नौ दिनपछि त्रिशूली ३ए आयोजनाको सुरुङबाट दुई जनाको जीवितै उद्धार

तस्बिर स्रोत, BBC/Shakti Maya Tamang
विनाशकारी बाढी आइको दशौँ दिन नुवाकोटस्थित त्रिशूली ३ए जलविद्युत् परियोजनाको सुरुङबाट कामदारहरूको जीवितै उद्धार गर्न थालिएको अधिकारीहरूले बताएका छन्।
शुक्रवार बिहान दुई जनाको उद्धार गरिएको नेपाल विद्युत् प्राधिकरणका सहप्रबन्धक सुरेश राउतले बीबीसी न्यूज नेपालीलाई बताए। उद्धार गरिएका व्यक्तिहरूको नाम सञ्जय साह र कबीर महर्जन भएको अधिकारीहरूले बताएका छन्।
त्यहाँ नेपाली सेनाको विपद् निर्देशनालय, नेपाल विद्युत् प्राधिकरणका प्राविधिकसहितको टोलीले गत साताबाट नै निरन्तर सुरुङबाट उद्धारको प्रयास गर्दै आएको थियो।
नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले भने, "संयुक्त टोलीले सुरुङभित्रबाट दुई जनाको सकुशल उद्धार गरेको छ। अझै पनि त्यहाँ उद्धारको काम जारी छ। हामी सबैको निरन्तरको प्रयासले यो सम्भव भएको हो।"
यसअघिसुरुङभित्र फसेका ठानिएका मानिसहरूबाट आवाज आएको जानकारी प्राप्त भएको नेपाल विद्युत् प्राधिकरणका सहप्रबन्धक सुरेश राउतले बताएका थिए।
परिवारले के भन्छ

तस्बिर स्रोत, NEA
उद्धार गरिएका कबीर महर्जनकी श्रीमती हीराशोभा महर्जनले बीबीसीसँग कुरा गर्दै खुसी व्यक्त गरिन्। "फेसबुकबाट फोटो देखेँ। एकदमै खुसी लाग्यो। उहाँलाई छाउनीस्थित अस्पतालमा ल्याउँदै छन्। म त्यतै जान लागेकी छु।"
"दश दिनसम्म खानपिन केही थिएन। एकदमै डर लागेको थियो। अब हामीसबै खुसी छौँ। रोइ पनि रहेका छौँ।"
उद्धार गरिएका व्यक्तिलाई अक्सिजन दिइएको थियो।
सुरुमा उद्धार गरिएका साहबारे प्राधिकरणका राउतले भने, "अक्सिजन कमी भएको र एकदमै थकित महसुस गरेकाले अबको केही क्षणमा (उहाँले) सोधपुछको जबाफ दिन सक्ने हुनुहुन्छ। बोलौँबोलौँ लागे पनि बोल्न गाह्रो भएको छ।"
सप्तरीका सञ्जय साह उक्त जलविद्युत् आयोजनाको कन्ट्रोल रूममा मेकानिकल फोरम्यानका रूपमा कार्यरत रहेको विवरण आएको छ। उनकी बहिनी सुधाले बीबीसी संवाददाता माधुरी महतोसँग कुरा गर्दै साहकी श्रीमती र छोरी रहेको जानकारी दिएकी छन्।
"उहाँ भेटिनुभएको कुराले परिवारमा एकदमै खुसी छाएको छ। समाचार सुन्नेबित्तिकै बुबाआमा काठमाण्डूतर्फ जानुभएको छ।"

तस्बिर स्रोत, courtesy: Sudha Saha
हामीलाई अरू के थाहा छ
उद्धार गरिएका एक जनालाई त्रिशूलीस्थित नेपाली सेनाको ब्यारेकमा ल्याइएको अधिकारीहरूले जनाएका छन्।
नेपाली सेनासँगको समन्वयमा बिहीवार बीबीसी संवाददाता उक्त सुरुङ स्थलमा जारी खोज तथा उद्धार प्रयासको अवलोकन गर्न पुगेको थियो।
त्यहाँ उद्धारकर्मीहरूले 'केबल टनल' हुँदै भित्र प्रवेश गर्ने बिन्दु पहिल्याउन चट्टानमा ड्रिलिङ र एक्स्कभेटर प्रयोग गरी उत्खननको काम जारी राखेका थिए।
ऊर्जा मन्त्रालयका अधिकारीहरूले उक्त जलविद्युत् आयोजनाको सुरुङमा झन्डै ४२ जना फसेको हुन सक्ने विवरण यसअघि सार्वजनिक गरेका थिए।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।





















