के वैकल्पिक मार्गहरूले खाडी क्षेत्रबाट हुने तेल र ग्यासको आपूर्ति जारी राख्न सक्छन्?

ग्राफिक इमेज

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, वैकल्पिक मार्गहरू भए पनि स्ट्रेट अफ होर्मुजको प्रतिस्पर्धा कसैले गर्न नसक्ने विज्ञहरूले बताएका छन्
    • Author, लुइस बरूचो
    • Role, बीबीसी विश्व सेवा
  • Published
  • पढ्ने समय: ६ मिनेट

इरान र अमेरिकाबीच तनाव फेरि चर्किएपछि विश्वकै सबैभन्दा महत्त्वपूर्ण समुद्री व्यापारिक जलक्षेत्रमध्ये एउटा स्ट्रेट अफ होर्मुज पुन: एकपटक विश्वको ध्यानको केन्द्रमा परेको छ।

स्थायी रूपमा द्वन्द्व अन्त्य गर्ने उद्देश्यसहितको अन्तरिम सम्झौतामा हस्ताक्षर गरेको केवल एक महिनापछि दुवै देशले फेरि एकअर्का विरुद्ध आक्रमण गर्न थालेका छन्। यसरी बढेको तनावका कारण अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य पनि उकालो लागेको छ।

यदि 'स्ट्रेट अफ होर्मुज'बाट पानीजहाज सञ्चालन अत्यधिक जोखिमपूर्ण बन्यो भने खाडी क्षेत्रका तेल तथा ग्यास निर्यातकर्ताले आफ्ना उत्पादन विश्व बजारसम्म पुर्‍याउन अन्य वैकल्पिक जलमार्ग प्रयोग गर्न सक्लान् त?

विज्ञहरूका अनुसार केही वैकल्पिक मार्गहरू उपलब्ध भए पनि हालको अवस्थामा स्ट्रेट अफ होर्मुजको रणनीतिक महत्त्व र क्षमता पूर्ण रूपमा प्रतिस्थापन गर्नसक्ने कुनै पनि विकल्प छैन।

होर्मुजले किन अर्थ राख्छ

इरानको झण्डा भित्तामा र दुई महिला बाटोमा हिँड्दै

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, स्ट्रेट अफ होर्मुज हुँदै पार हुने पानीजहाजहरूमा इरानले गरेका आक्रमणका कारण तेलको मूल्य बढेको बताइन्छ

इरान र ओमानबीचको साँघुरो समुद्री क्षेत्र 'स्ट्रेट अफ होर्मुज' खाडी क्षेत्रबाट उत्पादन हुने अधिकांश तेल र ग्यास निर्यातको प्रमुख मार्गका रूपमा अझै कायम छ। यसको मुख्य कारण यसको विशाल क्षमता, लचकता र तुलनात्मक रूपमा कम लागत हो।

पाइपलाइन सञ्चालनको तुलनामा तेलवाहक ट्याङ्करहरूले कम खर्चमा धेरै परिमाणमा तेल ढुवानी गर्न सक्छन्। पाइपलाइन निर्माण र सञ्चालनका लागि पूर्वाधार तथा मर्मतसम्भारमा ठूलो लगानी आवश्यक पर्छ।

अन्तर्राष्ट्रिय ऊर्जा निकाय (आईईए)का अनुसार स्ट्रेट अफ होर्मुजबाट दैनिक करिब दुई करोड ब्यारेल तेल तथा पेट्रोलियमजन्य पदार्थ ओसारपसार हुन्छ जुन विश्वको समुद्री मार्गबाट हुने कुल तेल व्यापारको करिब एक चौथाइ हो। तीमध्ये करिब ८० प्रतिशत तेल एसियाली बजारतर्फ पठाइन्छ। यही जलमार्गबाट विश्वको कुल तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) निर्यातको झन्डै पाँचौँ भाग पनि ढुवानी हुन्छ।

एलएनजीका हकमा स्ट्रेट अफ होर्मुजमाथिको निर्भरता अझ बढी छ। विश्वका सबैभन्दा ठूला एलएनजी निर्यातकर्तामध्ये एउटा कतार अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउन यही मार्गमा भर पर्छ। अहिले कतारको एलएनजी निर्यातका लागि यसलाई प्रतिस्थापन गर्नसक्ने ठूलो स्तरको कुनै वैकल्पिक मार्ग उपलब्ध छैन।

