खशोग्जी हत्या: सन्दिग्धलाई टर्की पठाउन साउदी अरेबियाले किन गर्यो अस्वीकार

विदेशमन्त्री अदेल अल जुबेर

तस्बिर स्रोत, AFP

Published

पत्रकार जमाल खशोग्जीको हत्यामा शंकास्पद ठानिएकाहरूलाई सुम्पिन टर्कीले गरेको अनुरोधलाई साउदी अरेबियाका विदेशमन्त्रीले अस्वीकार गरेका छन्।

एक साता भन्दा अघि टर्कीका राष्ट्रपति रेजेप तय्यिप एर्दोआनले खशोग्जीको हत्यामा शंकास्पद ठानिएकाहरूलाई टर्की सरकारलाई सुम्पिन माग गरेका थिए।

त्यसै विषयमा टर्कीको अदालतले पनि बुधवार पक्राउपूर्जी जारी गरेको थियो।

विदेशमन्त्री अदेल अल जुबेरले भनेका छन्, "हामी हाम्रा नागरिकहरूलाई सुम्पिदैनौं।"

अभियोग

अक्टोबरमा इस्तानबुलस्थित साउदी महावाणिज्य दूतावासमा भएको हत्यामा साउदी अरेबियाले ११ जनालाई अभियोग लगाएको छ।

साउदी गुप्तचर निकायका पूर्व प्रमुख अहमद अल अशिरि र पूर्व शाही सल्लाहकार साउद अल कहतानीलाई टर्कीमा पक्राउ पूर्जी जारी गरिएको थियो।

विदेशमन्त्री अल जुबेरले टर्कीले सूचना साउदी अरेबियालाई बाँडेको तरिकाको आलोचना गरेका छन्।

'आदेश उच्च तहबाटै'

एएफपी समाचार संस्थाले उनलाई उद्धृत गर्दै लेखेको छ, "हामीले टर्कीस्थित हाम्रा साथीहरूलाई अदालतमा प्रयोग गर्नसकिने प्रमाणहरू उपलब्ध गराइदिन भनेका थियौं। तर हामीले जस्तो तरिकाले हामीले प्राप्त गर्नुपर्थ्यो त्यसरी पाएका छैनौं।"

टर्कीका राष्ट्रपति एर्दोआनले खशोग्जीको हत्या गर्न साउदी सरकारको उच्च तहहरूबाट आदेश आएको बताएका छन्।

तर उनले साउदी शाही परिवारमाथि भने आफूले आँच पुर्याउन नचाहेको आश्वस्त पारे।

साउदी अरेबियाले भने उक्त हत्यामा साउदी राजकुमार मोहम्मद बिन सलमानको हात रहेको भन्ने आरोपलाई अस्वीकार गर्दै आएको छ।