वर्षालाई असर पार्ने 'एल निन्यो' अझ सशक्त हुने चेतावनी, नेपालमा पनि चिन्ता

तस्बिर स्रोत, RSS
- Author, सञ्जय ढकाल
- Role, बीबीसी न्यूज नेपाली
- Published
- पढ्ने समय: ५ मिनेट
अहिले यो नेपालमा यो वर्षको मनसुन बीचतिर पुगेको छ। अहिलेसम्म मनसुनमा सरदर हुनेभन्दा आधा नै परिमाणमा वर्षा भएको अधिकारीहरूले बताएका छन्।
विश्व मौसम सङ्गठन (डब्ल्यूएमओ)ले अगस्टदेखि अक्टोबरसम्म 'एल निन्यो' भनिने मौसम प्रणाली अझ बलियो बन्ने र त्यसले उच्च तापक्रमका साथै वर्षाको प्रवृत्तिमा परिवर्तन ल्याउने भनेर हालै ताजा प्रक्षेपण गरेको छ।
त्यसले नेपालमा अब मनसुनको बाँकी अवधिमा कत्तिको वर्षा होला भन्ने चिन्ता बढेको छ।
गत वर्ष यही समयताका तराई-मधेश क्षेत्रमा कम पानी परेर रोपाईँ मै असर परेको विवरण आएको थियो। यो वर्ष त झन् मनसुन सुरु हुनुभन्दा अगाडि नै एल निन्योका कारण गर्मी बढ्ने तथा कम वर्षा हुने चेतावनी दिइएको थियो
नेपालको जल तथा मौसम विज्ञान विभागले पनि यसपालिको मनसुनमा सरदरभन्दा कम पानी पर्ने अनि तापक्रम चाहिँ बढ्ने नै प्रक्षेपण गरेको थियो। तर सुरुका दुई महिना जुन-जुलाईमा 'राम्रै वर्षा' भएको आँकडाहरूले देखाएका छन्।
अहिलेसम्म कति पर्यो पानी?
सामान्यतया नेपालमा मनसुन प्रणाली जुन १३ मा भित्रिने र अक्टोबर २ मा बाहिरिने गर्छ।
यो वर्ष ६ दिन ढिलो गरेर जुन १९ मा मनसुन भित्रियो। मनसुन सुरु हुनुभन्दा अगाडि 'प्री-मनसुन'को अवधिमा पनि खास गरी पहाडी भूभागमा राम्रै वर्षा भएको बताइएको थियो।
अगस्ट १२ सम्म (जुन १ देखि) आइपुग्दा नेपालभरि औसत ७५४ मिलिमिटर पानी परिसकेको मौसमविद् सुदर्शन हुमागाईँले जानकारी दिए।
"त्यो भनेको सरदर उही अवधिमा पर्ने औसत वर्षाको ८०.५ प्रतिशतजति हो," उनले भने। अर्थात् यी दुई महिनामा सरदरभन्दा केही कम परिमाणमा वर्षा भएको छ।
नेपालमा मनसुन भरिमा करिब १,५०० मिलिमिटर पानी पर्छ। अगस्ट १२ सम्मको आँकडा हेर्दा करिब ५१ प्रतिशत परिमाणमा पानी परिसकेको उनले बताए।
तर अब बाँकी अवधिमा सशक्त बन्ने बताइएको एल निन्योले कस्तो प्रभाव पार्ला भन्ने अधिकारीहरूको चिन्ता छ।
एल निन्यो प्रभाव

