विश्वकपमा लाखौँ डलरका प्याकेजले देखाउँछ कि 'पैसा भयो भने जे पनि किन्न पाइन्छ'

तस्बिर स्रोत, Jordan Teller/ISI Photos via Getty Images
- Author, एलेसान्ड्रा कोरेआ
- Role, बीबीसी न्यूज ब्रजिल
- Published
- पढ्ने समय: ६ मिनेट
आगामी महिना विश्वकप फुटबल विजेता टोलीले ट्रफी उचालिरहँदा उक्त समारोहमा मैदानमै पुग्ने पहुँचसहित ठ्याक्कै मध्य भागको छ वटा पहिलो पङ्क्तिका टिकट ४० लाख डलर (झन्डै ६० करोड ४४ लाख रुपैयाँ) मा २४ घण्टाभन्दा कम समयमा बिक्री भएका छन्।
यो नाइट्सब्रिज सर्कलले बिक्री गरेको अति विलासी प्याकेजको हिस्सा हो। अति धनाढ्य ग्राहकहरूलाई उक्त सर्कलले सहयोगीसहितको विशिष्ट सेवा उपलब्ध गराउँछ।
यो अवसरलाई प्रतियोगिताको "इतिहासकै पहिलो" भनिएको छ। आमन्त्रित ग्राहकहरूलाई मात्रै यसरी प्रस्ताव गरिने र मूल्याङ्कन गरेर मात्रै त्यसलाई स्वीकार गरिने जनाइएको छ।
बीबीसी न्यूज ब्रजिलसँग कुरा गर्दै नाइट्सब्रिज सर्कलका अध्यक्ष स्टुआर्ट मक्नीलले भने, "घोषणा गरिएको २४ घण्टाभित्रै यो प्याकेज हाम्रा एक जना सदस्यलाई बिक्री गरिएको थियो।"
विश्वकपमा सहभागिता जनाउने इच्छा व्यक्त गरेका अति धनाढ्यहरूलाई विलासी प्याकेज बेच्ने कैयौँ कम्पनीमध्ये नाइट्सब्रिज सर्कल पनि एउटा हो।
यस पटक पहिलो पटक सबैभन्दा धेरै ४८ देशहरू विश्वकपमा सहभागी भइरहेका छन् र प्रतियोगिता संयुक्त राज्य अमेरिका, मेक्सिको र क्यानडामा भइरहेको छ। विभिन्न १६ वटा सहरमा १०४ वटा खेलहरू भइरहेका छन्।
नजिकबाट विश्वकपलाई पछ्याइरहेका धेरै समर्थकहरूको लामो र राम्रो योजनासहितको तयारीलाई कैयौँ जटिलताहरूले बाधा पुर्याएका छन्। उच्च टिकट मूल्य, यातायत खर्च र प्रवेशाज्ञा प्राप्त गर्ने कठिनाइजस्ता समस्याहरू देखा परेका छन्।

तस्बिर स्रोत, Jetlinerimages via Getty Images
तर उक्त सानो सङ्ख्याका समर्थकहरूले अरूभन्दा पूर्ण फरक अनुभव गर्ने छन्। उनीहरू निजी जेट विमानबाट प्रतियोगिता आयोजना हुने सहरमा आइपुग्ने छन् र रङ्गशालासम्म हेलिकप्टर वा लिमजीनमा जाने छन् र अन्तिम समयमा निर्णय लिएको खण्डमा पनि भीआईपी क्षेत्रसम्म उनीहरूको पहुँच सुनिश्चित हुने छ।
"म यो (विलासी) बजारमा २२ वर्षदेखि छु र यो विश्वकपमा मेरा लागि सबैभन्दा आश्चर्य पार्ने कुरा के हो भने पैसा भयो भने व्यावहारिक रूपमा हरेक चिज किन्न पाइन्छ। यो मेरो लागि नयाँ कुरा हो," मक्नीलले भने।
