भोटेकोशी र त्रिशूली नदीमा बगेर भारत पुगेको शव पहिचानमा ट्याटू कसरी सहयोगी बन्यो

तस्बिर स्रोत, FamilyHandout
- Author, अशोक दाहाल
- Role, बीबीसी न्यूज नेपाली
- Published
- पढ्ने समय: ६ मिनेट
भोटेकोशी-त्रिशूली बाढीमा नुवाकोट र रसुवाको सीमावर्ती क्षेत्रबाट बगाएको ठानिएको एउटा शव नेपालको सीमाभन्दा निकै टाढा भारतीय क्षेत्रमा भेटिँदा समेत पहिचान भएको प्रहरी र परिवारले बताएका छन्।
धादिङको थाक्रेका दशरथ डङ्गोललाई दाजु हरिहर डङ्गोलले भदौ १० गते बिहान ७:३० बजे रसुवागढीको गाडी लाग्ने धार्केबजारसम्म पुर्याएर फर्किएका थिए। 'लो बेड ट्रक'का चालक दशरथ रसुवागढीमा गाडी लिन जाँदै थिए।
काठमाण्डूबाट टिमुरेका लागि छुटेको गाडी चढेको केही घण्टापछि उनी बेपत्ता भए।
दशरथले नुवाकोट पार गरेका थिए कि थिएनन् दाजु हरिहर यकिन छैनन्।
"कहाँ पुग्यो भन्ने पनि थाहा भएन। तुप्चे भन्ने ठाउँसम्म उसको मोबाइल नेटवर्क देखियो। गाडी त्यही त्रिशूली-बेत्रावती वरिपरि कतै पुग्यो होला। जुन ठाउँ बस्ती सखाप भएका छन् त्यही ठाउँबाट हरायो भन्ने कुरा आयो," बाढीको एक महिनापछि हरिहरले सुनाए।
दशरथ चढेको बस नभेटिएपछि उनलाई भेट्ने आशा पनि परिवारले मार्न थालिसकेको थियो।
"अब भेटिँदैन, गाडीसहित कता लगेर डुबायो भन्ने थियो," दाजु हरिहर सम्झन्छन्।
"ऊ चढेको गाडी पनि भेटिएको छैन। उसले लिन गएको गाडी पनि भेटिएको छैन।"
तर बाढीको एक सातापछि उनको तल्लो पाखुरामा भएको ट्याटूसँग मिल्ने ट्याटू भएको शव भारतमा भेटिएर लुम्बिनी प्रादेशिक अस्पतालसम्म एम्बुलेन्समा ल्याइएको खबर परिवारले थाहा पायो।
"उसको दाहिने हातमा 'दशरथ जङ्गे' लेखेको ट्याटू थियो। यो ट्याटू भएको मान्छेलाई ल्याएर छोडिदिएको छ भनेर समाचारमा देखाएको रहेछ। हामी गएर हेर्दा मान्छे चिनिने सग्लै थियो," उनले भने।
प्रहरीका अनुसार २०४ जनाको शव नवलपरासी पश्चिममा भेटिएको थियो। थप १८ वटा शव भारततर्फ नेपालको सीमाबाट करिब ५० किलोमिटर टाढा रहेको पश्चिम चम्पारणसम्म फेला परेक थिए।
नवलपरासी बर्दघाट सुस्ता पश्चिमका प्रहरी नायब उपरीक्षक मदन थापाका अनुसार भारतबाट ल्याइएको एउटा शव पहिचानमा शरीरमा रहेको ट्याटू सहयोगी बनेको थियो।
"भारतमा भेटिएका शवहरू भारतीय पक्षबाट हामीलाई हस्तान्तरण गरिएको थियो। तीमध्ये एउटा शव पहिचान भएको छ। बाँकी शवहरू पहिचान भएका छैनन्," थापाले बीबीसी न्यूज नेपालीसँग भने।
नेपालतर्फ भेटिएका र भारतबाट आएका समेत गरी पश्चिम नवलपरासीमा १० वटा शव मात्रै पहिचान भएका छन्।
तीमध्ये कम्तीमा चार वटा शवको पहिचानमा शरीरमा भएको ट्याटू सहयोगी बनेको थियो।
बगेर २५० किलोमिटर परे पुगेको शव

