शपिङ मलमा घातक आक्रमणको भोलिपल्टै रुसी हमलामा दुई जना मारिएका युक्रेनी अधिकारीहरूको भनाइ

तस्बिर स्रोत, Oleksandr Hanzha / Dnipropetrovsk regional administration
युक्रेनमा भएको पछिल्लो रुसी हमलामा कम्तीमा दुई जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले शनिवार बिहान बताएका छन्।
अधिकारीहरूका अनुसार किएभमा बलिस्टिक क्षेप्यास्त्रको चेतावनी जारी भएसँगै एउटा गोदाममा भएको आगलागीमा एक जनाको मृत्यु भएको हो। त्यस्तै, जापोरिजा सहरमा भएको ड्रोन हमलामा अर्का एक जनाको ज्यान गएको बताइएको छ।
यसअघि शुक्रवार क्रिभी री सहरस्थित एउटा व्यस्त शपिङ सेन्टरमा 'डबल-ट्याप' ड्रोन हमला हुँदा १६ जना मारिएका थिए। उक्त घटनामा अझै नौ जना हराइरहेका छन्।
सामान्यत: प्रारम्भिक ड्रोन हमलाको केही मिनेटपछि ठीक त्यही स्थानलाई लक्षित गरी दोस्रोपटक गरिएको योजनबद्ध ड्रोन हमलालाई 'डबल-ट्याप' ड्रोन आक्रमण भनिन्छ।
सहरकै सबैभन्दा ठूलो शपिङ मलमा भएको उक्त आक्रमणमा २३ जना बालबालिकासहित १३० जना घाइते भएका छन्।
राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो गृहनगरमा "पूर्णतः निन्दनीय र घृणित" आक्रमण "दुई चरणमा" भएको बताएका छन्। उनका अनुसार दोस्रो आक्रमणमा घटनास्थलमा उद्धार तथा आकस्मिक सेवाका कर्मचारीहरूलाई निशाना बनाइएको थियो।
बीबीसीले पुष्टि गरेको भिडिओ फुटेजमा डिनिप्रोपेत्रोभ्स्क क्षेत्रमा पहिले नै आगलागी भइरहेको उक्त शपिङ सेन्टरमा दोस्रो ड्रोनले प्रहार गरेको देखिन्छ। रुसी सेनाले यसबारे कुनै प्रतिक्रिया जनाएको छैन।
उक्त क्षेत्रका प्रमुख ओलेक्स्यान्डर हान्साले शुक्रबार साँझ घटनामा १५ जनाको मृत्यु भएको पुष्टि गरेका थिए।
मृत्यु हुनेमा अस्पतालमा उपचारका क्रममा ज्यान गुमाएका दुई जना पनि थिए। खोजी तथा उद्धारकार्य जारी रहेकै बेला उनले आकस्मिक सेवाका कर्मचारीहरूले भग्नावशेषबाट थप एक जनाको शव निकालेको जानकारी दिए।
उनले टेलिग्राममार्फत् जानकारी दिएअनुसार क्रिभी री शपिङ सेन्टरमा अझै नौ जना हराइरहेका छन् र तिनमा दुईजना बालबालिका छन्।
घाइते १३० जनामध्ये २९ जनाको अवस्था गम्भीर रहेको बताइएको छ। मृतकको सङ्ख्या अझै बढ्न सक्ने आशङ्का गरिएको छ।
खोजी तथा उद्धार कार्यलाई अझ प्रभावकारी बनाउन युक्रेनका अन्य चार क्षेत्रबाट उद्धार टोली झिकाएर परिचालन गरिएको छ।
त्यसअघि क्रिभी रीका मेअर ओलेक्स्यान्डर भीलकूलले रुसी ड्रोनहरू "अत्यन्तै न्यून उचाइमा" उडिरहेका बताएका थिए। उनले आक्रमणकारीहरूलाई "पशु"को संज्ञा दिए।
"केही मानिसहरू बेपत्ता छन् र फोनको जबाफ दिइरहेका छैनन्," मेअरले थपे।

तस्बिर स्रोत, DSNS / Dnipropetrovsk region
त्यस्तै युक्रेनको दक्षिणी माइकोलेभ क्षेत्रमा भएका छुट्टाछुट्टै रुसी आक्रमणमा तीन जना बालबालिकासहित चार जनाको र उत्तरपूर्वी खार्किभ क्षेत्रमा थप दुई जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन्।
दक्षिणी सहर जापोरिजामा एउटा ट्याक्सी नजिकै ड्रोन विस्फोट हुँदा तीन जना घाइते भएका त्यहाँका क्षेत्रीय प्रमुखले बताएका छन्।
उक्त घटनाको अघिल्लो दिन युक्रेनको राजधानी किएभमा भएको ठूलो रुसी क्षेप्यास्त्र तथा ड्रोन हमलामा १७ जनाको मृत्यु हुनुका साथै ४० जनाभन्दा बढी घाइते भएका थिए।
रातभर सहरका विभिन्न भागमा रहेका 'अपार्टमेन्ट' र गोदामहरूमा आक्रमण भएका स्थानीय अधिकारीहरूले बताएका छन्। त्यस क्रममा एउटा बाल अस्पताल र विद्यालयमा पनि क्षति पुगेको छ।
त्यसअघि शुक्रवार युक्रेनी सेनाले रुसको भित्री क्षेत्रमा रहेको एउटा तेल प्रशोधन केन्द्र र सैन्य हवाई अड्डामा आक्रमण गरेको जनाएको थियो।
युक्रेनले हालैका महिनाहरूमा रुसी ऊर्जा पूर्वाधारका साथै त्यहाँको सबैभन्दा ठूलो अनलाइन खुद्रा विक्रेता 'वाइल्डबेरीज' गोदामहरूमा पनि आक्रमण तीव्र पारेको छ।
किएभको दाबीअनुसार युद्धका लागि आर्थिक स्रोत जुटाउन रुसलाई सहयोग गर्ने भएकाले ती सबै वैध निशाना हुन्।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले फेब्रुअरी २०२२ मा युक्रेनमाथि पूर्णस्तरको आक्रमण सुरु गरेका थिए। हाल दक्षिणपूर्वी युक्रेनको करिब पाँचौँ भाग मस्कोको नियन्त्रणमा छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।




















