नेपाल कोरोना भाइरस: कोभिड-१९ सँग जुझ्न जडीबुटी कति प्रभावकारी

कोरोना भाइरस
Published

आयुर्वेद र वैकल्पिक चिकित्सा पद्धतिमार्फत कोरोनाभाइरसको रोकथामका उपाय र व्यवस्थापन सम्बन्धी सरकारी निर्देशिकाले शरीरमा रोगप्रतिरोधी क्षमता बढाउन जडीबुटीको नियमित प्रयोगलाई प्रवर्द्धन गर्ने लक्ष्य लिएको अधिकारीहरूले बताएका छन्।

गत हप्ता स्वास्थ्य मन्त्रालयले जारी गरेको उक्त निर्देशिकाले दैनिक रूपमा भान्छामा प्रयोग हुने कतिपय मसला र सजिलै पाइने जडीबुटीले भाइरससँग लड्ने क्षमता बढाउने उल्लेख गरेको छ।

हालसम्म कोरोनाभाइरसको औषधि पत्ता लागेको छैन र खोप बनिसकेको पनि छैन।

वैज्ञानिक हिसाबले पूर्ण रूपमा प्रमाणित तथ्यहरू उल्लेख गरिएमात्रै यस्ता निर्देशिका अर्थपूर्ण हुने जनस्वास्थ्यविद्हरू बताउँछन्।

अध्ययनहरूले प्रमाणित गरेका विषय सन्दर्भ सामग्री सहित राखेर निर्देशिका तयार गरिएको आयुर्वेद र वैकल्पिक चिकित्सा विभागका महानिर्देशकले बीबीसीलाई बताए।

उनले उक्त दस्तावेज दैनिक व्यवहारमा कार्यान्वयन भए त्यसले कोरोनाभाइरसको सङ्क्रमण रोकथाममा मद्दत पुर्‍याउने पनि उल्लेख गरे।

निर्देशिकामा के छ?

४० पृष्ठ लामो उक्त निर्देशिका आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग, आयुर्वेद चिकित्सा परिषद् नेपाल र त्रिभुवन विश्वविद्यालय आयुर्वेद क्याम्पस एवम् शिक्षण अस्पतालले संयुक्त रूपमा तयार पारेका हुन्।

त्यसमा नीमको पात, तुलसीको पात, घ्यूकुमारी, तितेपातीको पात र फिटकिरीको धूलो प्रयोग गरी स्यानिटाइजर बनाउन सकिने उल्लेख छ।

त्यसबाहेक रोग प्रतिरोधी प्रणालीका लागि प्रभावकारी योगाशन र प्राणायामहरूको चर्चा गरिएको छ।

साथै दैनिक रूपमा खानामा बेसार, जीरा, धनियाँ र लसुनको प्रयोग गर्न सुझाइएको छ। बेसारले शरीरमा उत्पन्न विषाक्ततालाई नष्ट गर्ने, जीरा र धनियाँले हृदयरोग, नसारोग, रक्तचाप र रक्तअल्पताको जोखिम कम गर्ने अनि लसुनले शरीरको पाचनप्रणालीलाई फाइदा पुर्‍याउने भनिएको छ।

रुघा, खोकी, ज्वरो र श्वास प्रश्वासमा समस्या देखिनुलाई कोरोनाभाइरसको मुख्य लक्षण भन्ने गरिएको छ।

उक्त निर्देशिकामा पानीमा पकाएर केही घरेलु जडीबुटीहरू सेवन गर्नाले त्यसले रोगप्रतिरोधी क्षमता बढाउन फाइदा पुर्‍याउने उल्लेख गरिएको छ।

Presentational white space
कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर

त्यस अन्तर्गत गुर्जोलाई पानीमा पकाएर चियाजस्तै पिउन सकिने अनि असुरोको पात र बेसारलाई चिया जसरी पकाएर पिउन सकिने उल्लेख छ।

त्यस्तै विधिबाट दालचिनी र तेजपातलाई चिया जसरी पकाएर पिउन र सुठो, मरिच, पिप्ला र तुलसीको पात पानीमा पकाएर पिउन सुझाव दिइएको छ।