विद्यमान वैकल्पिक मार्गहरू

नक्सा

स्ट्रेट अफ होर्मुजले इरानलाई विश्व ऊर्जा बजारमा उल्लेखनीय प्रभाव पार्ने क्षमता दिने भएकाले खाडी क्षेत्रका तेल उत्पादक राष्ट्रहरूले लामो समयदेखि यो जलमार्गमा निर्भर नरही तेल ढुवानी गर्न सकिने पूर्वाधारमा लगानी गर्दै आएका छन्।

यी मध्येको सबैभन्दा ठूलो परियोजना साउदी अरेबियाको इस्टवेस्ट पाइपलाइन 'पेट्रोलाइन' हो। करिब १२०० किलोमिटर लामो यो पाइपाइनले साउदी अरेबियाको पूर्वी तेल क्षेत्रलाई रेड सीस्थित यान्बु निर्यात टर्मिनलसँग जोड्छ।

यो पाइपलाइन सन् १९८० को दशकमा इरान-इराक युद्धका क्रममा दुवै देशले खाडी क्षेत्रमा तेलवाहक ट्याङ्कर तथा अन्य व्यापारिक जहाजलाई निशाना बनाएपछि निर्माण गरिएको थियो। सन् २०१९ मा यसको क्षमता बढाएर आपत्कालीन अवस्थामा दैनिक ७० लाख ब्यारेल तेल ढुवानी गर्नसक्ने बनाइएको थियो।

संयुक्त अरब एमिरेट्स यूएईले पनि आफ्नो वैकल्पिक मार्ग बनाएको छ। ४०६ किलोमिटर लामो आबुधाबी क्रुड आयल पाइपलाइनले आबुधाबीको हब्शान तेल क्षेत्रलाई ओमानको खाडीस्थित फुजैराह बन्दरगाहसँग जोड्छ। यहाँबाट स्ट्रेट अफ होर्मुज प्रयोग नगरी नै तेल निर्यात गर्न सकिन्छ।

फाइनान्सियल टाइम्सले यो विषयमा जानकार स्रोतहरूलाई उद्द्धृत गर्दै लेखे अनुसार दुबईस्थित बन्दरगाह सञ्चालक डीपी वर्ल्डले फुजैराहमा नयाँ बहुउद्देश्यीय बन्दरगाह निर्माण तथा हालको बन्दरगाहमा नयाँ टर्मिलन थप्ने विषयमा छलफल गरिरहेको छ। यी परियोजनाको उद्देश्य दुबईको मुख्य व्यापारिक केन्द्र जेबेल अलीमाथिको निर्भरता घटाउनुका साथै स्ट्रेट अफ होर्मुजबाहिरको समुद्री मार्गमा पहुँच विस्तार गर्नु हो।

मुख्य चुनौती भनेको क्षमताको हो। वैकल्पिक मार्गहरू भए पनि अन्तर्राष्ट्रिय ऊर्जा केन्द्र आईईएका अनुसार उनीहरूले दैनिक ३५ लाखदेखि ५५ लाख ब्यारेल तेलमात्रै अन्यत्र पठाउन सक्छन्। यो स्ट्रेट अफ होर्मुजबाट सामान्यतया दैनिक ओसारिने करिब २ करोड ब्यारेल तेलको तुलनामा निकै कम हो।

"यो अझै पनि पर्याप्त होइन," किङ्स कलेज लन्डनका अन्तर्राष्ट्रिय सुरक्षा तथा मध्यपूर्व अध्ययनका सहायक प्राध्यापक डेबिड बी रोबर्ट्सले हालै प्रकाशित एउटा लेखमा लेखेका छन्।

वैकल्पिक मार्गहरू भए पनि व्यवहारिक सीमितताले तिनको उपयोगिता घटाउँछ। उदाहरणका लागि रोबर्ट्सका अनुसार यान्बुका तेल लोड गर्ने टर्मिनलहरू "यति तेल यति छोटो समयमा ढुवानी गर्न" डिजाइन गरिएका थिएनन्।

यी दुवै मार्ग हमलाको निशानामा पनि परेका छन्। गत मार्च महिनामा यूएईले इरानमाथि फुजैराहका तेल भण्डारण केन्द्रमा आक्रमण गरी ट्याङ्कहरूमा आगो लगाएको र त्यसका कारण तेल 'लोड' गर्ने काम रोक्नुपरेको आरोप लगाएको थियो।

