भारतले 'जासुसी' गर्न आएको दाबी गरेको परेवा फिर्ता गरिदिन पाकिस्तानी गाउँलेको मोदीलाई अनुरोध

भारतले समातेको परेवा

तस्बिर स्रोत, ANI

Published

पाकिस्तानका एक गाउँलेले भारतको नियन्त्रणमा रहेको आफ्नो परेवा फिर्ता गरिदिन भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई आग्रह गरेका छन्।

भारतीय पक्षले उक्त परेवा कश्मीरको सीमापारि जासुसीका लागि पाकिस्तानबाट उडाइएको आशङ्कामा समातेर राखेको छ।

भारत र पाकिस्तानको सीमाबाट चार किलोमिटर परको एउटा गाउँमा बस्ने एक व्यक्तिले आफूले ईदको बेला उक्त परेवा उडाएको दाबी गरेका छन्।

भारतीय प्रहरीले उक्त परेवाका दुवै खुट्टामा केही सङ्केत अङ्कित औँठी भएको र त्यसको अर्थ पत्ता लगाउन खोजिएको बताएको छ।

उक्त परेवा आफ्नो भएको दाबी गर्ने पाकिस्तानी गाउँलेले उक्त सङ्केत आफ्नो मोबाइल नम्बर भएको बताएका छन्।

पाकिस्तानको डन पत्रिकाले ती व्यक्तिको नाम हबिबुल्लाह भएको र उनले एक दर्जन परेवा पालेको जनाएको छ।

हबिबुल्लाहले आफ्नो परेवा "शान्तिको प्रतीक" भएको र भारतले त्यसलाई दु:ख दिनु नहुने बताएका छन्।

सोमवार भारत-प्रशासित कश्मीरका गाउँलेहरूले उक्त परेवा समातेर प्रहरीलाई बुझाएका थिए।

पाकिस्तानबाट उडेर आएको परेवा भारतीय पक्षले समातेको यो पहिलो पटक हैन।