तस्बिर स्रोत, RSS
"अहिलेसम्म हेर्दा त पानी राम्रै परिराखेको छ। एल निन्यो प्रणाली विकसित हुँदा विगतमा हामीकहाँ कम पानी पर्थ्यो। तर त्यसो भन्दै सधैँ त्यस्तै हुन्छ भन्ने त होइन," जल तथा मौसम विज्ञान विभागकी प्रवक्ता विभूति पोखरेलले बताइन्।
पहाडी क्षेत्रमा मनसुनका साथै पश्चिमी वायुको प्रभावले पानी राम्रै परिरहेको उनले बताइन्। उनका अनुसार तराईमा चाहिँ पानी कम परेको छ।
"अब अगस्टदेखि अक्टोबरसम्म एल निन्यो थप सशक्त हुने भनिएको छ तर हामीले के याद गर्नुपर्छ भने यो मौसम निर्धारण गर्ने एउटा महत्त्वपूर्ण आधार भए पनि त्यसका कारणले सधैँ सुक्खा नै हुन्छ भन्ने छैन।"
"यसपालि ठूलो मनसुनको 'ट्रफ' माथि आउने र देशभरि वर्षा हुने देखिएको छैन। तर पहाडी क्षेत्रमा पानी परिराखेकै छ।"
एल निन्यो थप सशक्त हुने आगामी महिनाहरूमा नेपालमा कस्तो प्रभाव पार्ला भनेर अहिले नै ठ्याक्कै भन्न चाहिँ कठिन हुने अधिकारीहरू बताउँछन्।
यो साताको सुरुमा पानी रोकिएर घमाइलो र चर्को गर्मीको अवस्था निम्तिएको थियो। तर आगामी दिनमा फेरि वर्षा हुने अवस्था देखिएको पोखरेलले बताइन्।
विश्व मौसम सङ्गठनको चेतावनी
सामान्यतया प्रशान्त महासागरको मध्यक्षेत्रमा पानीको तापक्रम केही तात्तिँदा त्यसले एल निन्यो भन्ने अवस्था सिर्जना हुने गर्छ।
उक्त प्रणालीले नेपाल र समग्र दक्षिण एशियामा मनसुनलाई कमजोर पारिदिन सक्ने प्रक्षेपण गरिएको छ।
कैयौँ देशका मौसम निकायहरूले गरेको प्रक्षेपणअनुसार यो वर्षको एल निन्यो अहिलेसम्मकै शक्तिशाली हुन सक्ने बताइएको थियो। त्यसलाई 'सूपर एल निन्यो' पनि भनियो।
केही दिन अगाडि संयुक्त राष्ट्र सङ्घको निकाय डब्ल्यूएमओले एउटा विज्ञप्ति जारी गर्दै अगस्टदेखि अक्टोबर महिनामा यो प्रणाली सशक्त हुने चेतावनी दिएको हो।
"एल निन्यो हाम्रो दैलोमा मात्र आइपुगेको होइन, यो त हाम्रो घरभित्र आइसक्यो र यसले गर्मी बढाउँदै छ। यो त केवल थालनी हो। एल निन्यो सशक्त हुँदै छ - यसले (चर्को गर्मी गराउने) हीट डोम, भीषण डढेलो तथा कीर्तिमानको तहमा तातेका समुद्रहरूको अवस्था झन् खराब गराउने छ," संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरजले भने।
एन निन्यो मौसम प्रणाली सामान्यतया प्रत्येक दुईदेखि सात वर्षमा देखा परिरहन्छ। प्रायजसो मार्च र जुनको बीचमा सुरु भएर यो प्रणाली नौदेखि १२ महिना सक्रिय रहन्छ।
आगामी महिनाहरूमा यो प्रणाली सशक्त भई भारतीय उपमहाद्वीपको क्षेत्रमा तापक्रम औसतभन्दा धेरै हुने प्रबल सम्भावना रहेको डब्ल्यूएमओले जनाएको छ।
वर्षाको प्रवृत्तिको हकमा यसले विश्वको कुनै ठाउँमा औसतभन्दा धेरै अनि कुनै ठाउँमा कम पानी पार्ने भनिएको छ।
"भारतीय उपमहाद्वीपको क्षेत्रमा औसतभन्दा सुक्खा अवस्था आइपर्ने धेरै सम्भावना छ," उसले भनेको छ।
नेपालमा कति रोपाइँ भयो?

तस्बिर स्रोत, RSS
कुल खेतीयोग्य जमिनको करिब एकतिहाइ भागमा अझै सिँचाइ पुग्न नसकेकाले नेपालको कृषि अर्थतन्त्रका निम्ति आकासेपानीको अत्यधिक महत्त्व छ।
यसपालि मनसुनभन्दा अगाडिको समयमा निकै वर्षा भएको र मनसुनका सुरुका दुई महिनामा राम्रै वर्षा भएकाले साउनको अन्तिम सातासम्म आइपुग्दा १३ लाख १६ हजार हेक्टर अर्थात् कुल धानखेती हुने क्षेत्रफलको ९६ प्रतिशत भूभागमा रोपाइँ भइसकेको कृषि विभागले जनाएको छ।
सुदूरपश्चिम प्रदेशमा शतप्रतिशत अनि कोशी प्रदेशमा ९३.६९ तथा मधेश प्रदेशमा ९४.६५ प्रतिशत रोपाइँ सकिएको जनाइएको छ।
गत वर्ष यही अवधिमा औसत ९१ प्रतिशतमात्र रोपाइँ भएको थियो।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।




















