रुसको आफ्नै तथ्याङ्क भन्छ : 'युक्रेन युद्धमा झन्डै ५ लाख रुसी सैनिकको मृत्यु'

    • Author, ओल्गा इभ्शिना र यारोस्लाफा किरुखिना
    • Role, बीबीसी रसियन
  • Published
  • पढ्ने समय: ४ मिनेट

बीबीसीले विश्लेषण गरेको रुसी सरकारी तथ्याङ्कअनुसार सन् २०२२ मा युक्रेनमा युद्ध सुरु भएयता कम्तीमा ४,९०,३३४ रुसी सैनिकको मृत्यु भएको छ।

रुसी सङ्घीय तथ्याङ्क सेवा 'रोस्स्टाट'को चुहिएको विवरणले युक्रेनमा गरिएको पूर्ण स्तरको आक्रमणका कारण रुसमा विद्यमान मृत्युदरको ढाँचामा व्यापक परिवर्तन भएको देखाउँछ र युद्धमा मानवजीवनले ठूलो मूल्य चुकाउनुपरेको पनि उजागर गरेको छ। राष्ट्रपति भ्लादिमिर पुटिनले केही दिनमै सकिने अनुमान गरेको युद्ध लगभग पाँच वर्ष पुग्न लागेको छ।

बेलारुसी समूह 'साइबर पार्टिजन्स बीवाई' र युक्रेनको 'साइलन्ट क्रो'ले ह्याक गरेपछि बीबीसी रुसी सेवाले सन् २०२१ देखि सेप्टेम्बर २०२६ सम्मका १ करोड १० लाख जनाभन्दा धेरैको मृत्युसम्बन्धी अभिलेखमा पहुँच पाएको थियो।

रुसी तथ्याङ्क निकायले साइबर आक्रमण भएको कुरा स्वीकार गरे पनि कुनै पनि सुरक्षित सूचना चुहिएको दाबी खण्डन गरेको छ।

स्वतन्त्र रुसी सञ्चारमाध्यम 'मिडियाजोना'सँग मिलेर बीबीसी रुसी सेवाले रोस्स्टाटको तथ्याङ्कलाई उसले आफैँले पुष्टि गरेका मृत सैनिकको सूचीसँग तुलना गरेको छ। तुलना गरिएका तथ्याङ्क आक्रमण सुरु भएयता खुला स्रोतहरूबाट सङ्कलन गरिएका हुन्। यस क्रममा ९० प्रतिशत अभिलेखहरू मेल खाएको पाइएको छ।

१२ हजार जना बस्ने गाउँ नियन्त्रण गर्ने प्रयासमा झन्डै २० हजार सैनिकको मृत्यु

सन् २०२५ मा ज्यान गुमाएका रुसका १८ देखि २४ वर्ष उमेर समूहका मानिसहरूमध्ये ६५ प्रतिशतको मृत्यु युद्धमा भएको तथ्याङ्कले देखाउँछ भने २५ देखि ३४ वर्ष उमेर समूहका हकमा ५९ प्रतिशत छ।

पैँतालीसदेखि ५४ वर्ष उमेर समूहमा मात्र द्वन्द्वको तुलनामा हृदयसम्बन्धी रोगका कारण बढी रुसीहरूको ज्यान गएको देखिन्छ।

तथ्याङ्कले युक्रेनका विशेष क्षेत्रहरूमा भएको क्षतिको भयावह अवस्था पनि उजागर गरेको छ।

युद्धअघि कुल जनसङ्ख्या १२ हजार रहेको युक्रेनका १० वटा गाउँमा नियन्त्रण जमाउन भएको लडाइँमा करिब २० हजार रुसी सैनिकहरूको ज्यान गएको थियो।

दोनेत्स्क इलाकाको बख्मुत नगरको दक्षिणमा पर्ने आन्द्रीइभ्का नाम गरेको एउटा सानो गाउँका निम्ति भएको लडाइँमा १,१२२ रुसी सैनिकले ज्यान गुमाएका छन्। उक्त गाउँमा युद्धअघि ७४ जनाको बसोबास थियो।

सन् २०२२ को फेब्रुअरीमा युद्ध सुरु भएयता रुसले आफूले खेप्नुपरेको क्षतिको आधिकारिक तथ्याङ्क सार्वजनिक गरेको छैन।

