लाइभ, मृतकको सङ्ख्या ५०० नाघ्यो, फेरि बाढी 'आउन सक्ने' डरले मानिसहरू सुरक्षित स्थानतिर जाँदै

रसुवाको भोटेकोशी नदी र तलपट्टि त्रिशूलीमा आएको बाढीका कारण मृत्यु हुनेहरूको सङ्ख्या बढेको अधिकारीहरूले बताएका छन्। सयौँ मानिस अझै सम्पर्कविहीन छन्।

सारांश

  • भोटेकोशी-त्रिशूली बाढीका कारण मृत्यु भएका ५३८ जनाको शव विभिन्न स्थानमा फेला परेको प्रहरीद्वारा पुष्टि
  • बाढीप्रभावित स्थानहरूमा खोज र उद्धारकार्य जारी
  • विभिन्न जलविद्युत् आयोजनाका सुरुङमा फसेका मानिसहरूलाई बाहिर निकाल्ने प्रयास हुँदै
  • राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अहिलेसम्म विदेशी नागरिकहरूसहित झन्डै १,००० जना अझै सम्पर्कविहीन

लाइभ कभरेज

  1. चिनियाँ दूतावासले खोज तथा आपत्कालीन प्रतिकार्यबारे के भन्यो

    काठमाण्डूस्थित चिनियाँ दूतावासले बुधवारको बाढीका कारण हराइरहेका व्यक्तिहरूको खोज तथा उद्धार संवेदनशील चरणमा रहेको जनाएको छ।

    एउटा विज्ञप्तिमा उसले उद्धार र आपत्कालीन प्रतिकार्य नेपाल र चीन दुवैका लागि गम्भीर रहेको जनाएको छ।

    दूतावासले नेपाल र चीन दुवैले जोखिमको निरन्तर निगरानी गरिरहेको र त्यसको व्यवस्थापनका लागि काम गरिरहेको उल्लेख गरेको छ।

    पहिला बाढीपछि "पहिरो थुप्रिएर बनेको ताल"मा अहिले "पानीको तह उच्च रहेको र त्यहाँ पानी भरिएर बाहिर निस्किन थालेको" विज्ञप्तिमा उल्लेख छ।

    त्यसबाट ताल भत्किन सक्ने जोखिम रहेको पनि दूतावासले जनाएको छ।

  2. 'आमा कि उहाँको शवको आशा'

    नुवाकोटका मिलन विश्वकर्मा अहिले बाढीपछि हराइरहेकी आफ्नी आमाको खोजीमा छन्।

    उनी आफ्नी आमा जीवित फेला पर्छिन् कि भन्ने आशामा छन्। अन्यथा आमाको शव पाइन्छ कि भनेर आफू आएको उनले बीबीसी न्यूज नेपालीलाई त्रिशूलीमा बताए।

  3. तिब्बतमा मृतकको सङ्ख्या ५

    बुधवार गएको बाढीका कारण नेपालको सीमापारि तिब्बतमा ज्यान गुमाएकाहरू मध्ये पाँच जनाको मृत्यु भएको पुष्टि भएको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएको छ।

    उक्त क्षेत्रमा ५५८ जना सम्पर्कविहीन भएको विवरण सार्वजनिक भएको छ।

    तीमध्ये विदेशी पर्यटकहरू पनि छन्।

  4. ५३८ जनाको शव फेला पर्‍यो : नेपाल प्रहरी

    बाढी आएको नदी

    रसुवामा आएको विनाशकारी बाढीका कारण शुक्रबार अपराह्णसम्म ५३८ जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ।

    शवहरू सर्वाधिक सङ्ख्यामा चितवन, नवलपरासी पश्चिम र नवलपरासी पूर्वमा नारायणी नदीमा फेला परेका हुन्।

    • रसुवा - १२
    • नुवाकोट - ३७
    • धादिङ - ३३
    • गोरखा - ४६ (विभिन्न मानव अङ्गसहित)
    • चितवन - २२१
    • तनहुँ - २८
    • नवलपरासी पूर्व - १३४
    • नवलपरासी पश्‍चिम - २२१

    बाढीबाट अतिप्रभावित क्षेत्रबाट अधिकांश शवहरू नदीमा बगेर तल पुगेका हुन्।

    रसुवामा बुधवार बाढी आएको भोटेकोशी नदीले अलि तल पुगेपछि त्रिशूलीको रूप लिन्छ। उक्त नदी रसुवा, धादिङ, गोरखा, चितवन र तनहुँलाई छुँदै देवघाटसम्म पुग्छ।