व्यवहारमा भने अन्तर्राष्ट्रिय प्रतिबन्ध र निर्यात टर्मिनलको पूर्वाधार अझै पूर्ण रूपमा तयार नभएकाले यसको वास्तविक ढुवानी क्षमता लक्ष्यअनुसार उपयोग हुनसकेको छैन।

निर्यातका लागि भावी मार्गहरू

रातिको दृश्य

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, स्ट्रेट अफ होर्मुज नजिकैको बन्दरगाहबाट धुवाँ उडिरहेको देखिने सामाजिक सञ्जालबाट निकालिएको एउटा तस्बिर

स्ट्रेट अफ होर्मुजमाथिको निर्भरता घटाउन नयाँ निर्यात मार्गहरूको सम्भावनाबारे पनि विचार भइरहेको छ।

त्यसमध्येको एउटा विकल्प किर्कुक-जेहान पाइपलाइन हो। करिब ९६० किलोमिटर लामो यो पाइपलाइनले उत्तरी इराकको किर्कुक क्षेत्रबाट तेल टर्कीको भूमध्यसागरीय बन्दरगाह जेहानसम्म पुर्‍याउँछ।

उक्त पाइपलाइन करिब साढे दुई वर्ष बन्द रहेपछि सन् २०२५ को सेप्टेम्बरमा पुन: सञ्चालनमा आएको थियो। सन् २०२६ को मार्च महिनासम्म आइपुग्दा यसमार्फत दैनिक करिब २ लाख ५० हजार ब्यारेल तेल ढुवानी हुन थालेको थियो। यसले इराकलाई वैकल्पिक निर्यात मार्ग उपलब्ध गराएको भए पनि यसको क्षमता देशको कुल तेल निर्यातको तुलनामा अझै निकै सानो छ।

इराकले दैनिक करिब ३४ लाख ब्यारेल कच्चा तेल निर्यात गर्छ जसमध्ये करिब ९५ प्रतिशत तेल दक्षिणी बन्दरगाह बसरा हुँदै स्ट्रेट अफ होर्मुज पार गरेर विश्वबजारमा पुग्छ।

अर्को सम्भावित विकल्प भनेको किर्कुक-बानियास पाइपलाइन पुन: सञ्चालनमा ल्याउनु हो। यसबाट इराकी तेल खाडी क्षेत्र हुँदै सिरियाको भूमध्यसागर तटसम्म पुर्‍याउन सकिनेछ।

महत्त्वाकांक्षी प्रस्तावमध्ये एउटा फोर सिज प्रोजेक्ट हो। यो योजनाअन्तर्गत सिरिया र टर्की हुँदै भूमध्यसागर, ब्ल्याक सी, क्यास्पियन सी र अरेबियन गल्फलाई जोड्ने यातायात तथा ऊर्जा सञ्जाल निर्माण गर्ने प्रस्ताव गरिएको छ।

बसरा-अकाबा पाइपलाइन परियोजनालाई पुन: अघि बढाउन पनि आवाज उठ्न थालेको छ। पहिलोपटक सन् १९८३मा प्रस्ताव गरिएको यो परियोजनलाले इराकी तेललाई जोर्डनको रेड सी बन्दरगाहसम्म पुर्‍याउने लक्ष्य राखेको छ। तर राजनीतिक विवाद र वित्तिय चुनौतीका कारण यसको विकास पटकपटक रोकिँदै आएको छ।

समर्थकहरूका अनुसार यस्ता वैकल्पिक मार्गले खाडी क्षेत्रमा उत्पन्न हुने अवरोधको प्रभाव कम गर्नेछन् र विश्व ऊर्जा आपूर्तिमाथि इरानको प्रभाव पनि कमजोर बनाउनेछन्।

तर सिङ्गापुरस्थित एस राजारत्नम स्कूल अफ इन्टरन्याश्नल स्टडीजका वरिष्ठ विश्लेषक हुजेइर इजेकिएल जुलहिशमले हालै प्रकाशित एउटा अध्ययनमा यस्ता परियोजनाले नयाँ प्रकारको निर्भरता सिर्जना गर्नसक्ने चेतावनी दिएका छन्।

"यी मार्गहरूले ऊर्जा उत्पादन नगर्ने तथा ट्रान्जिट देशहरूलाई ऊर्जा व्यापारमाथि अझ बढी नियन्त्रण दिनेछन्," उनले लेखेका छन्।

