तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
अरूले गरेको अपराधमा १७ वर्ष जेल परेका व्यक्तिको सङ्घर्ष
- Author, जोर्ज स्यान्डमन र पोल ग्रिबन
- Published
- पढ्ने समय: ५ मिनेट
यूकेमा अर्को व्यक्तिले गरेको अपराधमा १७ वर्षसम्म थुनिएका एन्ड्रू माल्किन्सनले बलात्कारमा संलग्न वास्तविक व्यक्ति दोषी ठहर हुँदा आफूलाई राहत महसुस भएसँगै रिस पनि उठेको बीबीसीसँग बताएका छन्।
ग्रेटर म्यान्चेस्टरमा सन् २००३ भएको एक बीभत्स आक्रमणमा संलग्न भएको आरोप माल्किन्सनले २० वर्षसम्म खेप्नुपर्यो। त्यही आरोपमा उनी १७ वर्षसम्म जेल परे। यो घटनालाई ब्रिटिश न्यायसम्पादनको इतिहासकै एक सबैभन्दा खराब विफलताका रूपमा हेरिएको छ।
माल्किन्सनमाथि आरोप लागेको बलात्कारको घटनामा गत महिना पोल क्विन दोषी ठहर भए। त्यसपछिको पहिलो अन्तर्वार्तामा उनले भने - "ममाथि अन्याय भयो। ठूलो अन्याय भयो।"
उनले बीबीसीको 'स्याडो वर्ल्ड : स्टोलन यिअर्स' पड्कास्टमा "अन्ततः वास्तविक अभियुक्त पत्ता लगाएको"मा अधिकारीहरूलाई धन्यवाद दिए। उनले घटनाकी पीडित जति नै आफूले पनि राहत महसुस गरेको बताएका छन्।
"उनले अहिले कस्तो महसुस गरिरहेकी होलिन्?'" उनी भन्छन्।
घटनाकी पीडितसँगै आफूले पनि लामो समय पीडा पाएको उनको भनाइ छ।
बलात्कारसहित भौतिक आक्रमणमा ५२ वर्षका क्विन दोषी ठहर हुँदा माल्किन्सन इटलीको रोम सभ्यताका प्राचीन भग्नावशेषहरूमा घुमिरहेका थिए।
"मलाई रिस पनि उठ्यो किनभने लामो समयसम्म उक्त घटनाको दोष मैले भोग्नुपर्यो," उनले भने।
डीएनए परीक्षणमा उनको अपराधमा संलग्नता पुष्टि नभए पनि उनले " अरू कसैको अपराधमा सजाय भोग्नुपर्यो।"
हाल ६० वर्षका माल्किन्सनले सधैँ आफू निर्दोष रहेको बताइरहे। तर शङ्कास्पद व्यक्तिहरू जम्मा गरेर प्रहरीले पहिचान गर्न लगाउँदा पीडितले उनी नै घटनाका अभियुक्त भएको आशङ्का गरिन्।
आफू निर्दोष रहेको प्रमाणित गर्न कैयौँ प्रयास गरे पनि उनी सफल भएनन्। सन् २०२३ मा मात्रै पीडितको लुगामा भेटिएको डीएनए परीक्षणबाट अनुसन्धान गर्दा अधिकारीहरू वास्तविक आक्रमणकारीसम्म पुग्न सफल भए।
अझै नटुङ्गिएको सङ्घर्ष
न्यायका लागि माल्किन्सनको सङ्घर्ष अझै टुङ्गिएको छैन। उनी कसरी गलत तरिकाले दोषी ठहर भए भन्नेबारे न्यायाधीशको नेतृत्वमा भइरहेको जाँचबुझको निष्कर्ष उनी पर्खिरहेका छन्। त्यसबाट आउने ठहर क्षतिपूर्तिका लागि उनको कानुनी लडाइँमा महत्त्वपूर्ण हुने छ।
न्यायसम्पादनमा भएको गल्तीबारे पुनरवलोकन गर्ने आयोगले उनलाई दुई पटकसम्म सहयोगका गर्न अस्वीकार गरेको विषय गत वर्ष सार्वजनिक भएपछि त्यसले व्यापक आलोचना सामना गर्यो।
उक्त आयोगले डीएनए परीक्षणमा पनि अग्रसरता नलिएको दाबी स्वतन्त्र प्रतिवेदनमा गरिएको छ।
प्रहरीका गलत कार्यहरूको खबरदारी गर्ने स्वतन्त्र कार्यालयले उनको मुद्दा हेरेका छ प्रहरी अधिकारीहरूमाथि पनि अनुसन्धान गरिरहेको छ।
उक्त निकायले माल्किन्सनलाई शङ्कास्पद व्यक्तिको रूपमा पहिचान गर्दा प्रहरी अधिकारीहरूले उचित प्रक्रिया पूरा गरे वा नगरेकोबारे अध्ययन गरिरहेको जनाएको छ। यो घटनामा प्रमाण उपलब्ध गराउने प्रत्यक्षदर्शीहरूलाई प्रोत्साहन रकमको प्रस्ताव गरिए वा नगरिएको र माल्किन्सनलाई प्रतिरक्षाका लागि सहयोग पुग्ने सूचना सार्वजनिक नगरिएको दाबीबारे पनि अनुसन्धान हुँदै छ। यो घटनाका प्रमाण नष्ट गर्नु उचित भए वा नभएको विषयबारे पनि यो निकायले अनुसन्धान गर्ने छ।