    तनहुँ हुँदै आएको कालीगण्डकी नदी त्यहाँ मिसिएपछि नारायणी नदी बन्छ। नारायणी नदी चितवन र नवलपरासी हुँदै भारततिर जान्छ।

    भारत प्रवेश गरेपछि उक्त नदीलाई गण्डक भनिन्छ।

  5. शुक्रवार अपराह्णसम्म १२१ पर्यटकको उद्धार

    नेपाल पर्यटन बोर्डले शुक्रवार अपराह्णसम्म १२१ विदेशी पर्यटकको उद्धार भएको जनाएको छ।

    तीमध्ये ८५ जना भारतका र १६ जना चीनका नागरिक छन्।

    त्यसबाहेक दक्षिण कोरियासहित अन्य ६ देशका नागरिकको उद्धार गरिएको तर तीन जनाको राष्ट्रियता नखुलेको पर्यटन बोर्डले जनाएको छ।

  6. रसुवा बाढीले पुर्‍याएको क्षतिपछि नेपाललाई सहयोग गर्ने राष्ट्रपति ट्रम्पको प्रस्ताव

    अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बिनाशकारी बाढीपछि अमेरिकाले नेपाललाई सहयोगको प्रस्ताव गरेको बताएका छन्। यस्तो स्तरको विपद् ‘विगतमा कहिल्यै नदेखिएको भन्दै उनले ‘बलिया भवनहरू पनि सिन्का सरह बगेको’ उल्लेख गरे। ट्रम्पले ५०-६० जना अमेरिकीहरू वेपत्ता रहेका उल्लेख गर्दै उनीहरूमध्ये केहीले ‘दुर्भाग्यवश जीवन गुमाउने’ पनि जनाएका थिए। नेपालको नेतृत्वसँग अमेरिकाले कुरा गरेको र जुनसुकै प्रकारको सहयोगको प्रतिवद्धता जनाएको ट्रम्पले बताएका छन्।

    ट्रम्प

    तस्बिर स्रोत, EPA

  7. चीनका राष्ट्रपतिको अध्यक्षतामा आपत्कालीन बैठक

    चिनियाँ राष्ट्रपति सी जिनपिङले भीषण बाढी पछिको उद्धार कार्यबारे अधिकारीहरूसँग आपत्कालीन बैठक गरेको चीनको सरकारी सञ्चारसंस्था सिन्ह्वाले जनाएको छ।

    विवरणहरूमा उक्त बैठकमा उनले चीन र विदेशमा वेपत्ता रहेका व्यक्तिहरूको खोजीमा कुनै कसर बाँकी राख्न नहुने भन्दै वैज्ञानिक खोज तथा उद्धार योजना बनाइनुपर्ने निर्णय लिएका थिए।

    सिन्ह्वाले उक्त बैठकमा नेपालको विपद् प्रभावित क्षेत्रमा राहत उपलब्ध गराइनुपर्ने कुरा उठेको पनि उल्लेख गरेको छ र उद्धारमा अन्तर्राष्ट्रिय सहकार्य अघि बढाउनुपर्ने कुरा भएको पनि उल्लेख गरेको छ।

    सी जिन्पिङ

    तस्बिर स्रोत, Reuters

  8. मृतकको सङ्ख्या बढ्दो क्रममा, ४८९ जनाको शव फेला पर्‍यो

    रसुवामा आएको विनाशकारी बाढीका कारण शुक्रबार मध्याह्नसम्म ४८९ जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ।

    तीमध्ये रसुवामा १३, नुवाकोटमा ३७, धादिङमा ४०, चितवनमा १८६, गोरखामा ४४, तनहुँमा २९, नवलपरासी पूर्वमा ११२ र नवलपरासी पश्‍चिम २८ जना गरी कुल ४८९ जनाको शव फेला परेको हो।

    कहाँ राखिएको छ शव?

