दुर्लभ सुमात्रन बाघका चारवटा भ्रूणसहित अवैध सिकारी पक्राउ

भ्रूणबाहेक बाघको छाला पनि भेटिएको छ

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, भ्रूणबाहेक बाघको छाला पनि भेटिएको छ
Published

इन्डोनेशियामा दुर्लभ सुमात्रन प्रजातिको बाघको छाला र चारवटा भ्रूणसहित पाँच व्यक्ति पक्राउ परेका छन्।

प्रहरीका अनुसार छाला वयस्क बाघको हो। फेला परेका भ्रूणहरू एउटा सिसाको भाँडोमा थिए।

सुमात्रन प्रजातिका बाघलाई अतिसङ्कटापन्न मानिन्छ। प्राकृतिक वासस्थानमा तिनको सङ्ख्या ४०० वटाभन्दा कम भएको अनुमान गरिएको छ।

ती भ्रूण छाला काढिएकी बघिनीकै हुन् कि हैनन्, त्यो भने स्पष्ट भएको छैन।

जन्मिँदा बाघका डमरूको आँखा खुलेको हुँदैन र केही महिनासम्म ती पूर्णत: माउको भर पर्छन्।

इन्डोनेशियाको पर्यावरण र वन मन्त्रालयका एक अधिकारीका अनुसार एउटा सुराकका आधारमा ती सन्दिग्ध व्यक्तिहरूलाई पक्राउ गरिएको थियो।

तीमध्ये दुई जनाले बाघका भ्रूण र छाला बेच्न खोजेको बताइएको छ। दोषी प्रमाणित भए उनीहरूलाई पाँच वर्ष कारागार र १० करोड इन्डोनेशियाली रुपिया (झन्डै ७१०० अमेरिकी डलर) दण्ड हुन सक्छ।

सुन्डा उपजातिको उक्त बाघ कुनै बेला इन्डोनेशियाका जाभा, बाली र सुमात्रा द्वीपमा विचरण गर्थे। अहिले ती सुमात्रामा सीमित छन्।

बढ्दो वनविनाश र अवैध सिकारका कारण उक्त वन्यजीव जाभा र बालीमा पाइने बाघजस्तै लोप हुन सक्ने खतरा भएको विश्व वन्यजन्तु कोष (डब्ल्यूडब्ल्यूएफ) ले जनाएको छ।

बाघको छाला र भ्रूण

तस्बिर स्रोत, AFP

इन्डोनेशियामा बाघको सिकार गरेको पाइए जेल सजाय र ठूलो जरिबाना हुन्छ।

वन्यजन्तु व्यापारको निगरानी गर्ने ट्राफिक नामक सञ्जालका अनुसार सुमात्रन बाघमा हुने मृत्युको कारणमा ८० प्रतिशत व्यापारका लागि गरिने अवैध सिकार जिम्मेदार छ। अर्थात् प्रत्येक वर्ष ४० वटा बाघको सिकार भइरहेको छ।

चीन तथा एशियाका केही भागमा बाघको हड्डी र अन्य अङ्गको औषधीय महत्त्व भएको परम्परागत मान्यता छ। त्यसले बाघको अवैध सिकारलाई प्रोत्साहन गरेको बताइन्छ।