बेवास्ता गरिएका प्रमाण
पीडित महिलाले सन् २००४ मै माल्किन्सनको सुनुवाइका क्रममा ती व्यक्ति आक्रमणकारी भए वा नभएको आफूलाई निश्चय नभएको बताएकी थिइन्। माल्किन्सनलाई जेलमा देखेपछि ती महिलाले प्रहरीसँग बताएको कुरा गत महिना अदालतमा भएको एक सुनुवाइका क्रममा सार्वजनिक भएको थियो।
उनका अनुसार एक जना अधिकारीले मुद्दा अघि बढाउन भनेपछि आफू निराश भएका कारण अघि बढाउन सहमत भएकी थिइन्। ती पीडित महिलाले आफूलाई त्यस बेला डर लागेको र अधिकारीहरूले भनेअनुसार मुद्दा अघि बढाएको बताइन्।
सन् २०२० मा थुनामुक्त भएका माल्किन्सनले समाजमा पुनर्स्थापित भएर आफ्नो जीवन चलाउन गरेको प्रयासबारे बीबीसी ४को पडकास्ट शृङ्खलामा विस्तृतमा उल्लेख छ।
"मेरो जीवनमा किन यस्तो उलटपुलट भयो भन्ने बुझ्न म एकदमै उत्सुक छु," माल्किन्सनले भनेका छन्।
सन् २००३को जुलाई १९ मा कलिलै उमेरमा आमा बनेकी युवती घर जाँदै गर्दा यौन दुराचारी क्विनले आक्रमण गरेकोमा दोषी ठहर भएका छन्। उनीमाथि कुटपिट हुनुका साथै टोकेको चोट पनि लागेको थियो र गालामाथिको हड्डी पनि भाँचिएको थियो। क्विनले उनलाई बेहोस बनाएर बलात्कार गरेको ठहर भएको थियो।
म्यान्चेस्टर क्राउन अदालतका न्यायाधीशहरूले पीडितले लगाएको गन्जीमा भेटिएको क्विनको र्यालबाट डीएनए जाँच गर्दा भेटिएको प्रमाणका आधारमा फैसला गरेका थिए।
त्यसबेला पीडितको परीक्षण गर्दा प्रयोग गरिएको स्वास्थ्य उपकरणबाट पनि सन् २०२३ मा क्विनको डीएनए पत्ता लगाइएको थियो। तर त्यसअघि त्यसको कहिल्यै परीक्षण नै गरिएको थिएन।
उनले प्रहरीले यस्ता नमुना कति लामो समयसम्म राख्ने गर्छ भनेर अनलाइन माध्यममा खोजी गरेका थिए।
क्विनलाई ५ जुनमा सजाय सुनाइँदै छ।
माल्किन्सनको अबको योजना
ग्रेट म्यान्चेस्टर प्रहरीले यसअघि नसुल्झिएका अन्य घटनाहरूको पनि अनुसन्धान भइरहेको र त्यसमा पनि क्विन संलग्न भएको आशङ्का गरिएको बताएको छ।
"मलाई उनीबाट पीडित बनेका अन्य व्यक्तिहरू पनि छन् भन्ने लाग्छ," प्रहरी अधिकारी जिम पार्टिङटनले भने। "सन् २००३ देखि २०१० भित्रका तीन वटा अपराधलाई अहिले विस्तृतमा अनुसन्धान गर्न लागिएको छ।"
ग्रेट म्यान्चेस्टर प्रहरीले क्विनसँग सम्पर्कमा रहेका व्यक्तिहरूलाई उनीबारेका सूचना दिन भनेको छ।
माल्किन्सनले पनि २३ वर्षसम्म आफूलाई निर्दोष पुष्टि गर्न भएको सङ्घर्ष र मानसिक पीडाबारे बोलेका छन्।
"म यो मुद्दाबाट थाकिसकेँ," उनले भने। "सन् २००३ देखि निरन्तर यसमै लागिरहँदा मलाई निकै पीडा भयो।"
उनले आफूले केही समय कानुनी लडाइँबाट विश्राम लिएर "आरामले श्वास फेरेको" पनि बताएका छन्। हालै उनी ३५ वर्षदेखि भेट नभएका आफ्ना दिदीबहिनीहरूलाई भेट्न अस्ट्रेलिया पुगेका थिए।
उनले ताराहरू हेर्नका लागि दूरबिन पनि किनेका छन्।
आफूलाई तारा हेर्न मन लाग्ने भए पनि जेलमा बस्दा खासै तारा हेर्न नपाएको उनले सुनाए।
"अब मैले बाँकी जीवन राम्रोसँग बिताउनुपर्छ,"उनले भने।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।