ओलीले चाहँदा पनि किन हटाउन सकेनन् कोशीका मुख्यमन्त्री

तस्बिर स्रोत, KP Oli Secretariat
- Author, अशोक दाहाल
- Role, बीबीसी न्यूज नेपाली
- Published
- पढ्ने समय: ४ मिनेट
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतबहादुर कार्कीले पार्टीकै नेताहरूले आफूलाई 'राजीनामा दिन' भने पनि आफूले नेताहरूको आग्रह अस्वीकार गरेको बताएका छन्।
नेकपा एमालेका अध्यक्ष केपी ओलीको सन्देश लिएर आफूहरूले कार्कीलाई भेटेको नेकपा एमालेका सचिव शेरधन राईले बताएका छन्।
साउन ९ गते नेकपा एमालेका अध्यक्ष ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले सातमध्ये पाँच वटा प्रदेश सरकारको नेतृत्वमा एकअर्कालाई सघाउने सहमति गरेका थिए।
सहमतिअनुसार कोशी प्रदेश एमालेको भागमा परेको थियो। त्यही सहमति कार्यान्वयनका लागि नेतृत्वको सन्देश लिएर आफू कोशी प्रदेश पुगेको कोशीका पूर्वमुख्यमन्त्री तथा पार्टीको कोशी इन्चार्जसमेत रहेका राईले बताए।
"केन्द्रीय अध्यक्षले प्रस्ट निर्देशन पनि गरिसक्नुभएको सन्दर्भमा त्यही तीनबुँदे सहमति र अध्यक्षको निर्देशन कार्यान्वयन गर्नका निम्ति हामी छलफल गरिरहेका छौँ," उनले भने।
एमालेका सचिवसमेत रहेका मुख्यमन्त्री कार्कीले चाहिँ 'पार्टीले आफूलाई राजीनामा दिन नभनेको' तर नेताहरूले मात्रै भनेको दाबी गरेका छन्।
"प्रदेशको इन्चार्ज [राई] मेरै तहको साथी [सचिव नै] आएर राजीनामाको कुरा गर्नुभएको हो। मैले 'तपाईँको कुरा पार्टीको निर्णय हुँदैन। पार्टीको संस्थागत ढङ्गले अध्यक्षले लेखेर पठाएपछि हुने हो'भनेँ," कार्कीले भने।
अहिले आफूले 'राजीनामा दिन पर्ने आवश्यकता' नरहेको जवाफ राईलाई दिएको कार्कीले बीबीसी न्यूज नेपालीसँग बताएका छन्।
ओलीको सन्देश के थियो?
एमाले अध्यक्ष ओलीको निर्देशन लिएर कोशी पुगेको दाबी गरेका राईका अनुसार कोशी प्रदेशमा अहिलेकै मुख्यमन्त्रीलाई निरन्तरता दिने वा नयाँ व्यक्तिलाई अवसर दिनेबारे उनले कार्कीसँग छलफल गरेका थिए।
"अब उहाँको निरन्तरता र नयाँ साथीहरूलाई पालो/अवसर दिने भन्ने कुरामै हामी अलिकति छलफल गरिरहेका छौँ," उनले भने।
"वर्तमान मुख्यमन्त्री लामो समय रहिसक्नुभएको छ। त्यसकारण अब नयाँ साथीहरूलाई पनि अवसर दिने कि, पालो दिने कि। लामो इतिहास भएको भूगोलमा पनि काम गर्नुभएका साथीहरू हुनुहुन्छ। त्यसो गर्दा उत्तम हुन्छ कि भन्ने विकल्पमा काम भइरहेको छ।"
कार्की दुई वर्षयता मुख्यमन्त्री रहिरहेका कारण उनले अन्य नेतालाई पालो दिनुपर्ने उनलाई हटाउने पक्षका नेताहरूको तर्क छ। तर कार्कीले त्यसले अस्थिरता निम्त्याउने तर्क गरेका छन्।
"त्यसो भए त प्रश्न उठ्नुपर्यो, सबै हामी जुनजुन पदमा जहाँजहाँ रहेका छौँ, त्यहाँ पनि लामो समय त बस्नुभएन। म पनि, अर्को पनि बस्नुभएन," कार्कीले भने।
किन अड्कियो मुख्यमन्त्रीको राजीनामा

