नेकपा विवाद: के 'आत्मालोचना'ले नेकपाको एकता जोगिन सक्छ?

बामदेव गौतम

तस्बिर स्रोत, RSS

Published

संसद्को तल्लो सदनको विघटनपछि दुई खेमामा बाँडिएको नेकपाका नेता वामदेव गौतमले पुनः एकताको सम्भावनाको चर्चा गरेपछि दुवै पक्षले 'आत्मालोचना' गर्नुपर्ने कुरा उठाएका छन्।

बिहीवार राष्ट्रियसभामा बोलेका गौतमले यतिखेर फेरि एकता गर्न सकिन्छ कि भनेर आफूलाई लागिरहेको बताउँदै त्यसका लागि एक्लै वा सङ्गठनात्मक संरचना गराएर जाने पक्षमा आफू रहेको बताएका थिए।

विघटन अगावै दाहालले पार्टीमा प्रस्तुत प्रस्तावलाई फिर्ता गरेर आत्मालोचना गर्नुपर्ने माग यसअघि नै ओली पक्षका नेताहरूले उठाउँदै त्यसपछि एकताको सम्भावना हुने अभिव्यक्तिहरू दिएका थिए।

उनीहरूले उक्त प्रस्तावलाई दाहालको 'आरोपपत्र' बताउने गरेका छन्।

तर दाहाल-नेपाल समूहका नेता नारायणकाजी श्रेष्ठले बीबीसीलाई भने, "यो कुनै आरोपपत्र फिर्ता लिने कुरा होइन। संसद् विघटन गर्नु गम्भीर गल्ती थियो भनेर त्यसलाई सच्याउनुपर्‍यो।"

विगतमा पनि एकता भएको हुनाले ओलीबाट आत्मालोचना भएर गल्ती सच्याए साथमा अघि बढ्ने सम्भावना सधैँ जीवितै रहने नेता श्रेष्ठले बताए।

ओली पक्ष के भन्छ?

प्रतिनिधिसभा विघटनलाई प्रधानमन्त्रीको 'बाध्यात्मक अवस्था' भन्दै त्यस पछाडिको पृष्ठभूमि समेत केलाएर परिस्थितको समीक्षा हुनुपर्ने ओलीनिकट एक नेताले बताएका छन्।

ओली र प्रचण्ड

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, फाइल तस्विर

प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई भन्छन्, "यो अवस्था आउनुअगाडि अन्तिम समयमा प्रधानमन्त्रीले आरोपपत्र फिर्ता लिएर भदौ २६ को स्थायी समिति बैठक अनुसार दुवै अध्यक्षले गरेका कामको समीक्षा गर्नुपर्ने भन्नुभएको थियो।"

"जे कारण एकता भाँडिएको थियो, त्यसैलाई सच्याउनुपर्‍यो।"

भदौ २६ को स्थायी समिति बैठकले सरकारको जिम्मा ओलीले र पार्टीको जिम्मा दाहालले लिएर चलाउने निर्णय गरेको थियो।

"पार्टीका लागि [प्रचण्ड]ले कति काम गर्नुभयो, सरकार चलाउनका लागि कति काम गर्नुभयो र चल्न नदिनका लागि केके हरकत गर्नुभयो भन्ने कुरा स्मृतिमा ल्याइयो भने पुस ५ गते किन आयो भन्ने थाहा हुन्छ।"

'यो आत्मालोचनाको विषय होइन'

एकताको आधारका रूपमा दुवै पक्षले एकअर्कालाई आत्मालोचनाको विषय उठाइरहँदा कतिपय राजनीतिक विश्लेषकहरू भने पछिल्लो अवस्थालाई पार्टीगत विवादको रूपले मात्र हेर्न नहुने बताउँछन्।

तिनैमध्येका एक राजनीतिक विश्लेषक हरि रोकाले 'देश महामारीले ग्रस्त भएका बेला चालिएको असंवैधानिक कदम'का लागि ओली 'सजायको भागिदार' रहेको बताउँछन्।

"गैरराजनीतिक, गैरसंवैधानिक काम गर्नेसँग कसैले एकताको कुरा गर्छ भने उसले राम्रो मनसायले त्यस्तो कुरा गरेको मानिँदैन," रोकाले बीबीसीसँग भने।

"कोही पनि लोकतान्त्रिक पद्धतिको पालना गर्ने मान्छेले त्यस्तो कुरा गर्नै सक्दैन।"

भिडिओ क्याप्शन सुरु हुँदैछ, राजनीतिक अन्योल बढेको बेला नागरिकहरू के भन्छन्

राजनीतिक विश्लेषकहरू संसद् विघटनको विषय अब संवैधानिक मामिला बनिसकेकोले अब त्यसको निरूपण राजनीतिक आधारमा मात्र हुन नसक्ने बताउँछन्।

गौतमले के भनेका थिए?

बिहीवार राष्ट्रियसभामा बोल्दै बामदेव गौतमले आफू कुनै खेमामा नरहेको बताएका थिए।

उनले मन्तव्यमा नेकपाका दुवै खेमाको आलोचना गर्दै आफ्नो प्रयास अझै पार्टीको एकता जोगाउनमा हुने बताएका थिए।

ओलीबारे उनको भनाइ थियो: "प्रधानमन्त्रीको म कटु आलोचक हुँ र उहाँको कार्यशैलीले नै हाम्रो पार्टीमा धेरै विवाद उब्जाएका हुन्।"

तर पुस ५ गते दाहाल-नेपाल समूहले अविश्वासको प्रस्ताव लैजान खोज्दा वा प्रधानमन्त्रीले प्रतिनिधिसभा भङ्ग गर्न खोज्दा आफूलाई नभनिएको बताएका थिए।

"८/९ महिनादेखि मैले निरन्तर आलोचना गर्ने समूहभित्र बसेर पनि पार्टी एकतालाई जोगाउनका निम्ति अविश्वासका प्रस्तावलाई असफल गराएको थिएँ," गौतमको भनाइ थियो।

गौतमले पार्टी राजनीतिक रूपमा विभाजित भए पनि कानुनी निर्णय भइनसकेको बताउँदै अझै एकताको लागि ठाउँ बाँकी रहेको सङ्केत गरेका थिए।"