दुई वर्षअघि रोस्स्टाटले बाह्य कारणहरूबाट हुने मृत्युसम्बन्धी तथ्याङ्क प्रकाशन गर्न बन्द गरेको छ जुन तथ्याङ्क सैन्य क्षतिको स्तर अनुमान गर्न प्रयोग गरिन्थ्यो।

उदाहरणका लागि, रुसी अधीनस्थ पूर्वी युक्रेनका दोनेत्स्क र लुहान्स्क क्षेत्रहरूमा रुसी सेनाको निम्ति लडेका सैनिकहरूको मृत्युसम्बन्धी हामीले स्थापित गरेका ७० प्रतिशत मृत्युका विवरणहरू मात्र रोस्स्टाटका अभिलेखमा समाविष्ट थिए।

मृत्युको सम्भावना २० देखि २५ गुणा बढी भएका गाउँहरू

मृत्युको तथ्याङ्क मिडियाजोनासँग मिलेर आधिकारिक प्रतिवेदन, सामाजिक सञ्जाल, नयाँ स्मारकहरू र चिहानहरूको आधारमा प्रमाणीकरण गरिएको हो।

बीबीसी रसियनले चुहिएका फाइलहरूको विश्लेषण गर्दा युद्धको पहिलो वर्ष मारिएकाहरूको औसत उमेर ३४ वर्ष रहेको देखियो। सन् २०२५ सम्म आइपुग्दा कैदीहरू र करारमा भर्ना गरिएका सैनिकहरू सेनामा सामेल भएसँगै यो औसत उमेर बढेर ४० वर्ष पुगेको छ।

पूर्वी साइबेरियाका केही अतिविपन्न क्षेत्रहरूमा युद्धका कारण भएको समग्र मानवीय क्षतिको अनुपातभन्दा निकै बढी छ।

मस्को र सेन्ट पिट्सबर्गजस्ता ठूला सहरका बासिन्दाहरूको तुलनामा तिफा, बुरियातिया र जबेयकाल्स्की क्राईका पुरुषहरू युद्धमा मारिने सम्भावना २० देखि २५ गुणा बढी छ।

हामीले रोस्स्टाटको अभिलेख विश्लेषण गर्दा रुसको तर्फबाट लड्दा ज्यान गुमाउनेहरूमा कम्तीमा ५,०१७ जना विदेशी नागरिकहरू भएको देखिएको छ। तीमध्ये १,०३१ जना उज्बेक र ७२० जना तजिक नागरिकहरू छन्।

सन् २०२४ मा रुसभित्र भएको युक्रेनी आक्रमणलाई रोक्ने क्रममा ज्यान गुमाएका उत्तर कोरियाली सैनिकहरूको विवरण यसमा समाविष्ट छैन।

बीबीसीले स्याटलाइट तस्बिरहरू र प्योङ्याङमा हालै निर्माण गरिएको एउटा स्मारकका आधिकारिक तस्बिरहरूको विश्लेषण गरेर त्यहाँ ज्यान गुमाएका २,३०४ जना उत्तर कोरियाली सैनिकहरूको पहिचान गरेको छ।

चुहिएको रुसी तथ्याङ्क पूर्ण नहुन सक्छ तर बीबीसी रसियनको आफ्नै अनुसन्धानसँग जोडेर हेर्दा यो निकै महत्त्वपूर्ण छ।

सैन्य विज्ञहरूका अनुसार खुला स्रोतहरूबाट बीबीसीले सङ्कलन गरेको २,९०,०१२ को सङ्ख्या वास्तविक मृत्यु सङ्ख्याको ४५ देखि ५५ प्रतिशत हुन सक्छ। त्यसको अर्थ वास्तविक मृत्युको सङ्ख्या ५,२७,२९५ देखि ६,४४,४७१ को बीचमा हुन सक्छ।

सन् १९८९ मा समाप्त अफगानिस्तानमा भएको सोभियत युद्धसँग तुलना गर्दा चार वर्ष १० महिनादेखि चलिरहेको यो युद्धमा ज्यान गुमाउनेहरूको सङ्ख्या रुसका निम्ति निकै ठूलो हो।

जुलाई २०२६ मा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनतर्फको मानवीय क्षति करिब ५०,००० रहेको बताएका थिए। तर 'यूए लसेस'वनामक एउटा वेबसाइटले खुला स्रोतहरूका आधारमा तयार पारेको अर्को सूचीमा त्यो सङ्ख्या १,१५,९५२ देखाइएको छ।

थप रिपोर्टिङ इल्या बाराबानोफबाट

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।