तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
दैनिक ५० किलो चामल र बिदाका दिन १० किलो मासु खाने भारतीय परिवार
- Author, तुलसीप्रसाद रेड्डी
- Role, बीबीसीका लागि
- Published
- पढ्ने समय: ६ मिनेट
भारतको आन्ध्र प्रदेशमा रहेको अनन्तपुर जिल्लामा छ पुस्ताको ठूलो संयुक्त परिवार छ। यो घरमा एक दिनको खानाका लागि ५० किलो चामलको बोरा चाहिन्छ। आइतवार मासु खाने दिन एउटा सिङ्गै भेडा चाहिन्छ। पकौडा पकाउन परे १५ किलो पिठो चाहिन्छ।
यति धेरै खानेकुरा चाहिन्छ किनभने यो परिवारमा ८३ जना सदस्य छन्।
यो संयुक्त परिवारका सदस्य दिनभरि उनीहरूले केके गर्छन् भनेर हेर्न बीबीसीको टोली कुर्लापल्ली पुगेको थियो। यति धेरै सदस्यहरू कसरी सँगै बस्छन् र तिनीहरू सँगै के गर्छन् भनेर जान्नुहोस्।
कुर्लापल्ली कल्याणदुर्गबाट सात किलोमिटर टाढा छ।
यो गाउँमा ४०० घर छन् र जनसङ्ख्या २,००० छ। गाउँमा प्रवेश गर्नेबित्तिकै दायाँ घुम्नुहोस् र तपाईँले सडकमा दुई ठूला घरहरू एकअर्काका अगाडि देख्नुहुने छ। यी दुवै घरमा एउटै संयुक्त परिवार बस्छन् ।
सडकको एक छेउको दुईतले घरमा प्रवेश गर्नेबित्तिकै सबैभन्दा पहिले भान्छाघर देख्न सकिन्छ। पछाडिको दुईतले घरमा गोठ छ। त्यो घरको ठिक अगाडि अर्को तीनतले घर छ। त्यही सडकमा अर्को घर छ र ठूलो खाली जग्गा छ। त्यहाँ ट्र्याक्टर र बस पार्किङ गरिएका छन् । अब यी तीन घर पर्याप्त नभएकाले परिवारले चौथो घर पनि बनाइरहेको छ।
यति ठूलो परिवारको मुख्य जीविका कृषिमा निर्भर छ। घरका सबै सदस्यले सँगै बाली उब्जाउँछन् र दूध दिने गाई र भेडा पाल्छन्।
निर्णय अग्रजले गर्छन्
संयुक्त परिवारमा ८३ जना सदस्य छन् र यसको नेतृत्व हनुमन्था रायडू र मुत्यालप्पाले गरिरहेका छन्।
दूध दुहुनेदेखि खेतीपाती र व्यापारसम्म सबै कुरा उनीहरूले नै तय गर्छन्।
परिवारका मुखिया हनुमन्त रायडूले यति ठूलो परिवारका प्रत्येक सदस्यलाई जीविकोपार्जनको साधन उपलब्ध गराउनु आफ्नो जिम्मेवारी भएको बताए। उनको घरमा साला मुत्यालप्पा पनि उनका विरुद्ध बोल्दैनन् र उनको सम्मान गर्छन्।
"बुवा र हजुरबुवाको मृत्युपछि परिवारको बोझ ममाथि परेको छ। त्यस बेलादेखि म एक्लै यो परिवारको हेरचाह गर्दै आएको छु। हामी बच्चाहरूलाई पढाउँछौँ र बाँकी खेतीपाती गर्छौँ," मुत्यालप्पाले भने।
"हामी एकअर्कालाई सहयोग गरेर जीविकोपार्जन गर्छौँ। अहिलेसम्म हामीबीच कुनै समस्या वा मतभेद भएको छैन। हामी सबैले मिलेर कडा मेहनत गरेका छौँ। मेरा भिनाजुले पनि मेरा कुरा सुन्नुहुन्छ। हामी दुवैका यति धेरै छोरा भए पनि कसैले केही भनेनन्।"
'सबैको बाटो एउटै छ'
मुत्यालप्पाले आफ्ना हजुरबुवा-हजुरआमाको पालादेखि नै आफूहरू सँगै रहेको र भविष्यमा पनि सँगै बस्ने प्रयास गरिरहेको बताए।
