तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
देशभित्र प्रतिबन्धपछि १३ हजार किमि टाढा एक भएको अफगान महिला फुटबल टोली
- Author, मजूबा नाउरोजी
- Role, बीबीसी न्यूज अफगान
- Published
- पढ्ने समय: ७ मिनेट
वास्तविक खेलअगाडिको नियमित अभ्यासका लागि फुटबल खेलाडीहरू लुगा फेर्ने कोठामा व्यस्त छन्। कोही खुट्टा तन्काइरहेका छन् त कोही बूट मिलाइरहेका छन्।
"सधैँजस्तै बलियो हुनू किनभने हामी अफगान महिलाहरूको प्रतिनिधित्व गर्दै छौँ," अफगान विमिन यूनाइटेडकी सदस्य तथा मिड्फील्डर फतिमा हैदरले भनिन्।
अफगानिस्तानको झण्डा टाँगिएको कोठामा ताली बज्यो र त्यहाँ राष्ट्रगान बज्यो। महिलाहरूले राष्ट्रगान गाइरहँदा केहीले भने आँखामा आँसु थाम्न सकिरहेका थिएनन्।
उनीहरू मैदानमा जानुभन्दा अगाडि प्रशिक्षक उनीहरूलाई प्रोत्साहन गर्दै थिए जब कि त्यसअघि धेरै वर्ष उनीहरूलाई फुटबल मैदान उनीहरूका लागि होइन भनेर भनिएको थियो।
अफगान खेलाडीहरूबाट छानिएका २३ जनाको समूह अहिले विदेशमा छ। उनीहरू तालिमका लागि न्यूजील्यान्ड पुगेका छन्। उनीहरूले यहाँ दुईवटा अनौपचारिक मैत्रीपूर्ण खेलमा कूक इल्यान्ड्सविरुद्ध खेल्ने छन्।
गत एप्रिलमा फुटबलको विश्वव्यापी निकाय फिफाले उनीहरूले भविष्यमा हुने आधिकारिक प्रतियोगिताहरूमा आफ्नो देशको प्रतिनिधित्व गर्न पाउने छन् भनेयता उनीहरू पहिलो पटक जम्मा भएका हुन्।
प्रतिबन्ध र फुकुवा
विगतमा भने उनीहरूले अफगानिस्तानको फुटबल महासङ्घबाट स्वीकृति लिनुपर्थ्यो। सन् २०२१ को अगस्टमा सत्तामा फर्किएको तालिबानको शासनमा यो सम्भव थिएन किनभने उनीहरूले सबै महिला र किशोरीहरूलाई माध्यमिक विद्यालय र विश्वविद्यालयदेखि विभिन्न पेसा र सङ्गठित खेलमा प्रतिबन्ध लगाएका छन्।
सन् २००७ मा बनेको देशको राष्ट्रिय महिला टोलीले खेल्न नपाउने भएको थियो। त्यसपछि खेलाडीहरू अस्ट्रेलिया, यूके र पोर्चुगलजस्ता देशहरूमा पुनर्वास कार्यक्रममा गए।
वर्षौँको अभियानपछि शरणार्थी खेलाडीहरूको एउटा टोली गठन गरियो, जसले पछि अफगान विमिन यूनाइटेडको रूप लियो। फिफाको निर्णयपछि अब उनीहरूले ओलिम्पिक्स र विश्वकपजस्ता अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा छनोट हुनका लागि प्रतिस्पर्धा गर्न पाउने छन्।
विगत बिर्सेर उत्साह
