विपद्का बेला मनोसामाजिक र मानसिक स्वास्थ्यबारे थाहा पाउनुपर्ने कुरा

नुवाकोटको विदुर नगरपालिकास्थित एउटा होल्डिङ सेन्टरमा राखिएको तस्बिर

तस्बिर स्रोत, SHAKTIMAYA TAMANG

तस्बिरको क्याप्शन, नुवाकोटको विदुर नगरपालिकास्थित एउटा होल्डिङ सेन्टरमा राखिएको तस्बिर
    • Author, विनिता दाहाल
    • Role, बीबीसी न्यूज नेपाली
  • Published
  • पढ्ने समय: ५ मिनेट

बाढीप्रभावित क्षेत्रमा पुगेका मनोविद् तथा परामर्शदाताहरूले पीडित व्यक्तिहरूमा खास गरी तनाव, चिन्ता, उदास अवस्था तथा बारम्बार रुनेजस्ता सामान्य मनोसामाजिक लक्षणहरू देखिएको बताएका छन्।

खास गरी परिवारमा जिम्मेवारी वहन गरेकाहरूमा विपद्ले मनोवैज्ञानिक रूपमा अलि बढी असर गरेको आफ्नो अनुभव रहेको नुवाकोटको विदुर नगरपालिका ४ स्थित एउटा होल्डिङ सेन्टरमा रहेकी मनोपरामर्शदाता सुशीला पोखरेलले बताइन्।

"जो भूकम्पको प्रभावबाट भर्खरै उठिरहनुभएको थियो... विगतमा पनि बाढी पहिरो पनि नगएका होइनन्। खोलाकै किनारमा बस्नुहुन्छ, कोभिडले पनि गाह्रो गराइरहेको थियो। र, अहिले आएर उहाँहरूसँग केही पनि छैन," उनले भनिन्। "पहिला चाहिँ केही न केही बाँकी हुन्थ्यो। अहिले चाहिँ केही पनि छैन। सँगसँगै आफन्त पनि हुनुहुन्न। उहाँहरू एकदमै आघातग्रस्त हुनुभएको हामीले देखेका छौँ।"

अहिले होल्डिङ सेन्टरमा बस्ने अधिकांश मानिसहरूमा डर देखिएको उनले बताइन्।

"कसैले देखाउनुहुन्छ, कसैले व्यक्त गर्नुहुन्न। तर गहिरिएर कुरा गर्‍यो भने सबै जनामा डर, भविष्यको चिन्ता, अनि अनिश्चितता छ," मनोपरामर्शदाता पोखरेलले भनिन्।

'समस्या देखिन निश्चित समय लाग्छ'

प्रभावित क्षेत्रका विभिन्न आधा दर्जनभन्दा बढी होल्डिङ क्षेत्रमा पुगी बाढीप्रभावितलाई भेटेका कान्ति अस्पतालका क्लिनिकल साइकलजिस्ट अन्जनकुमार ढकाल मानिसहरूमा मानसिक स्वास्थ्यसँग जोडिएका कतिपय समस्याहरू निश्चित समयपछि मात्रै देखिन थाल्ने बताउँछन्।

"सबै गुमाएका मानिसहरूमा अशान्ति, व्यग्रता, दोधारपन निश्चित समयका लागि आउनुपर्छ र हुनुपर्छ," उनले भने।

"हामीले निश्चित समयका लागि उहाँहरूमा मनोसामाजिक वा मानसिक स्वास्थ्य समस्या छ भन्ने बेला भइसकेको छैन। तर हप्तौँसम्म यस्तो समस्या रहे र दैनिक जीवनमा फर्किन गाह्रो भयो भने मानसिक स्वास्थ्य समस्या हो कि भनेर बुझ्नुपर्छ।"

तर यसबीचमा उनीहरूलाई आवश्यक पर्ने आधारभूत कुराहरू (खानपान, सरसफाइका लागि आवश्यक पर्ने सामग्री, लत्ताकपडा) पुगिरहेको छ वा छैन भनी ख्याल गर्नुपर्ने उनी बताउँछन्।