    आठ जिल्लामा फेला परेका केही शवहरूलाई छिमेकी जिल्लामा पनि राखिएको राष्ट्रिय विपद् जोखिम व्यवस्थापन तथा न्यूनीकरण आयोगले जनाएको छ।

    कहाँ छन् शव
  9. मन्त्रीहरूको एक महिनाको तलब दैवी प्रकोप कोषमा

    सरकारले सबै मन्त्रीहरूको एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको छ।

    आज बसेको मन्त्रिपरिषद् बैठकले बाढीबाट प्रभावित जिल्लामा क्षति पुगेका व्यक्ति, व्यावसायिक संस्थाका लागि सहुलियत तथा पुनः स्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिने निर्णय पनि गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

  10. तिब्बतमा बनेको बाँधमा 'पानीको मात्रा घट्यो', तालको नक्साङ्कन गर्न ड्रोन प्रयोग

    चीनमा पहिरो खसेर बनेको ताल

    तस्बिर स्रोत, CCTV

    चिनियाँ सरकारी सञ्चारमाध्यम सीसीटीभीले स्थानीय समयानुसार दिउँसो २ बजेपछि दिएको विवरणअनुसार तिब्बततर्फ नदी थुनिएर बनेको बाँधमा पानीको मात्रा केही घटेको छ। अहिले त्यहाँ सामान्य रूपमै उद्धारकार्य भइरहेको छ।

    सीसीटीभीका अनुसार सरकारले परिचालन गरेका उद्धारकर्मीहरूले विपद्बाट प्रभावित क्षेत्रमा राहतकार्य गर्न उपलब्ध सबै उपाय प्रयोग गरेका छन्।

    बीबीसीकी चीनस्थित संवाददाता लोरा बिकरका अनुसार चिनियाँ विज्ञहरूले पहिरो थुप्रिएर बनेका दुईवटा तालको नक्साङ्कन गर्न ड्रोन प्रयोग गरेका छन्।

    चिनियाँ उद्धारकर्ताहरूले नेपाल र तिब्बतका बीच रहेको क्षेत्रमा पुग्न बाढीको जोखिम घटाउन प्रयास गरेको बताइएको छ।

    तिब्बततर्फ रहेको उक्त क्षेत्रमा ५०० जना भन्दा बढी मानिस बेपत्ता छन्।

    बिकरका अनुसार त्यहाँ निरन्तर वर्षा हुँदा ताल फुट्न सक्ने र बाढी आउन सक्ने चिन्ता अधिकारीहरूले व्यक्त गरेका छन्।

    दक्षिणी तिब्बतको विपद्ग्रस्त क्षेत्रबाट १,००० जनाभन्दा बढी मानिसको उद्धार गरिएको छ। तीमध्ये ५०० जनाजति विदेशी पर्यटक छन्।

  11. ‘चीनमा बनेको ताल फुटेको होइन’

    यो YouTube पोस्ट छोड्नुहोस्
    Google YouTube को सामग्रीलाई अनुमति छ?

    यो लेखमा Google YouTube बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ Google YouTube cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

    चेतावनी: बाह्य वेबसाइटका सामग्रीप्रति बीबीसी जिम्मेवार हुने छैन। YouTube का सामग्रीमा विज्ञापन हुन सक्छन्।

    YouTube पोस्ट समाप्त

    भोटेकोशी नदीमा लेदोसहितको बाढी बढेको भए पनि चीनतर्फ बनेको ताल फुटेको आधिकारिक जानकारी आफूहरूलाई नआएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतले बताएकी छन्।

    यसअघि नेपाल प्रहरीले बाँध भत्केको जानकारी प्राप्त भएको भन्दै खोज तथा उद्धारकार्यमा खटेका सुरक्षाकर्मी, उद्धारकर्ता र सर्वसाधारण मानिसहरूलाई सतर्क रहन र सुरक्षित स्थानतर्फ जान सूचित गरेको थियो।

    चिनियाँ सरकारी सञ्चारमाध्यमले बाँध भत्किएको नभई जम्मा भएको पनि बाँध भरिएर बाहिर निस्किएको विवरण दिएको छ।

  12. सतर्क रहन भनिएपछि मानिसहरू अग्लो स्थानतिर सर्दै छन्, आजादे मोशिरी, दक्षिण एशिया संवाददाता, त्रिशूली

    त्रिशूलीमा नदीभन्दा टाढा अग्लो स्थानमा गएका मानिसहरू

    तस्बिर स्रोत, BBC/Azadeh Moshiri

    नेपाली सुरक्षा निकायले तिब्बततर्फबाट फेरि बाढी आउन सक्ने खतरा रहेको भन्दै उद्धारकर्ता र सर्वसाधारण मानिसहरूलाई सतर्क रहन अनुरोध गरेपछि आपत्कालीन उद्धारकर्मीहरूले मानिसहरूलाई सुरक्षित स्थानतर्फ सार्न थालेका छन्।