कोरोनाभाइरस

तस्बिर स्रोत, Getty Images

उक्त निर्देशिकामा कोभिड-१९ को लक्षण अनुसार स्वास्थ्य समस्यामा प्रयोग गर्न सकिने कतिपय जडीबुटीहरूबारे उल्लेख गर्नुका साथै स्वस्थ रहन आवश्यक दैनिकीको पनि चर्चा गरिएको छ।

विज्ञ के भन्छन्

आयुर्वेद र वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डाक्टर बासुदेव उपाध्याय भन्छन्, "यो निर्देशिका रोगको उपचारका लागि भनेर ल्याइएको होइन। हामीले आयुर्वेद र वैकल्पिक चिकित्सा प्रणालीमा अहिलेसम्म प्राप्त वैज्ञानिक प्रमाणका आधारमा रोकथामका लागि मद्दत गर्न सक्छौँ भनेर प्रष्टसँग उल्लेख गरेका छौँ।"

उनले यो निर्देशिकामार्फत् आफूहरूले आयुर्वेद र वैकल्पिक चिकित्साप्रणालीबारे विद्यार्थी, शिक्षक र जनप्रतिनिधिहरूमाझ जनचेतना जगाउन चाहेको बताए।

उक्त निर्देशिकामा कोभिड-१९ को लक्षण अनुसार स्वास्थ्य समस्यामा प्रयोग गर्न सकिने कतिपय जडीबुटीहरूबारे उल्लेख गर्नुका साथै स्वस्थ रहन आवश्यक दैनिकीको पनि चर्चा गरिएको छ।

योग
तस्बिरको क्याप्शन, निर्देशिकामा योगले शरीरको रोग प्रतिरोधी क्षमता बढाउने उल्लेख छ

एक जना जनस्वास्थविद् डाक्टर शरद वन्तले स्वास्थ्य उपचारमा आयुर्वेद पद्धतिको महत्त्वलाई नकार्न नसकिने भएपनि आधुनिक चिकित्सा विज्ञान नै स्थापित र प्रमाणित भएको प्रतिक्रिया दिए।

उनी भन्छन्, "आधिकारिक रूपमा सरकारी स्तरबाट पनि हामीले आयुर्वेदलाई मान्यता दिएका छौँ। तर वैज्ञानिक खोज र अनुसन्धानबाट प्रमाणित भएका कुरा बढी विश्वशनीय हुन्छन्। त्यस्ता खोजका दस्तावेज नभएसम्म कतिपय दाबीहरूलाई स्वीकार गर्न असहज भइराख्छ।"

उनले आयुर्वेद र आधुनिक चिकित्साविज्ञानबीच आधारभूत फरक रहेको उल्लेख गर्दै दुईपक्षले एकअर्काका कुरा राम्रोसँग बुझ्न नसकेको हुनसक्ने बताए।

आयुर्वेदमा पनि रुचि राख्ने त्रिभुवन विश्वविद्यालय अन्तर्गतको औषधि चिकित्सा विज्ञान विभागका सह-प्राध्यापक डाक्टर सम्मोद आचार्य पछिल्लो निर्देशिकाले भाइरसको विरूद्ध जडीबुटीहरूको पनि प्रयोग गर्न सकिन्छ भन्ने बुझाउने सकारात्मक प्रयास गरेको बताए।

उनले भने, "राम्रो अनुसन्धान गरेर उक्त दस्तावेज तयार भएको देखिन्छ। तर आधुनिक चिकित्सा प्रणाली र आयुर्वेद मिलेर काम गर्ने खालको आशय निर्देशिकाले राखेको जस्तो देखिदैँन्। नेपालको सन्दर्भमा दुवै अलग्गै होइन मिलेर जानुपर्ने अवधारणा अघि बढाउनुपर्छ।"

उनले दस्तावेज नेपाली भाषामा नहुँदा त्यसको प्रभावकारिता कम हुने भएकाले यसबारे अधिकारीहरूले व्यवस्था गर्नुपर्ने बताए।

उनले कोभिड-१९ लाई लक्षित गरि ल्याइएको निर्देशिकामा उल्लेख भएका जडीबुटीले मात्रा थैरै तलमाथि हुँदा शरीरलाई हानी गर्ने अवस्था नरहेको पनि उल्लेख गरे।

बरू नेपालमा जडीबुटीको उचित प्रयोग र संरक्षण हुन नसकेको र त्यस सम्बन्धी ज्ञान हराउँदै गएको भन्दै आचार्यले चिन्ता प्रकट गरे।