न्यूजील्यान्डमा भेला भएको यो टोली फेरि सँगै खेल्न पाउँदा निकै उत्साहित छ। विभिन्न देशमा शरणार्थीका रूपमा बसोबास गरिरहेका उनीहरूका लागि अभ्यास गर्न एकैठाउँ जुट्नका लागि आवश्यक यात्रासम्बन्धी कागजात मिलाउनु निकै कठिन भएको थियो।
ओक्ल्यान्डस्थित होटेलमा बसेकी मनोझ नूरीको कपाल छोटो छ। उनले टीशर्ट र घुँडासम्म आउने शर्ट्स लगाएकी छन्। आफ्नो यस्तो पहिरन र शैलीका कारण आफन्तहरूले आफूलाई पुरुषजस्तो देखिने भन्दै आलोचना गर्ने गरेको उनले बताइन्।
हाल २३ वर्षे उनले बीबीसी ग्लोबल विमिनसँग आफ्नो परिवारबारे कुरा गर्दै गर्दा उनको स्वर बिस्तारै भावुक बन्यो। केही क्षण उनी रोकिइन्, लामो सास फेरिन्, केही बेर नजर अन्तैतिर मोडिन् र आफ्नो कुरा अघि बढाइन्। उनका आँखाबाट आँसु नझरे पनि उनको भावनात्मक अवस्था स्पष्ट रूपमा देखिन्थ्यो।
नूरी अहिले अस्ट्रेलियामा बस्छिन् तर उनी काबुलका गल्लीहरूमा केटाहरूसँगै फुटबल खेलेर हुर्केकी हुन्।
टेलिभिजनमा महिला फुटबल हेरेपछि उनी अफगानिस्तानको स्थानीय क्लबमा जोडिएकी थिइन् र बिस्तारै आफ्नो दर्जा बढाउँदै गएकी थिइन्।
आफ्ना दाइले थाहा पाए आफूलाई खेल्न स्वीकृति नदेलान् भन्ने उनलाई डर थियो। त्यसैले उनले अनुहारमा मास्क लगाएर नचिनिने प्रयास गरिन्।
छ वर्षको अवधिमा उनले लीग उपाधि, राष्ट्रिय च्याम्पिअनशिप र व्यक्तिगत पुरस्कारहरूसमेत जितिन्।
अन्ततः उनको सफलता लुकाउन सम्भव भएन। सन् २०१८ तिर उनका अन्य खेलाडी साथीहरूले उनलाई टेलिभिजन अन्तर्वार्ताका लागि अनुहार नछोप्न मनाए। खेलका झलकहरूसँगै उनको अन्तर्वार्ता देखाइयो।
उनका दाइले देख्न सक्ने भय कायमै थियो। "मलाई एकदमै डर लाग्यो," उनले सम्झिइन्। "मैले सोचिरहेकी थिएँ, 'दाइले मलाई देख्नुहुने छ। उहाँलाई सबै थाहा हुने छ।'"
उनले परिवारले समाचार नहेरून् भनेर घरको बिजुली नै बन्द गरिदिइन्। तर केही समयमै यो कुरा उनका दाइले थाहा पाए र उनी निकै रिसाए।
"उहाँले चिच्याउँदै भन्नुभयो," नूरीले भनिन्, "'तिमीले त पढ्दै छु भनेकी थियौँ। शिक्षक वा डाक्टर बन्छु भनेकी थियौ। तर यो के हो?'"
यदि यो नछोडे आफूले परिवार छोड्ने धम्की दाइले दिएको उनले बताइन्। "मेरी आमा रुनुभयो। उहाँले भन्नुभयो, 'दाइले नै घरमा आर्थिक रूपमा सघाउँछ। हामी कसरी बाँच्ने?'"