उनका अनुसार यसको परिणामस्वरुप टर्कीजस्ता देशहरूले ऊर्जा व्यापारमा अझ ठूलो रणनीतिक प्रभाव हासिल गर्न सक्छन्।

सुरक्षा पनि अझै ठूलो चुनौतीका रूपमा कायम छ। जुलहिशमका अनुसार इराक वा सिरिया हुँदै जाने कुनै पनि मार्गमा क्षेत्रीय अस्थिरता, सशस्त्र समूहरूको गतिविधि तथा ऊर्जा पूर्वाधारमाथि हुनसक्ने आक्रमण जस्ता जोखिम कायमै रहन्छ।

होर्मुजभन्दा पर

कार्गो पानीजहाज र ट्याङ्करहरू

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, स्ट्रेट अफ होर्मुज विश्वकै एउटा महत्त्वपूर्ण जलमार्ग हो

खाडी क्षेत्रका तेल तथा ग्यास निर्यातकर्ताले स्ट्रेट अफ होर्मुजमाथिको निर्भरता घटाए पनि ऊर्जा ढुवानीका वैकल्पिक मार्गसँग जोडिएका भूराजनीतिक जोखिमबाट भने उनीहरू पूर्ण रूपमा मुक्त हुनसक्ने देखिँदैन।

एउटा उदाहरण भनेको इजिप्टको एसयूएमईडी पाइपलाइन हो। यसले रेड सीलाई भूमध्यसागरसँग जोड्छ र स्वेज क्यानल प्रयोग नगरी युरोपतर्फ तेल निर्यात गर्ने वैकल्पिक मार्ग उपलब्ध गराउँछ। यो पाइपलाइनबाट दैनिक २५ लाखदेखि २८ लाख ब्यारेल तेल ढुवानी गर्न सकिन्छ।

रेड सी र बाब अल-मान्डेब स्ट्रेटमा व्यावसायिक पानीजहाजमाथि हुथी विद्रोहीहरूले गरेका आक्रमणले स्वेज मार्गसँग जोडिएको सम्पूर्ण यातायात प्रणालीमाथीको जोखिमलाई देखाएको छ।

अमेरिकाले आक्रामक गतिविधि अन्त्य नगरेसम्म स्ट्रेट अफ होर्मुज बन्द रहने बुधवार इरानको रिभोलुसनरी गार्ड्सले जनाएको थियो। साथै, खाडी क्षेत्रका अन्य तेल तथा ग्यास निर्यात गर्ने मार्गहरूमा पनि अवरोध पुर्‍याउने चेतावनी उसले दिएको छ।

होर्मुजमा कम निर्भर?

यूकेस्थित थिङ्क ट्याङ्क रोएल युनाइटेड सर्भिसेज इन्स्टिच्यूटका मध्यपूर्व मामिलाका विशेषज्ञ एच ए हेल्यरका अनुसार खाडी मुलुकहरू स्ट्रेट अफ होर्मुजको आफ्नो निर्भरता घटाउन झन् दृढ बन्दै गएका छन्।

"गल्फ अरब राष्ट्रहरूले भविष्यमा स्ट्रेट अफ होर्मुजसँग जोडिएको जोखिमलाई सकेसम्म कम गर्ने प्रयास गर्नेछन्।"

हेल्यरका अनुसार विगतजस्तो गरी स्ट्रेट अफ होर्मुजमाथि भर पर्न अब सम्भव नरहेकाले क्षेत्रीय सरकारहरूले वैकल्पिक निर्यात मार्गहरूको विकासलाई निरन्तरता दिने सम्भावना धेरै छ। तर ती वैकल्पिक मार्गहरूले स्ट्रेट अफ होर्मुजलाई पूर्ण रूपमा प्रतिस्थापन गर्न भने नसक्ने उनको विश्वास छ।

"एउटा मार्गलाई अर्कोले पूर्ण रूपमा विस्थापन गर्ने अवस्था आउने छैन।"

देशहरूले कुनै पनि क्षेत्रीय शक्तिमाथिको निर्भरता घटाउन सकेसम्म वैकल्पिक मार्ग अपनाउने प्रयास गर्ने भएकाले भविष्यमा स्ट्रेट अफ होर्मुजको रणनीतिक रूपमा "महत्त्व बढ्नुको सट्टा घट्दै जाने" उनी ठान्छन्।

"यो क्षेत्रका देशहरू इजरेलको वर्चस्व चाहँदैनन् तर उनीहरू इरानको प्रभुत्वमा रहन पनि इच्छुक छैनन्।"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।