सगरमाथा आरोहण: मौसम खुल्यो, आठ आरोही शिखरमा पुगे

सगरमाथा
तस्बिरको क्याप्शन, फाइल तस्बिर
    • Author, प्रदीप बस्याल
    • Role, बीबीसी नेपाली सेवा
  • Published

विश्वको सर्वोच्च शिखर सगरमाथामा यो वर्षको वसन्त ऋतुमा पहिलो पटक आठ आरोहीहरू पुगेका छन्।

उनीहरू साउथ कोलभन्दा माथि डोरी टाँग्दै मङ्गलवार दिउँसो पौने दुई बजे ८,८४८ मिटर अग्लो शिखरमा पुगेको पर्यटन विभागकी निर्देशक मीरा आचार्यले सगरमाथा आधार शिविरबाट बताइन्।

झन्डै ७,९०० मिटर उचाइमा रहेको चौथो शिविरसम्म डोरी टाँग्ने काम वैशाख १८ मै सकिएको थियो।

"यससँगै अब अन्यका आरोहीका लागि चुचुरो पुग्ने बाटो खुलेको छ," विभागकी निर्देशक आचार्यले भनिन्।

तिब्बततर्फ रहेको सगरमाथाको उत्तरी मोहडामा भने डोरी टाँग्न बाँकी रहेको छ।

त्यसतर्फ आइतवार डोरी टाँग्न गएको टोली मौसम अनुकूल नभएको भन्दै फर्केको विवरण प्राप्त भएको छ।

मङ्गलवार बिहान पौने दश बजेतिर पाँच शेर्पाहरूको एउटा टोली डोरी टाँग्दै ८,५१६ मिटर अग्लो ल्होत्से हिमालमा पुगेको थियो। यो याममा सो हिमालमा भएको यो पहिलो आरोहण हो।

सगरमाथा र ल्होत्से हिमाल जाने बाटो तेस्रो शिविरभन्दा केहीमाथिसम्म एउटै हो।

सगरमाथा

'मौसम खुल्यो'

यो आरोहणसँगै वर्षमा केही दिन मात्र अनुकूल हुने सगरमाथाको मौसम खुलेको अधिकारीहरूले बताएका छन्।

वर्षका अन्य दिन प्रतिघण्टा २०० किलोमिटरसम्म हुने चुचुरोको वायुको गति प्रतिघण्टा २०-३० किलोमिटरमा झर्ने सानो समय पहिल्याएर आरोहीहरू चुचुरोमा पुग्न खोज्छन्।

अघिपछिभन्दा हिउँ कम परेको बेलामा आरोहण गर्ने गरिन्छ।

सगरमाथा आधार शिविरबाट चुचुरोसम्मको यात्रा सामान्यत: पाँच दिनको हुने हुनाले आरोहीहरूले एक हप्तापहिला नै शिखर पुग्ने दिन तय गरेर अगाडि बढिरहेको अधिकारी एवम् पर्वतारोहण कम्पनीहरूले बताएका छन्।

लामो समयदेखि मौसमको समीक्षा गरेर तथा विभिन्न देशका मौसम पूर्वानुमान गर्ने निकायहरूको विवरण तुलना गरेर शेर्पा तथा अन्तर्राष्ट्रिय पथप्रदर्शकहरू शिखरतिर जाने उपयुक्त समयको गणना गर्छन्।

कहिलेकाहीँ अनुकूल दिनहरू थोरै हुने भएकाले आरोहीहरू सकेसम्म अघिल्ला दिनमै चुचुरोमा पुग्ने उद्देश्य राख्छन्।

को को पुगे शिखरमा?

पर्यटन विभागका अनुसार शिखरमा पुग्ने सबै आठ आरोही नेपाली हुन्।

  • सिद्धिबहादुर तामाङ, टोली नेता
  • पासादावा शेर्पा
  • दर्जी ग्याल्जेन शेर्पा
  • पासाङ दावा शेर्पा
  • दावा नुर्बु शेर्पा
  • मिङ दोर्जे शेर्पा
  • आङ फुर्वा शेर्पा
  • साङ्बु भोटे लामा

उनीहरूमध्ये पाँच जना सङ्खुवासभा, दुई जना सोलुखुम्बु र एक जना दोलखाका भएको आधार शिविरमा रहेका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले बीबीसी नेपाली सेवालाई बताए।

भिडिओ क्याप्शन सुरु हुँदैछ, ‘सगरमाथा २५ पटक चढ्छु’

कठिन बाटो

यो वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि नेपालमा सर्वाधिक ३७८ जनाले अनुमति लिएका छन्।

सगरमाथा

अहिले दोस्रो शिविर र तेस्रो शिविरमा दर्जनौँ आरोही र शेर्पाहरू चुचुरो पुग्ने पालो कुरेर बसिरहेको अधिकारीहरूले बताएका छन्।

"अहिलेलाई १६ मे सम्म अनुकुल मौसम देखिएकोले हामी केही भने आधार शिविरमै छौं," एक आरोहण कम्पनीका निर्देशक चतुर तामाङ्ले बताए।

"त्यसपछिको अनुकुल मौसम भने २० मे लगत्तै देखिएकाले बाँकी दोस्रो चरणका लागि सो समयको योजना बनाएका छौं।"

तेस्रो शिविरभन्दा माथिको केही र चौथो शिविरभन्दा माथिको भागमा साँघुरो बाटो भएकाले त्यहाँ एकतर्फी आउजाउ मात्र सम्भव हुने आरोहीहरू बताउँछन्।

अडिओ क्याप्शन सुरु हुँदैछ, सगरमाथा आरोहणलाई कसरी व्यवस्थित बनाउने?

धेरै जोखिमपूर्ण मानिने तथा 'डेथ जोन' भनिने आठ हजार मिटर माथिको क्षेत्रमा कुनै शिविर छैन।

त्यहाँभन्दा माथि लागेपछि सगरमाथा आरोहणको अन्तिम चरण सुरु भएको मानिन्छ।

लेक लाग्ने उच्च जोखिमका कारण चौथो शिविरमा पनि आरोहीहरू सकेसम्म रात काट्न खोज्दैनन्।

त्यहाँ प्राय: उकालो लाग्दा र फर्कँदा खाने खानेकुरा र आपत्कालीन प्रयोगका लागि आवश्यक अक्सिजन सिलिन्डर भण्डारण गरिन्छ।

सामान्यत: आरोहीहरू शिखरमा पुग्नेका लागि एक दिन अगावै क्याम्प थ्रीबाट साँझपख उकालो लाग्छन् भोलिपल्ट विहानदेखि मध्यान्नभित्र पुग्छन्।

सगरमाथा आधार शिविर

डेथ जोनमा अधिकांश आरोहीहरू अक्सिजनका सिलिन्डरमा भर पर्ने हुँदा त्यहाँ विलम्ब हुँदा ज्यान पनि जान सक्ने बताइन्छ।

आरोहीसँग सीमित मात्रामा अक्सिजन हुने तथा चिसो हावा र हिउँले शरीरका अङ्गमा पनि असर पार्न सक्ने हुँदा सो क्षेत्रमा ठूलो जोखिम हुने बताइन्छ।

केही वर्षयता आरोहीहरूको चाप बढेकाले सगरमाथामा बेलाबेला 'ट्राफिक जाम' पनि हुने गरेको छ।