    हामी भर्खरै त्रिशूली नदीमाथिको एउटा क्षेत्रमा पुगेका छौँ। यहाँ मानिसहरू खतरा टर्ने पर्खाइमा बसेका छन्।

    सेनाले आएर घर खाली गर्न भनेपछि हामी बसेको होटेलका प्रबन्धक पनि हामीसँगै यहाँ आएका छन्।

    त्रिशूलीस्थित सेनाको ब्यारकमा हेलिकप्टरहरू अवतरण गरिरहेका छन्। तिनले जीवितै उद्धार गरिएका मानिसहरूलाई ल्याउँदै छन्। तीमध्ये केही घाइतेहरू पनि छन्।

    दर्जनौँ मानिसहरू सेनाको ब्यारकबाहिर आफ्ना प्रियजनको खबरको पर्खाइमा वा चिनेका व्यक्तिहरू आइपुग्ने आशामा भेला भएको देखिन्छ।

    भेटिएका मानिसहरूको सूची टाँसिएको भित्तामा नाम हेर्ने मानिसहरूको पनि घुइँचो लागेको छ।

    त्रिशूलीमा नदीभन्दा टाढा अग्लो स्थानमा गएका एक व्यक्ति

    तस्बिर स्रोत, BBC/Azadeh Moshiri

  13. रसुवामा हाइड्रोपावरको सुरुङमा फसेका दुई जनाको उद्धार, प्रधानमन्त्रीको कार्यालयले सार्वजनिक गरेको भिडिओ हेर्नुहोस्

  14. शव व्यवस्थापन कसरी गर्ने भनेर छलफल हुँदै

    हराएका आफन्तको खोजीमा पुगेका मानिसहरू चितवनमा

    तस्बिर स्रोत, RSS

    तस्बिरको क्याप्शन, भरतपुरस्थित चितवन उद्योग सङ्घको परिसरमा राखिएको डिस्प्लेमा देखाइएका शवको तस्बिर हेरेर पहिचानका लागि आएका आफन्तहरू

    भोटेकोशी-त्रिशूली नदीमा आएको बाढीका कारण मृत्यु हुनेहरूको शव फेला पर्ने क्रम जारी रहेका बेला तिनको व्यवस्थापन कसरी गर्ने भनेर सम्बन्धित जिल्लासँग समन्वय भइरहेको गृह मन्त्रालयले जनाएको छ।

    रसुवादेखि नवलपरासी पश्चिम शव भेटिइरहँदा ती शव व्यवस्थापन सम्बन्धित जिल्लामै गर्ने वा केन्द्रमा कसरी ल्याउने भन्ने विषयमा छलफल भइरहेको गृह मन्त्रालयकी सहप्रवक्ता रमा आचार्य सुवेदीले बताएकी हुन्।

    “जहाँजहाँ शवहरू भेटिएको छ र व्यवस्थापन गर्नुपर्ने छ त्यहाँ कसरी व्यवस्थापन गर्ने भनेर समन्वय भइरहेको छ,” सहप्रवक्ता सुवेदीले भनिन्।

    चितवनमा मात्रै अहिलेसम्म १७८ वटा शव फेलापरिसकेको चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए।

    चितवनमा फेला परेका शवमध्ये ७४ पुरुष, ४१ महिला, ६ बालक, २ बालिकाको भएको छुट्टिएको छ।

  15. भोटेकोशी-त्रिशूली नदी किनारमा सतर्कता अपनाउन अपिल

    त्रिशूली किनार

    तस्बिर स्रोत, RSS

    राष्ट्रिय विपद् जोखिम प्राधिकरणले रसुवाको भोटेकोशी नदीमा ठूलो बाढी आएकै क्षेत्रमा आज पुनः लेदोसहित पानीको बहाव केही बढेको सूचना प्राप्त भएको र थप बाढी आउन सक्ने जोखिम रहेको जनाएको छ।

    प्राधिकरणले भोटेकोशी-त्रिशूली नदी किनारमा उद्धार र राहतमा खटिएका व्यक्तिहरूलाई सतर्कता अपनाउन भनेको छ।

