पोपको आधिकारिक इन्स्टाग्राम अकाउन्टबाट मोडलको अर्धनग्न तस्बिर लाइक भएपछि अनुसन्धान सुरु

पोप फ्रान्सिस

तस्बिर स्रोत, EPAVATICAN MEDIA HANDOUT

Published

पोपको आधिकारिक इन्स्टाग्राम अकाउन्टबाट ब्रजिलकी एक मोडलको अर्धनग्न तस्बिर लाइक भएपछि भ्याटिकनले अनुसन्धान सुरु गरेको बताएको छ।

पोप फ्रान्सिसको अकाउन्टबाट नातालिया गरिबोट्टोको तस्बिर कहिले लाइक भयो भन्ने स्पष्ट छैन।

गत शुक्रवार यससम्बन्धी समाचार प्रकाशित हुन थालेपछि पोपको अकाउन्टबाट सो तस्बिरलाई अनलाइक गरिएको छ।

भ्याटिकनका अधिकारीहरूले यो कसरी हुन गयो भनेर अनुसन्धान सुरु गरेको बताएका छन्।

"पोपबाट लाइक भयो भन्ने कुरा हुनै सक्दैन। हामीले इन्स्टाग्रामसँग यस विषयमा जानकारी मागेका छौँ," बिहीवार भ्याटिकनका एक प्रवक्ताले गार्डियन पत्रिकालाई बताए।

पोपको आधिकारिक इन्स्टाग्राम अकाउन्टलाई ७४ लाख मानिसले पछ्याउँछन्।

विभिन्न पत्रिकामा आएका विवरण अनुसार पोपको अकाउन्ट कर्मचारीको एक समूहले चलाउने हुँदा एउटा आन्तरिक अनुसन्धान सुरु गरिएको छ।

गरिबोट्टोले भने सो घटनाबारे रमाइलो टिप्पणी गरेकी छन्।

उनले ट्वीटमा लेखिन्: "कम्तीमा म स्वर्ग जाने निश्चित भयो।"