तस्बिर स्रोत, Hikmat Karki/FB
प्रदेशसभाको मुख्यमन्त्रीको कार्यकाल एक वर्षजस्तो मात्रै बाँकी रहेका कारण सरकार परिवर्तन गरिरहन नहुने भनाइ कार्कीको छ। कार्कीले राजीनामाका लागि पार्टीबाट संस्थागत निर्णयको माग गरेका छन्।
"संस्थागत ढङ्गले कुरा भएर आएपछि नमान्ने कुरा हुँदैन," पार्टी अध्यक्षसँग छलफलका लागि काठमाण्डू आउनुअघि मुख्यमन्त्री कार्कीले मङ्गलवार भने।
तर पार्टीभित्रै आन्तरिक दबाव सामना गरिरहेका एमाले अध्यक्षले प्रदेश सरकार परिवर्तनबारे छलफलका लागि पार्टीको कुनै बैठक नराखेको नेताहरूले बताएका छन्।
एमालेको कोशी प्रदेश समितिका अध्यक्ष घनश्याम खतिवडाले पार्टी अध्यक्षले मुख्यमन्त्रीलाई छलफलका लागि काठमाण्डू बोलाएको बताए। उक्त छलफलपछि आफूरू एउटा निष्कर्षमा पुगिने प्रदेश सरकारको नेतृत्वबारे छलफल गर्न कोशी पुगेका पूर्वमुख्यमन्त्री राईको विश्वास छ।
कार्कीले राजीनामा गर्न अस्वीकार गरेको सङ्केत गर्दै राईले नेतृत्वको विकल्पबारे 'गाँठो' फुक्न नसकेको बताएका छन्।
"त्यो गाँठो भनेको बहाल रहनुभएका मुख्यमन्त्रीको निरन्तरता कि नयाँ नेतृत्वमा जाने भन्ने छलफल गरिरहेका छौँ। हाम्रो आन्तरिक कुरा टुङ्गिसकेपछि स्वाभाविक रूपमा सहमतिअनुसार नेपाली कम्युनिस्ट पार्टीसँग सहकार्य गरेर कोशी प्रदेशको सरकार बनाउने कुरामा अघि बढ्छौँ," राईले भने।
कार्कीसँग किन खुसी छैनन् ओली

तस्बिर स्रोत, KP Oli Secretariat
आफ्नै प्रदेशमा केपी ओलीलाई प्रदेश सरकार प्रमुखले दिएको यो चुनौती यसअघि कहिल्यै नदेखिएको विराटनगरस्थित 'उद्घोष' दैनिकका सम्पादक बन्धु पोखरेल बताउँछन्।
"एमाले अध्यक्षलाई प्रदेश सरकारबाट यसअघि यस्तोखाले चुनौती थिएन। अहिले पार्टीमा चलिरहेको शक्तिसङ्घर्षको अभ्यास यहाँबाट पनि भएजस्तो देखिन्छ," पोखरेल भन्छन्।
पार्टी सचिवालयमा प्रभावशाली नेताहरूबाटै समर्थन भएका कारण पनि कार्कीले राजीनामा नदिने अडान लिएको हुन सक्ने उनले बताए।
कोशी प्रदेशमा एक दशकमा नौ पटक मुख्यमन्त्री फेरिँदा पाँच पटक नेकपा एमालेकै मुख्यमन्त्री भएका छन्। यसअघि ओलीनिकट मानिने कार्की यसअघि दुई पटक गरी करिब नौ महिना मुख्यमन्त्री भएका थिए।
कोशी प्रदेशमा तत्कालीन नेकपा एकीकृत समाजवादीबाट मुख्यमन्त्री बनेका राजेन्द्र राईको सञ्चार सल्लाहकार रहेर काम गरिसकेका सम्पादक पोखरेल पछिल्लो समय ओली र कार्की पार्टी राजनीतिमा पनि फरक कित्तामा देखिएको बताउँछन्।
एउटै चुनाव क्षेत्रका ओली र कार्कीको सम्बन्ध गएको प्रतिनिधिसभा निर्वाचनबाट अझै टाढिएको उनको बुझाइ छ।
"कार्कीको अलोकप्रियताका कारण आफ्नो मत कम आयो भन्ने बुझाइ एमाले अध्यक्ष ओलीमा देखिन्छ," पोखरेलले भने।
एमाले नेतृत्वमा पछिल्लो समय देखिएको टकराव पनि कोशीको मुख्यमन्त्री परिवर्तनका लागि भइरहेका गृहकार्यको कारक रहेको सम्पादक पोखरेल ठान्छन्।
मुख्यमन्त्री कार्कीले आफूलाई हटाउने योजना पार्टी नेतृत्वभन्दा पनि प्रदेश समितिको रहेको आशङ्का व्यक्त गरेका छन्। प्रदेश समिति अध्यक्ष खतिवडा र इन्चार्ज राई दुवै जना ओली निकट नेताहरू रहेको बताइन्छ।
"कोही व्यक्तिहरूले आफू बन्ने चाहनामा वा आफ्ना खास मान्छे बनाउने चाहनामा अलमलिएका हुन् कि भन्ने मेरो बुझाइ छ," कार्कीले भने।
तर राई भने आफ्नो व्यक्तिगत चाहना नभई पार्टी नेतृत्वको सन्देश लिएर आफू कोशी पुगेको दाबी गर्छन्।
"केन्द्रीय अध्यक्षले प्रस्ट निर्देशन जारी गरिसक्नुभएको छ कोशीमा। त्यसलाई कार्यान्वयन गर्नका निम्ति हामी छलफलमा छौँ," उनले भने।
कोशी प्रदेशमा अहिले नेकपा एमालेको नेतृत्वमा नेपाली कांग्रेससँग गठबन्धन सरकार छ। ओली र प्रचण्डबीच एमाले नेतृत्वमा नेपाली कम्युनिस्ट पार्टीसँग गठबन्धन सरकार बनाउने सहमति भएको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



