बाढीपहिरो, भूकम्पजस्ता प्राकृतिक विपद्पछिका आपत्कालीन अवस्थाहरूमा प्राय: सबै व्यक्तिले मानसिक तनाव र सामाजिक अस्थिरता अनुभव गर्ने भन्दै सहायताका लागि सरकारले सेवा दिइरहेको अधिकारीहरूले बताएका छन्।

अहिलेसम्म प्रभावित क्षेत्रका १,२३९ मानिसलाई मनोसामाजिक प्राथमिक उपचार र मनोसामाजिक परामर्श तथा मानसिक स्वास्थ्य सेवा दिइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

त्यसका लागि परिचालित जनशक्तिमा एक मनोचिकित्सक, एक मनोविद् र ६३ जना परामर्शदाता रहेका मन्त्रालयले जनाएको छ। त्यसबाहेक १,११५ नम्बरको हेल्पलाइनमा सातै दिन चौबीसै घण्टा परामर्श सेवा लिन सकिने बताइएको छ।

विपद्पछि अत्तालिएका मानिसहरूलाई कसरी मनोसामाजिक सहायता गरिँदै छ?

मन्त्रालयका अनुसार सबैभन्दा धेरै प्रभावित मानिसहरू रहेको नुवाकोटका १२ होल्डिङ सेन्टरमा ४५ जना जनशक्ति परिचलित छन्। उनीहरूले हालसम्म १,१७६ जनालाई सेवा प्रदान गरिएको मन्त्रालयले जारी गरेको विवरणमा उल्लेख छ।

त्यस्तैमध्येको एउटा होल्डिङ सेन्टरमा काम गर्ने सुशीलाजस्ता मनोपरामर्शदाताले प्रत्येक दिन होल्डिङ सेन्टरमा रहेका मानिसहरूको अनुहारको भाव बुझ्ने, उनीहरूलाई 'मनोवैज्ञानिक प्राथमिक उपचार' प्रदान गर्न उनीहरूसँग कुरा गर्ने र आवश्यक सहायता प्रदान गर्ने गर्छन्।

"हामी उहाँहरूलाई कति गाह्रो भइरहेको छ हेर्छौँ। उहाँहरूलाई के कुरा आवश्यक छ तत्काल बुझ्छौँ र सहजता ल्याउन आवश्यक समन्वय गरिदिन्छौँ," उनले भनिन्।

"उहाँको व्यवहारमा के परिवर्तन आएको छ, कहाँनेर असर परिसकेपछि कसकसले सेवा दिनुहुन्छ, त्यहाँ लिङ्क गरिदिन्छौँ। विगतदेखि नै मानसिक स्वास्थ्यको औषधि खाइरहेका मानिस भए मनोचिकित्सकसँग भेटाउने काम गर्छौँ।"

कस्तो अवस्थामा परामर्श लिनुपर्छ?

मानसिक स्वास्थ्यमा सहायता लिनुपर्ने विज्ञहरू बताउँछन्

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, मानसिक स्वास्थ्यमा समस्या भएको महसुस भए सहायता लिनुपर्ने विज्ञहरू बताउँछन्

मनोवैज्ञानिक दृष्टिकोणले कुनै पनि व्यक्तिले विपद्पछि भएको घटनालाई सुरुको चरणमा 'डिनाएल' को अवस्थामा अर्थात् स्वीकार गर्नै नचाहने अवस्थामा बस्ने वरिष्ठ मनोचिकित्सक सरोजप्रसाद ओझाले बताए।

"हुनै नसक्ने कुरा कसरी भयो भन्ने झट्काको अवस्थाजस्तो लाग्छ। बिस्तारै त्यो अवस्था आक्रोशमा बदलिन्छ। अनि छटपटाहट हुने निद्रा नलाग्ने अवस्थाबाट गुज्रिन सक्छ," उनले भने।

