गणेश नेपालीको मृत्युपछि सडकदेखि सदनसम्म आक्रोश, अहिलेसम्म केके भयो

गणेश नेपालीको मृत्युको घटनाको विरोध गर्दै माइतीघर मण्डलामा प्रदर्शन भएको छ

तस्बिर स्रोत, Nepal Photo Library

तस्बिरको क्याप्शन, गणेश नेपालीको मृत्यु भएको खबर बाहिर आएसँगै माइतीघर मण्डलामा प्रदर्शन भएको छ
    • Author, गनी अन्सारी
    • Role, बीबीसी न्यूज नेपाली
  • Published
  • पढ्ने समय: ५ मिनेट

काठमाण्डूमा आत्मदाहको प्रयास गरेका मुगुका गणेश नेपालीको उपचारका क्रममा मृत्यु भएको घटनाले सडकदेखि सदनसम्म चर्को आक्रोश निम्त्याएको छ।

शुक्रवार प्रतिनिधिसभाको बैठकमा विपक्षी दलका सांसदहरूले सरकारको कडा आलोचना गरेका छन्। राष्ट्रिय सभामा प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने आवाजसमेत उठेको छ।

उपचारका क्रममा गणेश नेपालीको मृत्यु भएको खबर बाहिरिएपछि काठमाण्डूको माइतीघर मण्डलमा केही युवाहरूले प्रदर्शन गरेका छन्।

घटनाबारे पाँचसदस्यीय छानबिन समिति गठन गर्ने घोषणा गर्दै गृहमन्त्री सुधन गुरुङले निष्पक्ष छानबिन गरिने संसद्‌लाई जानकारी गराएका छन्।

सरकारले प्रयास गर्दागर्दै गणेश नेपालीलाई बचाउन नसकिएकोमा गृहमन्त्री गुरुङले दुःख व्यक्त गरे।

"हिजो हामीले अथक प्रयास गरेकै हो। प्लेन रेडी गरेकै हो, अनुमति लिनुपर्ने लिएकै हो। तर डाक्टरहरूले बिरामीलाई स्थिर अवस्थामा राखेर स्थानान्तरण गर्नुपर्‍यो [भन्नुभयो]," उनले भने।

"उहाँको रक्तचाप कम भइसकेको थियो। ब्लडप्रेशर लो भएको समयमा लाँदै गर्दा केही भइहाल्थ्यो भने? हामीले त बचाउने उद्देश्यले पो गरिरहेका थियौँ," मन्त्री गुरुङले थपे।

सोधपुछका लागि महानगर प्रहरीका तीन जना कर्मचारीलाई नियन्त्रणमा लिइएको पनि उनले जानकारी दिए।

गणेश नेपालीको स्वास्थ्य अवस्थाबारे बोल्दै वीर अस्पतालका चिकित्सकहरू

तस्बिर स्रोत, Nepal Photo Library

तस्बिरको क्याप्शन, चिकित्सकहरूले प्रयास गर्दागर्दै गणेश नेपालीलाई बचाउन नसकिएको बताएका छन्

संसद्‌मा कसले के भने?

संसद्‌मा बोल्दै एक सांसद

तस्बिर स्रोत, Nepal Photo Library

तस्बिरको क्याप्शन, शुक्रवारको प्रतिनिधिसभाको बैठकमा बोल्दै धेरै सांसदहरूले यस घटनाबारे चासो व्यक्त गरेका छन्

प्रतिनिधिसभाको बैठकमा विपक्षी दलका सांसदहरूले घटनाका लागि सरकार जिम्मेवार रहेको आरोप लगाएका छन्।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकी सांसद बासना थापाले घटनामा राज्य मूकदर्शक बनेको आरोप लगाइन्।

"राज्य आतङ्कका कारण एक युवाले आगो सल्काउँदा समेत राज्य मूकदर्शक बन्यो। शरीर आगोमा दन्किरहेको छ, राज्यले एम्बुलेन्स पठाएन। बरु प्रहरी प्रशासन लगाएर अपराधीझैँ घिसारेर लग्यो। उद्धार हो कि गिरफ्तारी हो, सरकार? ऊ देशद्रोही हो? उसले कसका विरुद्ध के अपराध गरेको थियो," उनले प्रश्न गरिन्।

प्रधानमन्त्री वालेन्द्र शाह 'बालेन'ले अब "कालो चस्मा फुकाल्ने बेला" आएको थापाले टिप्पणी गरिन्।

"केही समयअघि सुकुम्बासीलाई उठिबास लगाएर १७ वर्षीय रविन तामाङ र ६१ वर्षीय इन्द्रबहादुर राईले आत्महत्या गरेका थिए। हिजो पनि धोबीखोलामा हामफालेर मृत्युवरण गरेको व्यक्तिको अझै पहिचान हुन बाँकी छ। प्रधानमन्त्रीज्यू, राज्य साँच्चै यति निरीह र असफल भइसकेको हो? अब कालो चस्मा खोल्ने बेला आएको छ।"