"हजुरबुवाको पालादेखि नै हामी सँगै बस्दै आएका छौँ। भविष्यमा पनि हामी यसरी नै सँगै बस्ने प्रयास गरिरहेका छौँ। हामी सबै बिहान सँगै बस्छौँ र सबैलाई आआफ्नो काम दिन्छौँ। हामी बाहिरका मानिसलाई पनि काममा बोलाउँछौँ। हामी हाम्रा भान्जाभान्जीलाई पनि आफ्नै घरमा हुर्काउँछौँ र उनीहरूका बच्चाहरूलाई पनि हाम्रो घरमा राख्छौँ। यो हाम्रो तरिका हो," उनले भने।
"सुरुमा हामीले धेरै गरिबीको सामना गर्नुपर्यो। हामीसँग कम्बल पनि थिएन, हामीसँग एक पटक मात्र खाना थियो। त्यो युगबाट उठेर आज हामी यो बिन्दुमा आइपुगेका छौँ। हामी सबै सँगै भएकै कारण यो सम्भव भयो। यदि हामी फरक थियौँ भने हामी यो बिन्दुमा कहिल्यै पुग्दैनथ्यौँ।"
उनले आफूहरू अहिले बसिरहेको घर बनाउन २० करोड भारु लागेको र त्यो एक्लै सम्भव नहुने बताए।
"मेरो बुवाको स्वामित्वमा ६० एकड जमिन थियो र उहाँ बितेपछि हामी सबैले मिलेर ७५ एकड जमिन किन्यौँ। त्यसैले हामी सबैलाई भन्छौँ, 'अलग नहुनुहोस्, हामी यसरी सँगै बस्यौँ भने सबै ठिक हुन्छ," उनले भने।
परिवारको व्यवस्थापनको जिम्मेवारी पाएका महेश भन्छन्, "बिहान चिया पिउँदै कसले कुन काम गर्ने भन्ने निर्णय परिवारका दुई जनाले गर्ने गर्छन्। मेरो बुवाको नाम हनुमन्त रायडू हो। सबै ठूलाबडाहरू बिहान चिया पिउँछन् र आधा घण्टा कुरा गर्छन्, त्यसपछि हामी निर्णय गर्छौँ कि कसलाई कुन काम दिने। मेरो काम भनेको गाडीको हेरचाह गर्नु र घरमा आवश्यक चिजहरू ल्याउनु हो। मेरो अर्को भाइले गोलभेँडालगायतका हाम्रा उत्पादनलाई सानो ट्रकमा राखेर बजार लैजान्छ। यसरी नै हामी खेतीपाती गर्ने, भेडा चराउने, गाईको स्याहार गर्नेजस्ता काम गर्छौँ। अहिलेसम्म हामी कुनै समस्याबिना नै जीवन बिताइरहेका छौँ।"
चिम्मला नागप्पा यो परिवारको पहिलो पुस्ताका मुखिया थिए। उनका दुई श्रीमती थिए र उनले आफ्नो पहिलो पत्नीकी छोरीको विवाह येलप्पासँग गरे।
येल्लप्पा र नागाप्पाको मृत्युपछि उनीहरूका उत्तराधिकारीहरू हनुमन्त रायडू र मुत्यालप्पा अहिले घरमा वृद्ध भएका छन् र निर्णय लिन्छन्।
मुत्यालप्पासँग हुलाकीको कामबाहेक अरू कुनै काम छैन।
बिहानको दैनिक काम सकिएपछि परिवारका केही सदस्य खेतबारीमा काम गर्न जान्छन् त केहीले गाईबस्तुको हेरचाह गर्छन्। कोही दूध दुहुन्छन् भने कोही भेडा चराउँछन्। घरका महिलालाई खाना पकाउने जिम्मा दिइएको छ। बालबालिकाहरू भने बिहान विद्यालय जान्छन्।
हनुमन्त रायडूले आफूहरूबीच विवाद नहोस् भनेर घरमा धेरै सदस्यको आपसमा मिलेर विवाह गर्ने गरेको बताए।
उनले भने, "'मैले मेरा छोरा र भदाहरूको एकै दिन नौ वटा विवाह गराएँ।"
परम्परागत तरिकाले खाना बनाइन्छ
त्रियासी जनाकै खाना एउटै भान्छामा पाक्छ, त्यो पनि दाउरा बाल्ने चुलोमा। छ पुस्तादेखि यो घरमा खाना पकाउने परम्परागत तरिकाहरू अपनाइएको छ।
