नेपाल बजेट: आर्थिक वर्ष २०७७/७८ का लागि १४ खर्ब ७४ अर्ब रुपैयाँको बजेट सार्वजनिक

Published

अर्थमन्त्रीले युवराज खतिवडाले आर्थिक वर्ष २०७७/७८ को बजेट सङ्घीय संसद्‌मा प्रस्तुत गरेका छन्।

आगामी आर्थिक वर्षका लागि कुल १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँ विनियोजित गरिएको छ।

चालु आर्थिक वर्षका लागि सरकारले १५ खर्ब ३२ अर्ब १८ करोड रुपैयाँ बजेट ल्याएको थियो।

आगामी आर्थिक वर्षका लागि सरकारले चालुतर्फ ९ खर्ब ४८ अर्ब र पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ९१ करोड रुपैयाँ विनियोजन गरेको छ। त्यस्तै वित्तीय व्यवस्थाका लागि १ खर्ब ७२ अर्ब रुपैयाँ विनियोजन गरिएको छ।

खतिवडाका अनुसार आगामी आर्थिक वर्षको अनुमानित खर्च बेहोर्ने स्रोतमध्ये राजस्वबाट ८ खर्ब ८९ अर्ब ६२ करोड रुपैयाँ र वैदेशिक अनुदानबाट ६० अर्ब ५२ करोड बेहोरिनेछ।

त्यस्तै वैदेशिक ऋणबाट २ खर्ब ९९ अर्ब ५० करोड रुपैयाँ जुटाइने छ। आन्तरिक ऋणबाट २ खर्ब २५ अर्ब रुपैयाँ उठाउने सरकारको विश्वास छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका लागि ९० अर्ब ६९ करोड छुट्याइएको उनले बताए। त्यसैगरी कोरोनाभाइरस नियन्त्रणका लागि ६ अर्ब रुपैयाँ छुट्याइएको छ।

उक्त रकम कोरोनाभाइरस सङ्क्रमण नियन्त्रण तथा नियन्त्रणका लागि तत्काल आवश्यक पर्ने औषधि, उपकरण तथा उपचारका लागि छुट्याएको बताइएको छ।

स्वास्थ्य क्षेत्रमा गत वर्षको तुलनामा करिब २२ अर्ब रुपैयाँ बढी विनियोजन गरिएको छ। गत आर्थिक वर्षमा सरकारले उक्त क्षेत्रमा ६८ अर्ब ७८ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो।

त्यस्तै कोरोनाभाइरस सङ्क्रमण रोकथामका लागि अग्रपङ्क्तिमा खटिएकाबाहेक अन्य कर्मचारीलाई दिइँदै आएको सबै भत्ता खारेज गरिएको छ।

अर्थमन्त्री खतिवडाले लगातार तेस्रो बजेट प्रस्तुत गरेका हुन्।