प्रतिनिधिसभामा बोल्दै गृहमन्त्री सुधन गुरुङ

तस्बिर स्रोत, Nepal Photo Library

तस्बिरको क्याप्शन, घटनाबारे छानबिन गर्न पाँचसदस्यीय समिति गठन गर्ने गृहमन्त्रीले घोषणा गरेका छन्

नेकपा एमालेका सांसद ऐन महरले राज्यले नै यस्तो अवस्था सिर्जना गरिरहेको आरोप लगाए।

"राज्यले नागरिकलाई आत्मदाह गर्ने ठाउँबाट उठाउनुपर्‍यो। पछिल्लो समय चाहे सुकुम्बासी भन्नूस्, चाहे गणेश नेपालीहरू भन्नूस्। आज नागरिकहरूलाई जबरजस्त रूपमा आत्मदाह गर्ने ठाउँमा राज्यले जसरी पुर्‍याइरहेको छ, राज्य यसमा जिम्मेवार छ," उनले भने।

गणेश नेपालीको मृत्युको मूल्य वर्तमान सरकारले चुकाउनुपर्ने भन्दै उनले अगाडि थपे, "यो हत्याको जिम्मेवार यो बालेन्द्र सरकार हो।"

नेपाली कम्युनिस्ट पार्टीका सांसद तथा भूतपूर्व अर्थमन्त्री वर्षमान पुनले उक्त घटना राज्यको असफलता हो वा होइन भनी प्रश्न गरे।

"…या गरिब, दुःखी, विपन्न, सुकुम्बासीहरू यो सङ्घीय राजधानी या देशभरि बाँच्न पाउँदैनन्, उनीहरू गरी खान पाउँदैनन् भन्ने सङ्केत हो? सरकारको यसमा ध्यान जाओस्," उनले अगाडि थपे।

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानबहादुर शाहीले "सरकारकै कारण" गणेश नेपालीको ज्यान गएको आरोप लगाए।

"गृहमन्त्रीले हिजो फिल्मको नायकजस्तै कहिले एअरपोर्ट, कहिले कता, कहिले उता दौडिरहनुभएको थियो। यदि साँच्चै उपचार गर्ने उद्देश्य थियो भने आज गणेश नेपालीको मृत्यु हुँदैनथ्यो। आज उनको जीवन बाँच्ने थियो," उनले भने।

राष्ट्रिय सभामा राजीनामा माग

तल्लो सदनमा विपक्षी सांसदहरूले सरकारको चर्को आलोचना गरेका बेला माथिल्लो सदनका एक सदस्यले प्रधानमन्त्रीको राजीनामा माग गरे।

गणेश नेपालीको मृत्युको कारण सरकार भएको भन्दै नेपाली कम्युनिस्ट पार्टीका विष्णुबहादुर विश्वकर्माले भने, "यदि नैतिकता छ भने बालेन सरकार राजीनामा दिएर तुरुन्त सडकमा आओस्।"

जल्दै गरेका गणेश नेपालीप्रति "राम्रो व्यवहार नगरिएको" र "उचित तरिकाले अस्पताल नपुर्‍याइएको" उनले आरोप समेत लगाए।

"अपराधीझैँ घिसारेर अस्पताल पुर्‍याइन्छ। ती ट्राफिक प्रहरी, नगर प्रहरी र घिसारेर लैजाने प्रहरीलाई कडाभन्दा कडा कारबाही गरियोस्," विश्वकर्माले अगाडि थपे।

गणेश नेपालीको आत्मदाहको घटनापछि भएको विरोध प्रदर्शन

तस्बिर स्रोत, Nepal Photo Library

तस्बिरको क्याप्शन, प्रदर्शनकारीहरू वीर अस्पालतर्फ बढ्न खोजेका थिए

ट्राफिक प्रहरीको स्पष्टोक्ति

ट्राफिक प्रहरीले जरिवानाका कारण गणेश नेपालीले आत्मदाहको प्रयास गरेको दाबीको खण्डन गरेको छ।

"उक्त घटनामा ट्राफिक प्रहरीले निजलाई जरिवाना (फाइन) तिराएको र सोही कारणले आत्मदाहको प्रयास गरेको भनी फैलाइएका विवरणहरू पूर्णतः तथ्यहीन र भ्रामक रहेका छन्," शुक्रवार एउटा विज्ञप्तिमार्फत् ट्राफिक प्रहरीले भनेको छ।

"घटनास्थलको वस्तुस्थिति तथा प्रारम्भिक छानबिनका क्रममा ट्राफिक प्रहरीद्वारा निजलाई कुनै पनि प्रकारको जरिवाना नगरिएको र ट्राफिक कारबाहीसँग यस घटनाको कुनै पनि सम्बन्ध नरहेको तथ्य स्पष्ट पार्न चाहन्छौँ।"

उसले घटनाको वास्तविक कारणबारे सम्बन्धित अनुसन्धान अधिकारीहरूबाट कानुनी रूपमा अनुसन्धान अघि बढिसकेको उल्लेख गरेको छ।

घटना के हो?