महेशका अनुसार उनको परिवारमा एउटा मात्र भान्छा छ। एउटै ठाउँमा तीन वटा घर भए पनि जहाँ ठाउँ मिल्छ, त्यहीँ सुत्छन्। तर खाना भने एउटै भाँडामा ८३ जनालाई पुग्ने गरी पकाउने गरिन्छ।
महेश भन्छन्, "आज पनि हामी दाउरा बाल्ने चुलो प्रयोग गर्छौँ। हामीले आजसम्म ग्यासको प्रयोग गरेका छैनौँ।"
बिहानको खाजामा कोदोको ढिँडो बनाइन्छ। खेतमा काम गर्न जाने मानिसहरू आफ्नो टिफिनमा खाजा लैजान्छन्। घरकी अनुराधा भन्छिन्, "हामी सबैका लागि एउटै खाना पकाउँछौँ। हामी एकै प्रकारको तरकारी, भात र दाल बनाउँछौँ। हामीले हप्तामा एक पटक सबैका लागि पकौडा र मिठाई बनाउनुपर्छ।"
राजेश्वरी यति ठूलो संयुक्त परिवारमा खाना पकाउने सबै काम सम्हाल्छिन्।
"हामी दिनको एक प्याकेट तेल प्रयोग गर्छौँ। घरमा ८३ जना बाहेक पनि २० देखि ३० जनालाई खाना पकाउनुपर्छ। तीन किलो दाल पकाउनुपर्यो, अचार बनाउनुपर्यो," उनले भनिन्।
'आइतवार एउटा भेडा र १० किलो कुखुरा'
चाडपर्वका बेला दुई वटा भेडा र २० किलो कुखुरा ल्याउनुपर्ने राजेश्वरीले बताइन्।
यो संयुक्त परिवारमा सबैले घरमा कन्नड भाषा बोल्छन्।
यति ठूलो परिवारमा कसैले पनि सरकारी वा निजी जागिर गर्दैनन्।
उनीहरूसँग संयुक्त सम्पत्तिको रूपमा चारवटा बसहरू पनि छन्। महेशका अनुसार प्रमाणपत्र तह र स्नातकोत्तर अध्ययन पूरा गरे पनि यति ठूलो परिवारको हेरचाह गर्न परिवारका ठूलाबडालाई गाह्रो छ। त्यसैले उनीहरूले पढाइ छाडेर घरायसी काम सम्हालेका छन्।
"हाम्रो परिवारमा कसैले पनि जागिर गरेका छैनन्। हाम्रा ठूलाबडाहरू पनि बूढो हुँदै गएका छन् र उनीहरूको हेरचाह गर्न गाह्रो भइरहेको छ, त्यसैले हामी हाम्रो पढाइ छोडेर यहीँ उनीहरूको हेरचाह गरिरहेका छौँ," महेशले भने।
"हाम्रो परिवारका सबै बालबालिका सरकारी कलेज र विद्यालयमा पढिरहेका छन्। हाम्रो घरमा ३२ जना बालबालिका छन्।"
उनीहरू आवश्यकताअनुसार अन्न र तरकारी उत्पादन गर्छन्।
महेशले भने, "हामी खास गरी खुर्सानी, गोलभेँडा, खर्बुजा, मेवा र बदाम खेती गर्छौँ। अनि विभिन्न सहरमा आफ्नै गाडीमा लोड गरेर पठाउँछौँ, बिचौलियाको हातमा दिँदैनौँ। त्यही कमाइमा हामी बाँच्छौँ।"
यो संयुक्त परिवारमा छ जना सासू र १४ जना बुहारी छन्। महेशका अनुसार उनले आफ्नो घरका महिलाबीच कहिल्यै झगडा भएको देखेका छैनन्।
राजेश्वरीले भनिन्, "केही समय हामी आपसमा झगडा गरे पनि साँझमा सबै सँगै रमाइलो गर्छौँ। म यो घरकी जेठी नातिनी हुँ र मेरा हजुरबुवाले मलाई यहाँ सानैदेखि पढाउनुभएको छ। मेरा काका र काकी पनि संयुक्त परिवारमा बस्न पाउँदा निकै खुसी हुनुहुन्छ। अचेल प्राय: सम्पत्तिका लागि अलग हुन्छन्। तर हामी गर्व गर्छौँ कि ८३ जना अझै पनि सँगै छौँ।"
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।