेसार हो।

तर खाने परिकारलाई मिठो बनाउनुको साथै के विश्वकै प्राचीन र धेरै मन पराइएको भनिने बेसारका अरू फाइदा पनि छन्?

"मेरो परिवार पन्जाबी हो र बेसारबिनाको परिकार म सोच्नै सक्दिनँ," खानाकी अनुसन्धानकर्ता तथा दक्षिण एशिया प्रवासबारे पड्कास्ट सञ्चालक रागिनी कश्यपले 'फूड चेन'सँग कुरा गर्दै भनिन्।

एशिया, अफ्रिका र दक्षिण अमेरिकामा प्रयोग हुने गरी विश्वमा करिब ३० प्रकारका बेसार पाइन्छन्।

यसको विश्वव्यापी प्रभाव पनि छ किनभने दक्षिण एशियाली प्रवास समुदायलाई पछ्याउँदै यो पूर्वमा प्रशान्त महासागरका बाली र फिजीका टापुहरूसम्म तथा पश्चिममा क्यारिबीअन टापुहरूसम्म पुगेको छ।

'बलियो सन्देश'

कश्यपका अनुसार २,५०० वर्षअघि पुराना ग्रन्थहरूमा समेत बेसारबारे उल्लेख गरिएको पाइन्छ। दक्षिण एशियामा बेसार सर्वव्यापी छ। यसमा जीवाणुनाशक र सुजन कम गर्ने गुणहरू हुन्छन् भन्ने विश्वासले गहिरो रूपमा जरा गाडेको छ।

"म जब बिरामी हुन्छु, म पहिला यसैबारे सोच्छु र यसले सहज पनि महसुस गराउँछ। यो आंशिक रूपमा सहजता हो, आंशिक औषधि र आंशिक विगतको सम्झना," दुबईमा बस्ने कश्यपले भनिन्।

भारतमा विवाहअगाडि 'हल्दी उत्सव' पनि हुन्छ, जसमा सौन्दर्यका लागि भन्दै अनुहारभरि बेसारको लेप दलिन्छ।

बेसारको लेप लगाएर उत्सव मनाउँदै महिलाहरू

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, भारतको हिन्दू समुदायमा विवाहमा समृद्धिको सङ्केतका रूपमा बेसारको प्रयोग गरिन्छ

प्राचीन दाबीहरूबारे सुनेर अहिले पश्चिममा पनि उपभोक्ताहरूले बेसार खोज्छन्। त्यसैले यसको बिक्री एकदमै बढेको छ।

शरीरमा बेसारको आवश्यकता पूर्ति गर्न अतिरिक्त खानेकुरा ('सप्लिमन्ट')को उत्पादन पनि सुरु भएको छ।

यी सप्लिमन्टमा सामान्यतया 'कर्क्युमन' नामक यौगिक हुन्छ। यही यौगिकलाई नै बेसारका प्राय: स्वास्थ्यवर्धक गुणहरूको मुख्य कारण मानिन्छ।

बेसारले हड्डी तथा जोर्नीलाई राम्रो गर्नेदेखि प्रतिरक्षा प्रणालीलाई बलियो बनाउनसम्म सहयोग गर्ने भनेर बजारमा प्रचार गरिन्छ।

कश्यपका अनुसार सामाजिक सञ्जालमा मानिसहरूले यसको सकारात्मक अनुभवहरू राखेका कारण पनि आंशिक रूपमा यो चर्चित बनेको हो।

"एक अर्ब मानिसमध्ये राम्रै सङ्ख्याले बेसारले राम्रो गर्छ भन्ने विश्वास गर्छन् भने त्यसले विश्वभरि नै बलियो सन्देश दिन्छ," उनले भनिन्। "र यदि पैरवी अनि सप्लिमन्ट कम्पनीहरूको कुरा गर्नुहुन्छ भने पनि त्यसले बलियो सन्देश दिन्छ।"

'खराब रासायनिक संरचना'

तर केही मानिसहरू यसका फाइदाहरूबारे शङ्का व्यक्त गर्छन्।

अमेरिकाको मिनेसोटामा रहेकी एक रसायनशास्त्री डाक्टर क्याथ्रिन नेल्सनले बेसारमा पाइने कर्क्युमनबारेका १०० भन्दा बढी अनुसन्धानहरूको समीक्षा गरेकी छन्।

"बेसारले सबै काम गर्न सक्छ भन्ने दाबी गरेको हामीले पायौँ तर यथार्थमा सायद यसले धेरै केही पनि गर्दैन," उनले भनिन्।