रसुवाको स्याफ्रुबेँसीभन्दा एक किलोमिटरमाथि एउटा निर्माणाधीन जलविद्युत् आयोजनामा सवारीचालकको काम गरिरहेका मकवानपुरको भीमफेदीका २८ वर्षीय सबिन रानाको शव पनि बाढीको पाँचौँ दिनमा नवलपरासी पश्चिममा भेटिँदा ट्याटूकै कारण चिनिएको प्रहरीले जनाएको छ।
उनको देब्रे हातमा सिंहको आकृतिको ट्याटू थियो। त्यही हातको हत्केलातर्फ 'लभ यू ड्याड मम' लेखिएको अर्को ट्याटू थियो। उनको शरीरका अन्य अङ्गहरूका आधारमा पहिचान गर्न अवस्थामा शव भेटिएको प्रहरीले जानकारी दिएको छ।
राना स्याफ्रुबेँसीभन्दा केहीमाथि रसुवा भोटेकोशी जलविद्युत् आयोजनामा चिनियाँ ठेकेदार सिनो हाइड्रोमा सवारीचालकको काम गर्थे। कुल १२० मेगावाटको यो आयोजना निर्माणको प्रारम्भिक चरणमै थियो।
स्याफ्रुबेँसीको उक्त ठाउँबाट नवलपरासी पश्चिमको नेपाल-भारत सीमाको गण्डक बराजसम्म भोटेकोशी, त्रिशूली हुँदै तल नारायणी नदीको दूरी करिब २५७ किलोमिटर रहेको नापी विभागका प्रमुख नापी अधिकृत खिमलाल गौतमले जानकारी दिए।
करिब २५० किलोमिटरसम्म बगेका सविनको शव त्यही ट्याटूका आधारमा मात्रै पहिचान गर्न सकिएको प्रहरीले जनाएको छ।
प्रहरी प्रधान कार्यालयका सहायक प्रवक्ता दीप शम्शेर जबराका अनुसार छोटो दूरीसम्म बगेका र निकै कम शवहरू मात्रै अनुहार र ट्याटू, गरगहनाजस्ता चिह्नका कारण पहिचान हुने अवस्थामा रहेको बताउँछन्।
"डीएनए म्याच गरेर बाँकी शवहरूको पहिचान गर्ने काम भइरहेको छ," राणाले बीबीसी न्यूज नेपालीसँग भने।
विधिविज्ञानका अनुभवी डा हरिहर वस्ती यति टाढासम्म पुगेको शव ट्याटूका कारण पहिचान हुने अवस्था निकै दुर्लभ हुने बताउँछन्। "यो दुर्लभ नै हो," उनले बीबीसी न्यूज नेपालीसँग भने।
११२ जनाको मात्रै शव पहिचान
बाढीमा परेको ठानिएका ५,००० भन्दा धेरै मानिसहरूमध्ये हालसम्म १,४५४ जनाको मात्रै शवहरू भेटिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतले जानकारी दिइन्।
तीमध्ये सचिनजस्तै ११२ जनाका शवको मात्रै पहिचान भएको छ। बाँकी ९२ प्रतिशतभन्दा धेरै शवको आधारमा मृतकको पहिचान भएको छैन।
दशरथ र सचिनको जस्तै पर्साको जिराभवानी गाउँपालिकाका ३८ वर्षीय राजकपुर गुरौ थारूको शव पहिचानमा पनि उनको हातमा खोपिएको ट्याटू सहयोगी बन्यो।

तस्बिर स्रोत, FamilyHandout
राजकपुर रसुवाको मैलुङमा एउटा निर्माण आयोजनाको क्रशरमा काम गर्थे।
बाढी आएको थाहा पाएपछि परिवारले बारम्बार सम्पर्कको प्रयास गर्दा पनि उनको फोन लागिरहेको थिएन। सुरुमा टेलिफोनका टावरहरू बगाएका कारण मात्रै सम्पर्क हुन नसकेको ठानेको गुरौ परिवार दुई दिनसम्म पनि उनको पत्तो नलागेपछि खोज्दै बट्टारसम्म पुग्यो।