"मनोविज्ञानको हिसाबले आफूले गुमाएको महसुसले दिक्क लाग्ने, आत्तिने, आँखाले देखेको बीभत्स घटना सम्झिनेबितिक्कै 'फ्ल्यासब्याक'हरू आउँछन्। अनि अन्तिममा स्विकार्ने क्रममा अब के गर्ने भनेर सहयोगको याचना गर्न खोज्छ।"

यस्तो खालको विषम परिस्थितिबाट गुज्रिएका व्यक्तिहरू प्रत्येकमा कस्तो व्यक्तिगत आघात परेको हो, उसको स्वभाव कस्तो होलगायतले कहिले समस्या देखिने वा कति गम्भीर देखिने भन्ने कुरा भर पर्ने मनोचिकित्सकहरू बताउँछन्।

"यस्तो किसिमको विपद्‌मा जनाउने प्रतिक्रिया यस्तै नै हो। कसैलाई मन आत्तिने, दिक्क लाग्ने, निद्रा नलाग्ने भयो भने मनोपरामर्श लिनुपर्छ। बितेका कुराभन्दा पनि अब के गर्ने भन्नेमा ध्यान दिनुपर्छ।"

विपद् भोगेकाहरूलाई भन्न नहुने कुराहरू

प्रभावित व्यक्तिलाई सहायता गर्दा कुनै पनि व्यक्तिले त्यो अवस्थामा आफू पर्दा आफूलाई कस्तो महसुस हुन सक्छ भनेर समानुभूति राख्नुपर्ने वरिष्ठ मनोचिकित्सक ओझा बताउँछन्।

"घटना कसरी भयो, तपाईँ के गर्दै हुनुहुन्थ्यो भन्नेजस्ता कुरा, जसले पुराना कुरा सम्झाउँछ, त्यस्तो कुरा सोधिदिनुहुँदैन," उनले भने।

"घटना भइसकेपछि वर्तमानमा केन्द्रित हुनुपर्छ र अबको समस्याको समाधान कसरी गर्ने भनेर सोच्नुपर्छ।"

प्रभावित क्षेत्रमा गएर पीडितलाई झुटा आश्वासन दिन नहुने मनोविद् ढकाल बताउँछन्।

"उहाँहरूले भन्न नचाहेका कुरा पनि खोतलीखोतली सोध्नुहुँदैन। बरु उहाँको दैनिक क्रियाकलाप अगाडि बढाउन कसरी सहजीकरण गर्न सक्छौँ भन्ने सोच्नुपर्छ," उनले भने।

पीडितहरूलाई भेट्न जाने मानिसहरूले 'कम्तीमा तपाईँ त बाँच्नुभयो नि', 'तपाईँलाई त केही भएको रहेनछ नि', 'हरेक कुरा हुनुको कारण हुन्छ' भन्ने जस्ता कुरा गरिदिन नहुने उनले बताए।

"उहाँहरू(पीडित)ले यदि आफूखुसी भन्न चाहनुहुन्छ भने नरोकौँ। तर नचाहेको समयमा नकोट्याऊँ। 'तपाईँ त बाँच्नुभयो' नि नभनौँ। जसलाई 'म मात्रै बाँचेर के काम' भन्ने लागेका बेला त्यस्तो बोलिदिनुहुँदैन," ढकालले भने।

"बरु होल्डिङ सेन्टरमा भएका अन्य मानिससँग कसरी अन्तर्क्रिया गराउन सकिन्छ, त्यसमा मद्दत गरौँ।"

अहिले होल्डिङ सेन्टरमा बसेकाहरूलाई केही हप्ता बितिसकेपछि पनि अहिलेको घटनाले निरन्तर चिन्ता भइरहने, खानपानमा समस्या आउने, निद्रामा समस्या पर्न थाल्यो, नकारात्मक सोच आउन थाल्यो भने मनोसामाजिक वा मानसिक स्वास्थ्य सेवा चाहिएको हो कि भनेर स्वयं व्यक्ति वा नजिकको आफन्त वा छिमेकीले बुझ्नुपर्ने विज्ञहरू सुझाउँछन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।