किएभमा रुसको 'ठूलो' क्षेप्यास्त्र र ड्रोन हमला, धेरैको मृत्यु

    • Author, सेरा रेन्सफर्ड, किएभ र ह्यारी सेकुलिख
  • Published
  • पढ्ने समय: ३ मिनेट

रुसी सेनाले गत रात युक्रेनी राजधानी किएभमा गरेको ठूलो स्तरको ड्रोन तथा क्षेप्यास्त्र हमलाका कारण कम्तीमा २० जनाको ज्यान गएको अधिकारीहरूले बताएका छन्।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले ठूलो हमलाको तयारी गरिरहेको भनेर सावधान गराएको केही घण्टापछि नै सहरभरीका भवनहरू हमलाका कारण थर्किरहँदा कतिपय बस्तीहरू खाली गराइएको थियो।

हताहत हुनेहरूमा ठूलो सङ्ख्यामा बालबालिकाहरू रहेको किएभको सैन्य प्रशासनका प्रमुख तैमुर त्काचेन्कोले बताए। "शत्रुले फेरि पनि जानाजान आवासीय क्षेत्रहरूलाई निसाना बनाएको छ र गैरसैनिकहरूको ज्यान लिइरहेको छ," उनले बिहीवार बिहान बताएका छन्।

रुसको रक्षा मन्त्रालयले आफूहरूले हालैको युक्रेनी हमलाको जबाफमा उर्जा उत्पादन केन्द्रहरूलाई निसाना बनाएको दाबी गरेको छ।

युक्रेनको वायुसेनाले बताएअनुसार रुसले ७४ वटा क्षेप्यास्त्र र ४९६ वटा ड्रोनहरूको प्रयोग गरेर गत रात राजधानी किएभलाई निसाना बनाएको थियो।

तीमध्ये धेरैलाई देशको हवाई प्रतिरक्षा प्रणालीले रोके पनि २५ वटा बलिस्टिक क्षेप्यास्त्रहरू र १२ वटा ड्रोनहरूले विभिन्न ३३ वटा स्थानमा हमला गर्न सकेका थिए।

रातभर विस्फोटन

किएभस्थित बीबीसीको टोलीले रातभर नै ठूला विस्फोटका आवाजहरू सुनेको थियो। स्थानीय समयअनुसार बिहानको ३:३० बजेसम्म हाम्रो टोलीले १० वटा उल्लेखनीय स्तरको हमलाको गन्ती गरेको थियो। त्यस क्रममा सहरको मध्यमा ठूलो आगलागी भएको थियो भने केही पर पनि आगलागीका घटनाहरू देखिएका थिए।

हवाई प्रतिरक्षा प्रणालीले गरेको ट्रेसर प्रक्षेपण र विस्फोटले रातको आकाशलाई झलमल्ल पारिदिएका थिए।

बिहीवार बिहान सूर्योदय भएपछि विस्फोटनका कारण बनेका ठूला खाडलहरू यत्रतत्र देख्न सकिन्थ्यो।

सहरमा जलिरहेका कारहरू, भवनहरू र अन्य संरचनाहरू पनि बम विस्फोटका अवशेषहरूका माझ देख्न सकिन्छ।

सहरका विभिन्न स्थानमा आगो लागेका छन् भने एउटा एम्बुलेन्स स्टेशनमा क्षति पुगेको बताइएको छ। त्यस स्थानमा कम्तीमा एक जनालाई घातक चोट लागेको बताइएको छ।

अग्निनियन्त्रण कमर्चारीहरुले सहरको केन्द्रमा रहेको एक होटेलमा लागेको आगो निभाइरहेका थिए।

देशको आपत्कालीन सेवाले जनाएअनुसार कम्तीमा १८ जनाको ज्यान गएको छ भने ३० जनाभन्दा बढी घाइते भएका छन्।

हालसम्म ३४ जनालाई उद्धार गरिएको अधिकारीहरूले बताएका छन् र हमला भएका स्थानहरूमा उद्धारकार्य जारी रहेको बताइएको छ।

युक्रेनको आग्रह

युक्रेनका विदेशमन्त्री आन्द्रेइ सिबियाले आफ्नो देशका साझेदारहरूलाई सम्बोधन गर्दै थप हवाई प्रतिरक्षा प्रणाली प्रदान गर्न आह्वान गरेका छन्।

उनले आफ्नो देशलाई साझेदारहरूबाट "हमलाको निन्दा गर्ने शब्दहरू मात्र होइन, रुसी आतङ्क रोक्न ठोस कदमको" आवश्यकता रहेको बताएका छन्।

उनले सामाजिक सञ्जाल 'एक्स'मा सन्देश लेख्दै रुसले आवासीय भवन र गैरसैनिक संरचनाहरूलाई निसाना बनाएको बताउँदै उनको देशका साझेदारहरूले रुसविरूद्धका प्रतिबन्धहरू अझ कडा तुल्याउनुपर्ने बताएका छन्।

यो दुई हप्ताभन्दा बढीको समयभित्र रुसले गरेको पहिलो ठूलो स्तरको क्षेप्यास्त्र तथा ड्रोन हमला हो।

रुसले मध्य तथा पूर्वी युक्रेनका सैनिक अखाडाहरूमाथि पनि हमला गरेको रक्षा मन्त्रालयलाई उद्धृत गर्दै रुसी सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।

त्यसमा दाबी गरिएअनुसार मस्कोदेखि ब्ल्याक सीसम्मका रुसी ऊर्जा केन्द्रहरूमा हालै युक्रेनले गरेको हमलाको जबाफमा रुसले युक्रेनी प्रतिरक्षा तथा उर्जा संरचनालाई निसाना बनाएको हो।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।