"जिउँदो छन् भने त आउँछन्। मरे भने त शव चिन्न पनि गाह्रो हुन्छ भनेर म नुवाकोट गएँ, बुवा र साथीहरूलाई नारायणगढ पठायौँ," भाइ सुरेशप्रसाद गुरौले सम्झिए।
उनको दाहिने हातमा 'राजकपुर' लेखेको ट्याटू थियो।
"त्यो ट्याटू भएको शव भेटिएको पोस्ट देखेपछि खोज्दा नारायणगढमा छ भन्ने आयो, त्यहाँ रहेनछ। परासी जिल्लामा भन्ने थाहा भयो। त्यहाँ पुग्दा शव आधा मात्रै थियो। चिन्न सकिने नै थिएन। हातमा राजकपुर लेखेको प्रस्ट थियो, दाह्री पनि दाइको हो भनेर चिन्ने अवस्थामा थियो।"
बाढीको सातौँ दिनमा परिवारले शव बुझ्दा सडेर गन्हाउने अवस्थामा रहेको भाइ सुरेशले सुनाए।
बेत्रावतीमा होटेल चलाइरहेका काभ्रेका शङ्खबुद्ध तामाङको शव चाहिँ उनको हातमा रहेको औँठीका कारण पनि पक्का गर्न सहयोग पुगेको दाइ कर्माधोज तामाङले जानकारी दिए।
उनका अनुसार बेत्रावतीबाट बगेर पश्चिम नवलपरासीमा भेटिएको शङ्खबुद्धको शव अनुहार पनि सामान्य चिनिनै अवस्थामै फेला परेको थियो।
डीएनए परीक्षणका लागि ३,३०० नमुना

तस्बिर स्रोत, RSS
आफ्नो जीवनकालमा कम्तीमा १५,००० वटा शवको परीक्षण गरेका फरेन्सिक विशेषज्ञ डा वस्ती तल्लो तटीय क्षेत्रमा भदौको बाढीका समयमा गर्मी रहेका कारण पानीबाट निस्किएको शव २४ घण्टापछि नै सड्न सुरु गर्ने बताउँछन्।
"कुहिन थालेपछि जिउँदोको जस्तो देखिँदैन। त्यतिखेर गर्मी नै थियो। फेरि खोँचहरू पार गरेर गर्मीमा पुगेको शव छिटो सड्छ," वस्ती भन्छन्।
उनका अनुसार शरीरको बाहिरी छाला सडिसक्दा पनि ट्याटू पहिचान गर्न सक्ने अवस्थामै रहन्छ।
"पहिले मासु कुहिन्छ। त्यसपछि छालाको एक पत्र जान्छ। त्यतिमा पनि ट्याटू जाँदैन, ट्याटू अलिकति भित्री छालासम्म खोपेको हुन्छ," उनले भने।
यद्यपि कतिपय ट्याटू अर्को व्यक्तिसँग पनि मिल्ने किसिमका हुने भएका कारण त्यसलाई मात्रै शव पहिचानको आधार बनाउन चाहिँ नहुने वस्ती बताउँछन्। यद्यपि नाम लेखिएका ट्याटू दोहोरिने सम्भावना कम हुने उनले बताए।
"वैज्ञानिक तरिकाले पहिचान गरिएको अहिलेसम्म छैन। डीएनएबाट पहिचान भयो भने त्यो वैज्ञानिक होला। एउटा ट्याटूको भरमा मात्रै पहिचान गर्नु जोखिम हो। त्यससँगै अरू कुरा पनि मेल खायो भने अलिकति ठिक हो," वस्तीले भने।
भोटेकोशी-त्रिशूली बाढीमा नेपाल र चीनको सीमावर्ती क्षेत्रदेखि धादिङसम्म हजारौँ मानिस परेको ठानिएको छ। तीमध्ये ५,२८५ जना अझैसम्म बेपत्ता भएको सरकारी तथ्याङ्कले देखाउँछ।
सरकारले पहिचान नभएका शवहरूको डीएनए नमुना सङ्कलन गरेर तिनलाई पछि उत्खनन गर्न मिल्ने गरी गाडिएको जनाएको छ।
शव पहिचानका लागि १,३०० भन्दा धेरै शव र २,००० भन्दा धेरै आफन्तको डीएनए नमुना सङ्कलन गरेर परीक्षणको प्रक्रिया अघि बढाइएको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।




