केही समयका लागि नूरीले खेल्न छोडिन्, तर फेरि सुरु गरिन्। जर्मनीमा बस्ने उनका अर्का दाइले पैसा पठाएर आर्थिक रूपमा सघाएको उनले बताइन्।
सन् २०२१ मा तालिबानले शक्ति हातमा लिएपछि नूरीले देश छोड्ने निर्णय गरिन् तर त्यसअघि उनले आफ्ना सबै पदक र ट्रफीहरू घरको बगैँचामा गाडिन्।
चार वर्षभन्दा बढी समय भइसक्दा पनि ती पदकहरू त्यहीँ छन्।
"एक दिन म त्यहाँ जाने छु र ती पदकहरू निकाल्ने छु," हाँसेर उनले भनिन्।
"फुटबलकै कारण मैले आफ्नी आमा र दिदीलाई अफगानिस्तानबाट बाहिर निकाल्न सकेँ," उनले भनिन्।
उनकी बहिनीले अस्ट्रेलिया पुगेपछि फेरि पढाइ सुरु गर्न पाइन्। उनका दाइले उनीहरूलाई खेल खेल्न नदिए पनि पढून् भन्ने सधैँ चाहन्थे। "मेरो दाइले अहिले म खराब व्यक्ति होइन भन्ने कुरा बुझ्नुभएको होला भन्ने मलाई आश छ," नूरीले भनिन्।
कठिन समयको सहारा
ओक्ल्यान्डमा हुने खेलका लागि नूरी र उनका टोलीका सदस्यहरू तयारी गरिरहँदा धेरै खेलाडीहरू फुटबल नै आफ्नो देशको सबैभन्दा कठिन र अशान्त समय पार गर्न सघाउने आधार बनेको बताउँछन्।
"म फुटबल खेलाडी नभएको भने अहिले पनि अफगानिस्तानमै हुने थिएँ, पढ्न नपाउने वा आफ्नो भविष्य आफैँ रोज्न नपाउने लाखौँ किशोरीजस्तै म पनि हुने थिएँ," अस्ट्रेलियामा बस्ने मुरसल सदातले भनिन्।
अहिले २४ वर्षीया सदात फुटबल प्रशिक्षक, युवा सहजकर्ता तथा शरणार्थी, महिला अधिकार र मानवअधिकारको पक्षमा वकालत गर्ने अभियानकर्मीका रूपमा काम गरिरहेकी छन्।
अफगानिस्तानमा हुँदा उनको प्रायः आलोचना हुन्थ्यो, कहिलेकाहीँ दुर्व्यवहार पनि सहनुपर्थ्यो। खेल्ने महिलासँग कसैले विवाह गर्न नचाहने भन्ने कुरा सुनिने गरेको उनले बताइन्।
तर आज उनले अफगानिस्तानमै रहेका एक युवासँग विवाह गर्ने कुरा छिनिसकेकी छन्। "हुनेवाला श्रीमान् र उनको परिवार दुवैले मेरो काम र राष्ट्रिय टोलीमा मेरो स्थानप्रति पूर्ण समर्थन जनाएका छन्," उनले भनिन्।
"उहाँहरू मलाई भन्नुहुन्छ, 'तिमी हाम्रो परिवारकी गौरव हौ। तिमीलाई हाम्रो परिवारमा पाउँदा हामी अत्यन्त भाग्यमानी छौँ।'"
जब टोलीका खेलाडीहरू ओक्ल्यान्डमा परेको मुसलधारे वर्षाबीच कूक आइल्यान्ड्ससँग खेल्न मैदानमा उत्रिए, उनीहरूले मौसमको कुनै परबाह नगरी आफ्नो ऊर्जा र दृढ सङ्कल्पलाई खेलमा केन्द्रित गरे किनभने उनीहरूले आफ्नै देशमा योभन्दा धेरै कठिन परिस्थितिहरूको सामना गरिसकेका थिए।
डिफेन्डर नज्मा अरेफी किशोरी हुँदा ४५ डिग्री सेल्सिअसभन्दा बढी तापक्रममा अभ्यास गर्थिन्। कारण, महिलाहरूलाई प्रायः अभ्यासका लागि सबैभन्दा अनुपयुक्त समय दिइन्थ्यो।
तर पनि उनले हार मानिनन्।
बाइस वर्षीया अरेफीको निरन्तर मेहनतले अन्ततः हेरातस्थित उनको टोलीलाई राष्ट्रिय च्याम्पिअन बन्न मद्दत गर्यो।
