दुई पटक 'गोल्डन बूट' जित्ने एम्बाप्पे पहिलो खेलाडी, अरू कसलाई कुन उपाधि

    • Author, एमा स्मिथ
    • Role, बीबीसी स्पोर्ट
  • Published
  • पढ्ने समय: ४ मिनेट

सन् २०२६ को विश्वकप फुटबल प्रतियोगितामा सबैभन्दा धेरै गोल गरेर फ्रान्सका किलिअन एम्बाप्पेले लगातार दोस्रो पटक 'गोल्डन बूट'को उपाधि पाएका छन्।

उनले प्रतियोगितामा कुल १० गोल गरेर आर्जेन्टिनाका लिओनेल मेस्सी (८ गोल)लाई पछि पारेका हुन्।

सन् २०२२ मा कतारमा भएको विश्वकप प्रतियोगितामा पनि एम्बाप्पेले ८ गोल गरेर उक्त उपाधि पाएका थिए।

इतिहासमा एम्बाप्पे

सन् १९७०मा पश्चिम जर्मनीका निम्ति गर्ड मूलरपछि दोहोरो अङ्कमा गोल गर्ने एम्बाप्पे पहिलो हुन्।

सन् १९५८ मा फ्रान्सका जुस्ट फोन्टेनले १३ गोल गरेका थिए भने सन् १९५४ मा हङ्गेरीका सान्डर कोचिसले ११ गोल गरेका थिए। व्यक्तिगत रूपमा विश्वकपमा धेरै स्कोर गर्ने रेकर्ड हालसम्म उनीहरूकै छ।

एम्बाप्पेले विश्वकपका विभिन्न प्रतियोगितामा गरी सबभन्दा धेरै गोल गर्ने कीर्तिमान पनि राखेका छन्। उनले कुल २२ गोल गरेका छन्। मेस्सीले कुल २१ गोल गरेका छन्।

नेपाली समयानुसार शनिवार मध्यरातपछि भएको खेलमा इङ्ग्ल्यान्डसँग ६-४ ले पराजित भए पनि एम्बाप्पेले २ गोल गरेका थिए। त्यसका कारण उनी मेस्सीभन्दा अगाडि भए र फाइनल खेलमा मेस्सीले गोल गर्न नसकेपछि उपाधि सुनिश्चित भयो।

सन् १९७० मा पश्चिम जर्मनीका निम्ति गर्ड मूलरपछि दोहोरो अङ्कमा गोल गर्ने एम्बाप्पे पहिलो हुन्।

"जब तपाईँले विश्वकपमा त्यति धेरै गोल गर्नुहुन्छ पक्कै पनि त्यसले तपाईँलाई अर्कै स्तरमा पुर्‍याउँछ," मायमीमा भएको शनिवारको खेलपछि एम्बाप्पेले भनेका थिए।

"तर फाइनलमा पनि खेलेर सबभन्दा धेरै गोल गर्ने उपाधि पाउनु मेरो रोजाइ थियो। मैले खेलबाट संन्यास लिएपछि भविष्यमा मेरो विरासतका लागि यो राम्रो होला तर अहिले मेरो मनमा यो छैन।"

एम्बाप्पेले समूह चरणमा सेनेगल र इराकसँगको खेलमा दुई-दुई गोल गरेका थिए भने अन्तिम ३२ को चरणमा स्वीडनविरुद्ध पनि गोल गरेका थिए।

अन्तिम १६ को चरणमा उनले पाराग्वेविरुद्ध एक गोल गरेका थिए भने क्वार्टरफाइनलमा मोरक्कोलाई एक गोल गरेका थिए।

फाइनल खेलमा ह्याट्रिक वा तीन गोल गर्न सकेको भए मेस्सीले सो उपाधि जित्न सक्थे।

तर ३९ वर्षीय आर्जेन्टिनी खेलाडीले न्यूजर्सीमा भएको खेलमा कुनै गोल गर्न सकेनन्। यस प्रतियोगितामा मेस्सी कुल ८ गोलमै रोकिए।

इङ्ग्ल्यान्डका जूड बेलिङ्गम तथा नर्वेका एर्लिङ होलानले सात-सात गोल गरेका थिए भने फ्रान्सका उज्मान डेम्बेले र इङ्ग्ल्यान्डका कप्तान ह्यारी केनले ६-६ गोल गरेका थिए। हङ्गेरीका सान्डर कोचिसले ११ गोल गरेका थिए।

रोड्रीको चमत्कार

सन् २०२६ को प्रतियोगिताका बाँकी उपाधिहरू स्पेनी खेलाडीकै हातमा गएको छ। कप्तान रोड्रीले प्रतियोगिताका उत्कृष्ट खेलाडीको 'गोल्डन बल' उपाधि पाएका छन्।

इङ्ग्लिश प्रिमिअर लीगमा म्यान्चेस्टर सिटीको मिडफील्डर रहेका रोड्री स्पेनको दोस्रो उपाधि जितका निम्ति एक महत्त्वपूर्ण खेलाडी बने।

तीस वर्षीय रोड्रीले फाइनलमा 'गोल्डन बल'को उपाधि फिफाका अध्यक्ष जानी इन्फान्टिनोको हातबाट ग्रहण गरे।

आफ्नो फुटबल करिअरमा रोड्रीको निम्ति यो तेस्रो व्यक्तिगत उपलब्धि हो।

सन् २०२३ मा उनले 'बालन डोर'को उपाधि जितेका थिए भने सन् २०२४ मा यूरो कप जितेपछि उनी यूरो २०२४ उत्कृष्ट खेलाडी बनेका थिए।

अरू कसले के उपाधि पाए

प्रतियोगिताको दोस्रो उत्कृष्ट खेलाडीका रूपमा मेस्सीले 'सिल्भर बल' पाए भने तेस्रो उत्कृष्ट खेलाडीका रूपमा एम्बाप्पेले 'ब्रोन्ज बल' पाए।

स्पेनका उने सिमनले उत्कृष्ट गोलरक्षकको 'गोल्डन ग्लोभ' उपाधि पाएका छन्।

प्रतियोगिताभरिका आठ खेलमा उनले जम्मा एक गोलमात्र खाए।

क्वार्टरफाइनलमा बेल्जिअमसँगको खेलमा एक गोल उनले रोक्न सकेनन् भने बाँकी सात खेलमा कुनै गोल खाएनन्।

स्पेनकै १९ वर्षीय पाउ कुबार्सीले प्रतियोगिताका उत्कृष्ट युवा खेलाडीको उपाधि जितेका छन्।

स्पेनको सुदृढ रक्षापङ्क्तिका उनी एक मुख्य खम्बा रहे। फाइनलमा आर्जेन्टिनालाई स्पेनी रक्षापङ्क्तिले जम्मा दुई शट प्रहार गर्न दिएको थियो जसमा कुनै पनि निसानामा लागेको थिएन।

कुबार्सीले स्पेनको सबै खेलमा सम्पूर्ण समय खेले र सन् २०१० पछिको उपाधि जित्न सहयोग गरे।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।