काठमाण्डूको त्रिपुरेश्वरमा मुगुका गणेश नेपालीले बिहीवार दिउँसो रोकिराखेको उनको मोटरसाइकलमा 'ह्वील लक' लागेको विषयमा महानगर प्रहरीसँग विवाद भएलगत्तै आत्मदाह गरेको विवरण सार्वजनिक भएका छन्।

गम्भीर जलनका कारण अस्पतालमा भर्ना भएका २५ वर्षीय गणेशलाई अस्थिर स्वास्थ्य अवस्थाका कारण तत्काल भारत लैजान नसकिएको सरकारले शुक्रवार बिहान जनाएको थियो।

तर त्यसको केही घण्टामै वीर अस्पतालले उपचारका क्रममा गणेश नेपालीको मृत्यु भएको जानकारी गराइयो।

बालेन र रविले के लेखेका थिए?

प्रधानमन्त्री वालेन्द्र शाह 'बालेन'

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, पछिल्लो घटनाबारे प्रधानमन्त्रीको तर्फबाट अहिलेसम्म कुनै अभिव्यक्ति आएको छैन

झन्डै साढे तीन वर्षअघि काठमाण्डूको नयाँ बानेश्वर, संसद्‌ भवनअगाडि आत्महत्याको प्रयास गरेपछि इलामका उद्यमी प्रेमप्रसाद आचार्यले ज्यान गुमाएको घटनाबारे अहिले फेरि चर्चा भइरहेको छ।

काठमाण्डूका तात्कालिक मेअर वालेन्द्र शाह 'बालेन'ले त्यसलाई "राज्यको चरम असफलता"को रूपमा चित्रण गरेका थिए।

"एक जना नागरिक आफूले चिनेका वा जानेका सबैलाई आफ्नो विगत र आगत वर्णन गरेर आत्महत्या गर्न लागेको खबर गर्छन्। एक जना नागरिक संसद्‌ भवनको अगाडि आफूमाथि पेट्रोल खन्याएर आत्मदाह गर्छन्। त्यो आत्मदाहका धेरै कारण र धेरै सङ्केतहरू होलान्, तर सबैभन्दा ठूलो कारण राज्य हो। र, सबैभन्दा भयानक सङ्केत राज्यको चरम असफलताको हो," विसं २०७९ को माघ ११ गते बालेनले लेखेका थिए।

बालेनले त्यस बेला राज्यका सबै अङ्गहरू असफल साबित भएको तर्क गरेका थिए।

"उनको व्यवसायमा, उनको निराशामा, उनको सहयोगको याचनामा, उनको सुरक्षामा, उनको उद्धारमा, उनले भोगेको हरेक चरणमा राज्य असफल भएको छ। राज्यका हरेक तप्का, निकाय र अङ्गहरू असफल भएका छन्," बालेनको पोस्टमा छ।

बालेन शाहको पुरानो पोस्ट

तस्बिर स्रोत, Balen Shah/Facebook

तस्बिरको क्याप्शन, बालेन शाहको पुरानो पोस्टको अहिले चर्चा भइरहेको छ

प्रेमप्रसाद आचार्यको मृत्यु भएका बेला राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री थिए।

उक्त घटना हुनुमा आफू पनि दोषी रहेको भन्दै सामाजिक सञ्जालमार्फत्‌ लामिछानेले माफी मागेका थिए।

"एउटा नागरिकले आत्मदाह गर्नुपर्ने परिस्थितिको वर्णन गर्न अब के नै बाँकी रह्यो र? यस्तै परिस्थितिका कारण शान्त विद्रोह गरेर हामी हिजो भर्खर राजनीतिमा र आज भर्खर सरकारमा सामेल छौँ। मलाई थाहा छ आत्मदाहको निर्णय हिजोदेखिको निराशा र पीडाको परिणाम हो," उनले लेखेका थिए।

"दुःख त मलाई यसमा लागेको छ कि हामी जस्ता नयाँहरूको आगमनले समेत तपाईँमा उत्साह थप्न सकेन, आशा जगाउन सकेन, आत्मदाहको निर्णय फेर्न सकेन। यसमा हामी दोषी छौँ, म दोषी छु। प्रेम आचार्यजी, नयाँ राजनीतिक दल र नेताका रूपमा तपाईँमा आशा जगाउन सकेनौँ, हामीलाई माफ गर्नुहोला। तपाईंको आत्माले चिर शान्ति पाओस् ,परिवारलाई यो पीडा सहने शक्ति मिलोस्।"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।