"त्यो जितले हेरात सहरमा महिला खेलकुदप्रतिको दृष्टिकोण नै परिवर्तन गरिदियो," उनले भनिन्।
"हाम्रा तस्बिरहरू हेरातभरिका होर्डिङ बोर्डहरूमा राखिएका थिए," उनी सम्झिन्छिन्।
"मानिसहरू गर्व गर्थे। धेरै परिवारहरूले आफ्ना छोरीहरूलाई पनि फुटबल खेल्न अनुमति दिन थाले।"
तालिबानले सत्ता कब्जा गरेपछि उनी यूके गइन्। अहिले उत्तरी इङ्ग्ल्यान्डमा बसोबास गरिरहेकी छन्।
उनी आफूलाई बहिर्मुखी भनी व्याख्या गर्छिन् र अफगानिस्तानमा हुर्किरहँदा कल्पनै नगरेको अवसरहरू आफूले पाइरहेको बताउँछिन्।
उनी अहिले कलेजमा फौजदारी न्याय अध्ययन गर्दै छिन्, फुटबल खेल्छिन् र आफ्ना लागि निर्णय लिन स्वतन्त्र छिन्। "यो स्वतन्त्रता हुनु भनेको अद्भुत हो," उनले भनिन्।
आफ्नो देशमा भने अन्य महिलाहरूलाई स्वतन्त्र हुन नदिइएको विषय सम्झेर आफूलाई ग्लानि हुने उनी स्वीकार गर्छिन्।
"लाखौँ किशोरीहरूलाई पढ्ने वा आफ्नो सपना पच्छ्याउने मौका छैन। मलाई लाग्छ मैले आफूले पाएको अवसरहरूको सदुपयोग गर्नुपर्छ।
"कहिलेकाहीँ म आफूलाई धेरै नै दबावमा राख्छु," रुँदै उनले भनिन्।
आफू निर्वासनमा हुँदा आफ्नो टोलीलाई फिफाबाट मान्यता दिलाउन निरन्तर पहल गर्ने अफगान महिला फुटबल टोलीकी संस्थापक खालिदा पोपालप्रति उनी आभार व्यक्त गर्छिन्।
"तालिबानको स्वीकृतिबिना नै फिफाबाट मान्यता पाउनु इतिहास रच्नुजस्तै हो," उनले भनिन्।
उनका अनुसार आधिकारिक मान्यता पाउनुलाई उनी आफ्नो जीवनकै सबैभन्दा ठूलो उपलब्धि मान्छिन्।
तालिबानको प्रतिक्रिया
बीबीसीले तालिबानका खेलकुद निर्देशक अहमदुल्लाह वासिकसँग फिफाले अफगान महिला टोलीलाई दिएको समर्थनबारे प्रश्न गर्दा उनले टिप्पणी गर्न अस्वीकार गरे। तर उनले फिफाले अफगानिस्तान भ्रमण गरेर त्यहाँको फुटबललाई पुनः सहयोग गर्न थाले राम्रो हुने बताए।
तालिबान सत्तामा आएपछि फिफाले अधिकांश सहयोग स्थगित गरेको थियो। फिफाले यसअघि महिला खेलाडीहरूलाई खेल्न अनुमति नदिएसम्म सहयोग पुनः सुरु गर्न नसक्ने स्पष्ट गरिसकेको छ।
ओक्ल्यान्डमा भएको खेल अफगान टोलीका लागि कठिन साबित भयो। पहिलो खेलमा कूक आइल्यान्ड्सले एक गोल गर्दै १-० को जित हात पार्यो। तीन दिनपछि भएको दोस्रो खेलमा पनि अफगान टोलीले सक्दो प्रयास गरे पनि कूक आइल्यान्ड्सले ३-० ले विजय हासिल गर्यो।
तर खेलाडीहरूका लागि यी दुई हारभन्दा पनि यी खेलहरूको अर्थ धेरै ठूलो थियो।
यी खेलहरूले उनीहरूलाई फेरि मैदानमा फर्काएका थिए र निर्वासन, परिवारसँगको बिछोड तथा वर्षौँको अनिश्चितताबीच पनि अफगानिस्तानका महिला फुटबल खेलाडीहरू कहिल्यै हराएनन्, आफ्नो अस्तित्व कायम राखे भन्ने प्रमाणित गरिदिएको थियो।
- यो बीबीसी विश्व सेवाको वीमिन सिरिजको एउटा हिस्सा जहाँ विश्वभरिका नभनिएका र महत्त्वपूर्ण कथाहरू भनिन्छ
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।