उनी र विलासिताको क्षेत्रमा काम गर्ने अन्य विज्ञहरू विश्वकपमा रुचि देखाइरहेका ग्राहकहरूका नाम खुलाउँदैनन्। तर उनका अनुसार त्यसमा सेलेब्रटीहरू, अर्बपतिहरू, कम्पनीका संस्थापकहरू, प्रविधि कम्पनीका कार्यकारी अधिकारीहरू र विश्वभरका खेलाडीहरूसहित पर्ने मक्नील बताउँछन्।
मूल्य
विश्वकपका सबै विलासी प्याकेजहरू दश लाख डलर मूल्यका हुँदैनन् तर कैयौँ महङ्गा प्याकेजहरूको मूल्यले डलरमा 'सहजै ६ अङ्क नाघ्ने' गर्छ।
त्यसमा निजी जेटहरूदेखि हेलिकप्टर र विमानस्थलमा भीआईपी सेवा, सुरक्षा टोली र विलासी होटेल चेनमा बसोबाससमेत पर्छन्।
निकोल वालाक विलासी यात्रा सेवामा दक्षता हासिल गरेको एउटा कम्पनी म्याग्मा ग्लोबलकी उपाध्यक्ष हुन्। उनका अनुसार जोडीका लागि पाँचतारे होटलको बसाइँ, खेलको टिकट, 'बिज्निस क्लास'को उडान र विशिष्ट सुविधासहितको उडान ट्रान्स्फरसहितको सुलभ प्याकेजको मूल्य २५,००० देखि ७५,००० डलर रहेको छ।
कतिपय ग्राहकहरूले कैयौँ दिन र विभिन्न सहरहरूका विलासी कार्यतालिकाका लागि उल्लेख्य रूपमा धेरै तिर्ने गर्छन् अरू कतिपयले विश्वकपको यात्रालाई अन्य स्थानसँग जोडेर घुम्ने योजना पनि बनाउँछन्।
"मेरा कतिपय ग्राहक लस एन्जलसमा खेलहरू हेर्छन् र उनीहरू केही रात हवाईमा बिताउँछन्," वालासले बीबीसी न्यूज ब्रजिलसँग भनिन्।

तस्बिर स्रोत, Tom Fox/The Dallas Morning News via Getty Images
विश्वकपको अन्तिम सप्ताहान्तमा न्यूयोर्कमा विलासी आवासका लागि सहजै डलरको ६ अङ्कमा खर्च लाग्न सक्ने उनले सुनाइन्।
न्यूयोर्कको फर्स्ट इन सर्भिस ट्राभल नामक कम्पनीकी रणनीतिसम्बन्धी निर्देशक जिना गबर्डका अनुसार अति धनाढ्य प्रशसंकहरूले भीआईपी टिकट र खेलको समयमा शेफहरूले बनाएका खानेकुरासहितका विस्तृत प्याकेज लिन सक्ने विकल्प रहेको बताइन्।
उनले प्याकेजअन्तर्गत खेलाडीसँग विशेष भेटको पनि प्रबन्ध मिलाइएको बताइन्।
"कुन खेल हो भन्ने आधारमा भीआईपी टिकटको मूल्य ५,००० डलर प्रतिव्यक्तिबाट सुरु हुन्छ। एकभन्दा बढी खेल र सहर पुग्ने हो भने मूल्य लाखौँ डलर पुग्छ।"
गोपनीयता र पहुँच
निश्चित खेलहरूमा रङ्गशालासम्म पुग्न उपलब्ध यात्राको विकल्पभन्दा बढी माग हुन सक्छ।
"विमानको सङ्ख्या र अवतरण गर्न उपलब्ध स्थानहरू सीमित छन्," उनी भन्छिन्। "यस्तो अवस्थामा, निजी चालकसहितको विलासी कार एउटा समाधान हो।"
वालाकका अनुसार सबै भीआईपीहरूले पहिलो पङ्क्तिको नै टिकट खोज्दैनन्। धेरै जनाका लागि गोपनीयता र विशेष सेवाहरूमा पहुँच प्राथमिकता हो। "उनीहरू पूर्ण भीआईपी अनुभव चाहन्छन्।"