    "...विविध कारणले जोखिम क्षेत्रमा रहनु भएका सबैलाई उच्च सतर्कता अपनाउन र जोखिम देखिएमा तुरुन्त सुरक्षित स्थानमा जान विशेष अनुरोध गरिन्छ," प्राधिकरणले भनेको छ।

    यद्यपि चिनियाँ सरकारी सञ्चारमाध्यमले जम्मा भएको पानी बाँध भरिएर निस्किएको जनाएको छ।

  16. खण्डहर बनेको टिमुरे र स्याफ्रुबेँसीमा जनप्रतिनिधि पनि ‘बेपत्ता’

    रसुवामा बाढीको पहिलो प्रहार बेहोरेको क्षेत्रमा पर्छ, गोसाईँकुण्ड गाउँपालिकास्थित टिमुरे बजार।

    त्यहाँका व्यवसाय गर्ने कामी नुर्बु तामाङका अनुसार बजार केही मिनेटभित्र तह‍सनहस भएको थियो।

    “चीनसँगको व्यापारको निम्ति एक नम्बरको नाका बनेको यो ठाउँमा अहिले केही छैन,” उनले भने, “यो वडाका अध्यक्ष, सचिव र एक जना सदस्यसहित थुप्रै बेपत्ता छन्।”

    गोसाईँकुण्ड गाउँपालिका अध्यक्ष कैसाङ नुर्पु तामाङले वडा नम्बर २ को टिमुरे ९० प्रतिशत र वडा नम्बर ५ स्याफ्रुबेँसी ६० प्रतिशत सखाप भएको बताए।

    “बेपत्ताहरूको कुनै लेखाजोखा छैन,” उनले भने, “मेरो [गाउँपालिकाका] उपाध्यक्ष, दुई जना वडाध्यक्ष, कार्यपालिकाका सदस्य र कर्मचारीहरू थुप्रै बेपत्ता छन्।”

    बेपत्ता सर्वसाधारणको विवरण सङ्कलन भइरहेको उनले जानकारी दिए।

    विपत्तिमा परेका नागरिकले सेवा र सहारा खोज्ने पहिलो जनप्रतिनिधि निकाय कार्यालयविहीन भएका छन्।

    आफ्नो पालिकाका कार्यालयहरू पनि सबै ध्वस्त भएको बताउँदै उनले भने, “केही पनि बाँकी छैन, नामनिसान छैन।”

    उनका अनुसार वडा नम्बर ५ का अध्यक्ष पनि बेपत्ता छन्।

    उक्त वडाकी महिला सदस्य विविरानी तामाङले कार्यालय गएका बेला वडाध्यक्षलाई बाढीले बगाएको जानकारी पाएको बताइएको छ।

    “पालिकाका कर्मचारीहरू पनि कति कहाँ छन् अहिलेसम्म केही थाहा छैन,” उनले भनिन्, “पालिका र वडाको कार्यालय केही छैन, सबै बाढीले लग्यो।”

  17. तिब्बतमा बनेको पानीको ड्याम फुट्यो, सतर्क रहन आह्वान

    सूचना

    तस्बिर स्रोत, PMO

    नेपाल प्रहरीले तिब्बत तर्फ बनेको पानीको ड्याम पुनः फुटेको जानकारी प्राप्त भएको जनाएको छ।

    प्रहरीले उद्धार तथा राहत कार्यमा खटिएका सम्पूर्ण सुरक्षाकर्मी उद्धारकर्मी र सर्वसाधारणहरुलाई सतर्क रहन भनेको छ।

  18. मृतकको सङ्ख्या बढ्यो

    रसुवामा बुधवार आएको विनाशकारी बाढीका कारण शुक्रवार बिहान ९:०० बजेसम्म ४७५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

    तीमध्ये रसुवामा १२ जना,नुवाकोटमा ३७ जना,धादिङमा ३७ जना,चितवनमा १७९ जना,गोरखामा ४४ जना, तनहुँमा २८ जना, नवलपरासी पूर्वमा १ १० र नवलपरासी पश्‍चिम २८ जना गरी कुल ४७५ जनाको शव फेला परेको छ।

    विभिन्न स्थान अनि त्रिशूली र नारायणी नदीमा शव भेटिने क्रम जारी छ।

    अधिकारीहरूले प्रभावित स्थानमा खोज र उद्धारकार्य जारी रहेको बताएका छन्।

  19. 'बाढी आउनुअघि रसुवागढीमा ९० जनाले तिब्बत प्रस्थान गर्ने अनुमति लिएका थिए', तीमध्ये ५७ जना विदेशी नागरिक

