किन राखे ट्रम्पले पुटिनसँगको छलफलको कुरा गोप्य?

ट्रम्प/पुटिन

तस्बिर स्रोत, Reuters

Published

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिनसँगको कुराकानीसम्बन्धी विस्तृत विवरण लुकाएको भन्ने आरोप अस्वीकार गरेका छन्।

आफूले केही पनि गोप्य नराखेको ट्रम्पको दाबी छ।

द वाशिङ्टन पोस्ट पत्रिकाका अनुसार सन् २०१७ मा पुटिनसँग भएको कम्तीमा एउटा भेटवार्तापछि ट्रम्पले आफ्ना अनुवादकका टिपोट आफैसँग राखे।

हेल्सिन्कीमा गत वर्ष पुटिनसँग ट्रम्पले गरेको दुई घण्टा लामो एक्लाएक्लै भेटवार्ताको कुनै रेकर्ड नराखिएको बताइएको छ।

'छानबिनको दायरामा'

सन् २०१६ को चुनावअघि पुटिनसँगको ट्रम्पको सम्बन्धको कुरा पनि सङ्घीय छानबिनको दायरामा छ।

सङ्घीय अनुसन्धान निकाय एफबीआईका पूर्वप्रमुख रोबर्ट म्युलर नेतृत्वको टोलीले ट्रम्पको चुनावी अभियान समूह र मस्कोबीच साठगाँठ भए वा नभएको अनि ट्रम्पलाई जिताउन उसले सघाए वा नसघाएकोबारे अनुसन्धान गरिरहेको छ।

यसै हप्ताको शुरूतिर द न्यूयोर्क टाइम्सले जनाएअनुसार एफबीआईका तत्कालीन निर्देशक जेम्स कोमीलाई ट्रम्पले बर्खास्त गरेपछि रुसका लागि उनले गोप्य रूपमा काम गरेको भन्नेबारे एफबीआईले अनुसन्धान शुरू गरेको छ।

निष्कर्ष

सन् २०१६ मा अमेरिकी गुप्तचर निकायहरूको निष्कर्ष थियो- ट्रम्पलाई सघाउने र उनकी प्रतिद्वन्द्वी हिलरी क्लिन्टनलाई धक्का पुर्‍याउने उद्देश्यका साथ रुसले साइबर आक्रमणहरू गरेको थियो र सामाजिक सञ्जालमा झुट्टा समाचार राख्न लगाएको थियो।

पछिल्लो आरोपबारे फक्स न्यूजलाई ट्रम्पले भनेका छन्, "मैले केही पनि गोप्य राखेको छैन।"

अरू राष्ट्रपतिले जस्तै आफूले हेल्सिन्कीमा पुटिनसँग कुराकानी गरेको र अर्थतन्त्र जस्ता विषयमा उनीसँग एकदमै सकारात्मक कुराकानी भएको ट्रम्पले बताएका छन्।

आफूले कैयौँ विश्व नेताहरूसँग भेटवार्ता गरे पनि पुटिनसँगको वार्ताबारे मात्रै चर्चा हुने गरेको ट्रम्पको गुनासो छ।