सुडान: सङ्क्रमणकाल तीन वर्षसम्म सीमित राख्न विपक्षी र सेनाबीच सहमति

सुडानी प्रदर्शनकारी

तस्बिर स्रोत, AFP

Published

सुडानको सङ्क्रमणकालीन सैन्य परिषदले तीन वर्षभित्र नागरिक सरकार निर्माण गर्नको लागि विपक्षी दलहरूसँग सहमति भएको घोषणा गरेको छ।

त्यो घोषणा सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सेनाका अधिकारीहरू विपक्षी गठबन्धनका प्रतिनिधिहरूसँगै देखिएका छन्।

लेफ्टिनेन्ट जनरल यासेर अल अटाले अब विधान परिषद गठन हुने र त्यसमा विपक्षी गठबन्धनको पनि दुई तिहाइ सिटहरू रहने बताए।

सत्ता बाडफाँटका विषयमा २४ घन्टाभित्र सम्झौतामा हस्ताक्षर हुने भनिएको छ।

सैनिक शासन

सुडानमा प्रदर्शनमा उत्रिएकी एक कलाकार

तस्बिर स्रोत, Getty Images

राष्ट्रपति ओमार अल बाशिर सत्ताच्युत गरिएपछि सुडानमा सैन्य परिषदले शासन गरिरहेको छ।

त्यसअघि प्रदर्शनकारीहरूले तत्काल नागरिक सरकार गठनको माग गर्दै प्रदर्शनहरू चर्काएका थिए।

प्रदर्शनहरू अझै रोकिएका छैनन्। खार्तुममा प्रदर्शन रोक्न गरिएको कारबाहीमा मङ्गलवार कम्तीमा छ जनाको ज्यान गएको छ।

तर सैन्य परिषदले त्यो कारबाहीमा सेनाको कुनै हात नरहेको बताएको छ।

उसले त्यसको दोष "शान्ति प्रक्रिया विथोल्ने तत्वमाथि" लगाएको छ।