इजरेल र हमासबीच 'शान्ति सम्झौता', सोमवारदेखि बन्धक रिहा हुने आशा

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहू
तस्बिरको क्याप्शन, ट्रम्प र नेतन्याहूले गत साता गाजा युद्ध अन्त्य गर्नेबारे नयाँ योजनामा आफूहरू सहमत भएको बताएका थिए
Published
पढ्ने समय: ३ मिनेट

इजरेल र हमासबीच गाजा युद्ध रोक्नेबारे सहमति भएको दुवै पक्षले पुष्टि गरेका छन्।

युद्ध अन्त्य गर्न आफू सहमत भएको जनाउँदै हमासले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र अन्तर्राष्ट्रिय समुदायलाई इजरेललाई यो सम्झौताको अनिवार्य कार्यान्वयन गर्न लगाउन आग्रह गरेको छ।

इजरेलका प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले यसलाई "इजरेलको महान् दिन" भनेका छन् र हमासद्वारा बन्धक बनाइएकाहरू छिट्टै रिहा हुने आशा गरेका छन्। बिहीवार बस्ने इजरेली मन्त्रिपरिषद् बैठकले सम्झौता अनुमोदन गरेपछि इजरेलले यसको कार्यान्वयन सुरु गर्ने बताइएको छ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलगायतको अग्रसरतामा विभिन्न पक्षका प्रतिनिधि र मध्यस्थकर्ताहरूबीच इजिप्टमा भएको वार्तामा यस्तो सहमति भएको हो।

इजरेल र हमासको घोषणाअघि नै ट्रम्पले सामाजिक सञ्जालमा शान्ति सम्झौता भएको दाबी गरेका थिए।

ह्वाइट हाउसका एक वरिष्ठ अधिकारीले सीबीएस न्यूजलाई बताएअनुसार इजरेली मन्त्रिपरिषद्‌ले सम्झौता अनुमोदन गरेको २४ घण्टामा उसका सेनाहरू गाजाबाट फिर्ता हुन सक्ने छन् भने त्यसको ७२ घण्टाभित्र इजरेली बन्धकहरूको रिहाइ सुरु हुने सम्भावना छ।

यसअनुसार आगामी सोमवारदेखि हमासद्वारा बन्धक बनाइएकाहरू रिहा हुन सक्ने तर हमासले सम्भव भएसम्म अझ छिटो गर्ने बताएको ती अधिकारीले जानकारी दिए।

गाजा युद्ध अन्त्य गर्न इजिप्टमा शान्तिवार्ता
तस्बिरको क्याप्शन, अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलगायतको अग्रसरतामा विभिन्न पक्षका प्रतिनिधि र मध्यस्थकर्ताहरूबीच इजिप्टमा भएको वार्तामा यस्तो सहमति भएको हो

राष्ट्रसङ्घको भनाइ

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनिओ गुटेरसले उक्त सहमतिको पूर्ण कार्यान्वयनमा राष्ट्रसङ्घले सहयोग गर्ने बताएका छन्।

साथै गाजा पुनर्निर्माणका लागि सहयोग गर्ने उल्लेख गर्दै उनले त्यस क्षेत्रमा मानवीय सहायता पनि बढाउने जानकारी दिए।

उनले सहमति कार्यान्वयन गर्न सम्बद्ध सबै पक्षलाई आग्रह गरेका छन्।

यसैबीच गाजामा रहेका प्यालेस्टिनीहरूले सम्झौताको स्वागतमा उत्सव मनाउन थालेको विवरण प्राप्त भएको छ।

विपिन जोशी रिहा हुने आशा

विपिन जोशी
तस्बिरको क्याप्शन, फाइल तस्बिर

गाजा युद्ध सुरु भएकै दिनदेखि इजरेलबाट सम्पर्कविहीन रहेका नेपालका एक विद्यार्थी विपिन जोशी पनि हमासको नियन्त्रणमा रहेको ठानिएको छ।

यसै साता बीबीसीका धनगढी संवाददाता हिक्मतबहादुर रावलसँग कुरा गर्दै उनका बाबु महानन्द जोशीले युद्धविरामको चर्चासँगै आफ्नो छोरा छिट्टै सम्पर्कमा आउने आफूले आशा गरेको बताएका थिए।

सन् २०२३ अक्टोबर ७ मा हमासले इजरेलमाथि आक्रमण गर्दा विपिन जोशीका १० जना सहपाठीको मृत्यु भएको थियो।

मृत्यु हुने सबै सुदूरपश्चिम विश्वविद्यालयको कृषिविज्ञान सङ्कायमा अध्ययनका क्रममा 'लर्न एन्ड अर्न' कार्यक्रमअन्तर्गत इजरेल पुगेका विद्यार्थी थिए।

उनी गाजाको सीमानजिकै एउटा कृषि फर्ममा कार्यरत थिए।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।