    रसुवाको सीमापारि तिब्बतपट्टि रहेको चिनियाँ अध्यागमनको कार्यालयमा बाढी बज्रिँदै गरेको देखिने भिडिओ सार्वजनिक भएको छ

    तस्बिर स्रोत, Reuters

    तस्बिरको क्याप्शन, रसुवाको सीमापारि तिब्बतपट्टि रहेको चिनियाँ अध्यागमनको कार्यालयमा बाढी बज्रिँदै गरेको देखिने भिडिओ सार्वजनिक भएको छ

    नेपालको अध्यागमन विभागले बुधवार बिहान बाढी आउनुअघि रसुवास्थित नेपालको अध्यागमनबाट झन्डै ९० जनाले प्रस्थानको अनुमति लिएको र त्यसमा ५७ जना विदेशी नागरिक रहेको जनाएको छ।

    अध्यागमन विभागको सूचनामा चार जनाले अध्यागमन कार्यालयबाट नेपालतर्फ आगमन गरेको देखिन्छ। तीमध्ये एक जना भारतीय नागरिक छन्।

    विभागका प्रवक्ता शिवप्रसाद लम्सालले बीबीसीसँग भने, “त्यो दिन बिहान ८:३५ बजेसम्म हाम्रो अध्यागमन कार्यालयबाट उहाँहरू ‘एक्जिट’ हुनुभएको देखिन्छ।”

    “चिनियाँ अध्यागमन कार्यालय केही ढिला खुल्छ। हाम्रो कार्यालयभन्दा उता पनि नेपाली भूभाग छ।”

    प्रस्थान गर्नेहरूको सूचीमा ३२ जना भारतीय र १२ जना चिनियाँ नागरिक छन्। त्यसमा संयुक्त राज्य अमेरिकाका ९ अनि यूके, क्यानडा, अस्ट्रेलिया र इटलीका एक-एक नागरिक छन्।

  20. ठाउँठाउँमा सडक अवरुद्ध

    नुवाकोटको विदुरस्थित ढुङ्गेबजारमा थुप्रिएको लेदोमा फसेको एउटा टिपर

    तस्बिर स्रोत, RSS

    तस्बिरको क्याप्शन, नुवाकोटको विदुरस्थित ढुङ्गेबजारमा थुप्रिएको लेदोमा फसेको एउटा टिपर

    भोटेकोशी तथा त्रिशूली नदीमा बुधवार आएको बाढी विभिन्न राजमार्ग र सडकखण्ड अवरुद्ध भएको राष्ट्रिय समाचार समितिले जनाएको छ।

    प्रहरी प्रधान कार्यालयका अनुसार पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–गल्छी र मुग्लिन–नारायणगढ खण्ड र पासाङल्हामुसहितका मार्गहरू अझै खुलेका छैनन्।

    तर पृथ्वी राजमार्गको गल्छी-बैरेनी खण्डमा बिहीवार साँझदेखि एकतर्फी सवारीसाधन सञ्चालनमा आएको छ।

    सोही खण्डको जरिखेत खण्डमा थुप्रिएको माटो तथा ढुङ्गा पन्छाएर यातायात पुनः सञ्चालनमा आएको सडक विभागका प्रवक्ता शुभराज न्यौपानेले राससलाई बताए।

    अहिले मलेखु‍-गलौदी खण्डमा ७०० मिटर लेदो हटाउने काम भइरहेको र त्यो काम सकिएपछि पृथ्वी राजमार्ग सञ्चालनमा आउने विभागले जनाएको छ।

    नेपाल प्रहरी प्रधान कार्यालयका अनुसार धादिङको बेनीघाट रोराङ गाउँपालिका-१० ज्याङखोलामा र सोही गाउँपालिकामा पर्ने बिहानी पम्पतर्फ पनि लेदो हटाउने काम भइरहेको छ।

    तर उक्त गाउँपालिकाको गलौदीमा एक्स्कभेटरसहितका उपकरण जान नसकेकाले सडकमा अवरोध कायम छ।

    धादिङको गजुरी गाउँपालिका-६ जहरेखेत र बाङ्गेमोड सडकखण्ड पनि अवरुद्ध छ। गल्छी गाउँपालिका–६ बैरेनीको लेदो हटाउने कार्य भइरहेको छ।