तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
श्रीलङ्कामा मानिसको मूत्राशयबाट निकालियो ३.१ केजीको पत्थरी
- Author, बीबीसी सिंहला र को यू
- Published
- पढ्ने समय: ३ मिनेट
श्रीलङ्कामा चिकित्सकहरूले एक व्यक्तिको मूत्राशयबाट ३.१ किलोग्राम तौल भएको पत्थरी निकालेका छन्। अहिलेसम्म मानिसको पिसाबको थैलीबाट निकालिएको यो नै सबैभन्दा ठूलो पत्थरी भएको उनीहरूको दाबी छ।
यो शल्यक्रिया गत साता श्रीलङ्काको पूर्वी भागमा अवस्थित ट्रिन्कोमालीको एउटा अस्पतालमा गरिएको थियो।
ती बिरामी मस्तिष्काघात भएपछि अस्पतालमा भर्ना भएका थिए। उनको उमेर ५५ वर्ष भएको बताइएको छ। तर उपचारका क्रममा उनलाई पिसाब फेर्न गाह्रो भएको देखेपछि चिकित्सकहरूले उनको मूत्राशयमा पत्थरी रहेको पत्ता लगाए।
शल्यक्रिया गरेर चिकित्सकहरूले निकालेको उक्त पत्थरी पूर्ण रूपमा हुर्किएको नवजात शिशुको तौलजत्तिकै र अस्ट्रिचको अण्डाजत्रो आकारको थियो।
"उपलब्ध अभिलेखअनुसार शल्यक्रियामार्फत् निकालिएको र अभिलेखमा दर्ता भएको यो अहिलेसम्मकै सबैभन्दा ठूलो मूत्राशयको पत्थरी हो," शल्यक्रियाको नेतृत्व गरेका डा प्रहलहन बालकृष्णनले बीबीसी सिंहलासँग भने।
बिरामीको स्वास्थ्यस्थिति "अहिले धेरै राम्रो" रहेको तर अस्पतालमा राखेर उनको शरीरमा रहेका अरू समस्याको उपचार भइरहेको चिकित्सकहरूले बताएका छन्।
डा बालकृष्णनले उक्त पत्थरी ती बिरामीको मूत्राशयमा पाँचदेखि १० वर्षदेखि रहेको हुन सक्ने अनुमान गरेका छन्।
कसरी बन्छ पत्थरी
पिसाबमा रहेका खनिज पदार्थहरू जमेर डल्लो परेपछि मूत्राशयको पत्थरी बन्छ।
सामान्यतया मूत्राशय पूर्ण रूपमा खाली नहुँदा थुप्रिने गाढा पिसाब 'क्रिस्टल'मा परिणत भई पत्थरी बन्ने गर्छ।
बालुवाको कणजत्रा साना पत्थरीहरू आफैँ पिसाब फेर्दा बाहिर निस्किन सक्छन्। तर एक सेन्टिमिटरभन्दा ठूला पत्थरीले प्रायः पिसाबको प्रवाहलाई अवरुद्ध पारिदिन्छन्। तिनलाई निकाल्न औषधोचार वा शल्यक्रिया गर्नुपर्छ।
चार सेन्टिमिटरभन्दा ठूलो पत्थरीलाई 'विशाल पत्थरी' मानिन्छ।
गिनिस वर्ल्ड रेकर्ड्सका अनुसार अहिलेसम्मकै सबैभन्दा ठूलो मूत्राशयको पत्थरी सन् २००३ मा ब्रजिलका एक बिरामीबाट निकालिएको थियो।
त्यसको तौल १.९ केजी र लम्बाइ १७.९ सेन्टिमिटर थियो।
गत साता श्रीलङ्कामा निकालिएको मूत्राशयको पत्थरी भने करिब १७ सेन्टिमिटर लामो थियो।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।