औसत समर्थकहरूले खाजा र पेयपदार्थ किन्दा लाइनमा समय बिताउनुपर्छ तर यस्ता ग्राहकहरूको 'फाइन डाइनिङ'सहितको निजी लाउन्जमा पहुँच हुने उनी बताउँछिन्।

तस्बिर स्रोत, Getty Images
यस्ता ग्राहकहरूलाई सघाउन सुरक्षाकर्मीदेखि निजी शेफसम्मको व्यवस्था गरिएको हुन्छ। गबर्डका विचारमा परामर्शदाताले सोझै त्यस्ता धनाढ्यहरूका निजी सहयोगी वा भ्रमण दल सदस्यसँग संयोजन गरी पूर्वतयारी गर्छन्।
अन्तिम क्षणको निर्णय
अन्य समर्थकहरूले जस्तो उनीहरूले यात्राका लागि पूर्वतयारी गर्नुपर्दैन।
"उनीहरूले आफ्नो समयलाई पैसाभन्दा बढी महत्त्व दिन्छन् र अधिकांश अवस्थामा अन्तिम क्षणमा निर्णय लिन्छन्," वालाक भन्छिन्।
मक्नीलका अनुसार राजनीतिक कारणले पनि अमेरिकाबाहिरबाट पहिला उनका ग्राहकहरूको रुचि कम थियो।
तर पछिल्ला हप्ताहरूमा त्यसले गति लिएको छ र अन्तिम १६ टोली छनौट हुने बिन्दुसम्म पुग्दा अनि कुन टोली अघि बढ्छन् स्पष्ट हुँदा यो बढ्ने अपेक्षा गरिएको छ।
"वास्तवमा यो हाम्रा लागि भर्खरै सुरुवात भएको छ। हामीले सेवा उपलब्ध गराउने सदस्यहरूले अन्तिम मिनेटमा योजना बनाउँछन्," मक्नीलले भने। धेरै जना निजी जेटमा यात्रा गर्ने भएकाले उनीहरूलाई सबै खेलहरू हेर्न सजिलो रहेको उनले सुनाए।
वालाकले प्रतियोगिता प्रारम्भ भएयता माग बढ्दै गएको आफूले देखेको बताइन्।
मक्नीलले खेलबाहेक आफ्नो कम्पनीले पुराना विश्वकप खेलाडीहरूलाई राखेर आयोजना गर्ने दिवाभोजमा पनि आकर्षण रहेको बताए। त्यसले पैसा तिर्न सक्ने समर्थकहरूलाई विश्वचर्चित खेलाडीहरूसँग नजिकैबाट कुराकानी गर्ने मौका दिने छ।
कतिपयले त खेलाडीहरूलाई नजिकैबाट भेट्न पाइने हुँदा उनीहरूले सञ्चालन गरिरहेका परोपकारी कामका लागि चन्दासमेत दिने गरेको पाइन्छ।
"बिदाको दिन उनीहरूले केही ग्राहकलाई आफ्नो ट्रेनिङ सेन्टरमा भेट्न सक्छन्। ग्राहकहरूले चन्दा उपलब्ध गराउँछन् र उनीहरूले (खेलाडीसँग) तस्बिर पनि लिन्छन्, यसो बल खेलेको जस्तो पनि गर्छन्।"
विश्वकप फाइनलमा 'अति विशिष्ट पहुँच चाहने'हरूले ४० लाख डलरको प्याकेज छुटाए उनीहरूका लागि नयाँ अवसर रहेको मक्नील सम्झाउँछन्। मैदानको कुनामा रहेका दुई सीटमध्ये प्रत्येकको मूल्य 'मात्रै' १५ लाख अमेरिकी डलर रहेको उनी बताउँछन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।




