डाक्टर नेल्सनका अनुसार बेसारसँग सम्बन्धित समस्या यसको रासायनिक संरचनामा हुन सक्छ, जसका कारण यसको अध्ययन गर्न सजिलो हुँदैन। यो अत्यन्त प्रतिक्रियाशील हुन्छ र परीक्षणहरूमा असर गर्ने यौगिकका रूपमा काम गर्न सक्छ। यसको अर्थ वास्तवमा काम नगरे पनि यसले काम गरिरहेको जस्तो देखिन सक्छ।

उनका अनुसार मुखबाट खाँदा शरीरले बेसारलाई राम्ररी सोस्दैन र यसको निकै सानो मात्रै अंश रक्तसञ्चारमा छिर्छ। धेरै मानिसहरूले सोस्न सुधार गर्ने प्रयासमा बेसारलाई कालो मरिचसँगै खाने गर्छन्।

"कुनै कुरालाई उपयोगी औषधिमा परिवर्तन गर्नका लागि लिनुपर्ने रासायनिक संरचनामध्ये यो वास्तवमै सबैभन्दा खराब संरचनामध्ये एक हो," डाक्टर नेल्सन भन्छन्।

'हामी निराश भयौँ'

बेसारको चक्की र बेसारको धुलो

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, सप्लिमन्टका रूपमा भएका बेसारका फाइदा धेरै नभएको चिकित्सकहरू बताउँछन्

बेसारबारे दशकौँसम्म धेरै अध्ययनहरू गरिएका छन् तर परिणामहरू पनि एकसँग अर्को बाझिने खालका छन्। क्यानडाको ओन्टेरिओस्थित लन्डन हेल्थ साइन्सेस सेन्टरमा मिर्गौला रोग विशेषज्ञ रहेका प्राध्यापक अमित गर्गका अनुसार यसका फाइदाहरूबारे बल पुग्ने धेरैजसो अध्ययनहरू मानिसमा गरिएको थिएन।

उनी र उनका सहकर्मीहरूले अहिलेसम्म दुईवटा ठूला अध्ययनहरू गरेका छन्। पहिलो अध्ययनको उद्देश्य धमनीको एक प्रकारको शल्यक्रिया गराइरहेका मानिसहरूमा कर्क्युमनले मिर्गौलामा हुने चोट र सुजन रोक्न सक्छ कि सक्दैन भन्ने पत्ता लगाउनु थियो। तर ६०० जना बिरामी संलग्न परीक्षणमा त्यस्तो फाइदा देखिएन।

त्यसपछि उनीहरूले कर्क्युमनको सानो तत्त्वले मिर्गौला रोग भएका मानिसहरूमा उनीहरूको स्वास्थ्यमा सुधार गर्न वा भएको रोग बढ्न नदिन मद्दत गर्छ कि गर्दैन भनेर परीक्षण गरे, तर उनीहरूले त्यो देखाउन सकेनन्।

"हामी निराश भयौँ," उनले भने, "किनभने हामी खुला दिमागले परीक्षण गरिरहेका थियौँ र यसले काम गर्दैन भन्ने देखाउनु हाम्रो आशय थिएन।"

त्यसो भए खास गरी भारतमा यसलाई मानिसहरूले हजारौँ वर्षदेखि औषधिको तत्त्वको रूपमा प्रयोग गर्दै आएका छन् भन्ने इतिहास व्याख्या गर्न हामी सक्छौँ?

डाक्टर गर्गका अनुसार प्राकृतिक रूपमा पाइने कुनै एउटा पदार्थबाट केही कुरा अलग गरेर औषधि बनाउने प्रयास गर्नु र सम्पूर्ण पदार्थलाई खाना पकाउँदा प्रयोग गर्नु वा छालामा लगाउनुबीच निश्चित रूपमा ठूलो फरक हुन्छ।

त्यसो भए, विज्ञहरू महँगा सप्लिमन्टहरू खानु फाइदाजनक हुन्छ भन्ने ठान्छन्?

प्राध्यापक गर्गका अनुसार मूल्यका तुलनामा यसले काम गर्छ भन्ने पर्याप्त प्रमाणहरू छैनन्।

"हामी यसबारे खुला सोच राख्न सक्छौँ। तर कहाँ भन्ने हुनुपर्छ, यदि हामी केही असर छन् भन्छौँ भने उच्च गुणस्तरको प्रमाणमा आधारित हुनुपर्छ," उनले भने।

तर जसले आफ्नो खानाको हिस्साका रूपमा यसलाई मन पराइरहेका छन्, त्यसमा कुनै समस्या नभएको रूपमा उनी हेर्छन्।

"यदि मानिसहरू बेसारबाट बनेको खानेकुरा मन पराउँछन् भने त्यसलाई जारी राख्न म प्रोत्साहन गर्छु।"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।