तेस्रो लिङ्गीलाई फौजमा नलिने आदेशमाथि रोक

सेना

तस्बिर स्रोत, AFP/Getty Images

Published

अमेरिकाको एउटा संघीय अदालतले सेनामा तेस्रो लिङ्गीहरुको प्रवेशमाथि राष्ट्रपति डोनल्ड ट्रम्पले लगाएको प्रतिबन्ध तत्कालका लागि रोक्का गरेको छ।

जिल्ला न्यायाधीश कोलीन कोलार कोटेलीको आदेशसँगै तेस्रो लिङ्गीहरुले खुल्ला रुपमा सेवा गर्न पाउनेछन् र नयाँ भर्ती पनि हुन पाउनेछ।

न्यायाधीश कोटेलीले प्रतिबन्ध लगाउन राष्ट्रपतिले देखाएका कारणहरुलाई कुनै तथ्यले समर्थन नगरेको देखिएको बताएकी छन्।

गत जुलाईमा एउटा कार्यकारी आदेश जारी गर्दै राष्ट्रपति ट्रम्पले अमेरिकी सेनामा तेस्रो लिङ्गीहरुको प्रवेशमाथि प्रतिबन्ध लगाएका थिए।

उल्लंघन

आफूहरुको संवैधानिक अधिकार उल्लंघन भएको भन्दै त्यसविरुद्ध तेस्रो लिङ्गी सैनिकहरुको एउटा समूहले गत महिना अदालतमा मुद्दा हालेको थियो।

अनपेक्षित रुपमा गत जुलाईमा महिना ट्रम्पले ट्वीटमार्फत प्रतिबन्धको संकेत गरेका थिए।

सेना

तस्बिर स्रोत, Getty Images

वरिष्ठ सैनिक अधिकारी तथा विज्ञहरुसँगको सल्लाहपछि आफूले उक्त निर्णय लिएको ट्रम्पले बताएका थिए।

उनले तेस्रो लिङ्गीहरुले सेनालाई औषधि खर्च तथा अन्य कारणले धेरै बोझ थप्ने बताउँदै आएका छन्।

फुकुवा

त्यसपछि गत अगष्टमा राष्ट्रपति ट्रम्पले देशको सेनामा तेस्रो लिङ्गीहरुको भर्ती रोक्न रक्षा मन्त्रालयलाई आदेश दिएका थिए।

रक्षामन्त्री जेम्स म्याटिसलाई पठाइएको आदेशमा गत वर्षको जुन महिनामा सैनिक सेवामा तेस्रो लिङ्गीहरुका लागि फुकुवा गरिएको प्रतिबन्ध पुनः लागू गर्न भनिएको थियो।

ट्रम्पले सैनिक सेवामा रहेका महिला तथा पुरुषले लिङ्ग परिवर्तनका लागि गराउने शल्क्रियामा पनि रोक लगाउन पनि आदेश दिएका थिए।

गत जुलाइको शुरुतिर रक्षामन्त्री म्याटिसले ओबामा प्रशासनले तेस्रो लिङ्गीहरुलाई सेनामा भर्ना लिने भन्ने विषयमा सन् २०१६ मा पेश गरेको योजना कार्यान्वयन गर्न ६ महिना ढिला गर्ने निर्णय गरेका थिए।