कोरोना भाइरस नेपाल: शैक्षिक सत्र लम्ब्याउने शिक्षा मन्त्रालयको गृहकार्य

विद्यालय

तस्बिर स्रोत, Getty Images

Published

कोरोनाभाइरसका कारण अस्तव्यस्त बनेको शैक्षिक सत्रलाई यसपाली चैत्रको सट्टा जेठमा सक्ने तयारी शिक्षा मन्त्रालयले गरेको छ।

सबैजसो विद्यालय माघ महिनायता खुले पनि पाठ्यक्रम सकिने अवस्था नभएको भन्दै शैक्षिक सत्रलाई दुई महिनासम्म लम्ब्याउने तयारी गरिएको अधिकारीहरूले बताएका छन्।

चैत्रमा सकिने शैक्षिक सत्रलाई लम्ब्याउने सरोकारवालाको सुझाव अनुसार गृहकार्य भइरहेको र मन्त्रिपरिषदबाट यसबारेमा छिट्टै निर्णय हुने शिक्षा मन्त्रालयका सचिवले बताएका छन्।

एक शिक्षाविद्ले भने समय थप्नु समाधान नभएको र विद्यार्थीहरूको सिकाइको मूल्याङ्कनका आधारमा निर्णय लिनु पर्ने बताएका छन्।

कोरोनाभाइरस महामारीका कारण यो शैक्षिक सत्रको सुरुवातदेखि नै विद्यालयहरूमा नियमित पठनपाठन हुन सकेको थिएन।

दिन पुर्‍याउने कसरत

असारदेखि वैकल्पिक शिक्षा कार्यक्रम र असोजदेखि विद्यार्थी सिकाइ सहजीकरण निर्देशिकाका माध्यमबाट विद्यार्थीको सिकाइ जारी राख्ने प्रयत्न सरकारले गरेको थियो।

जुन विधिबाट अधिकांश विद्यार्थीहरू समेटिन नसकेका गुनासाका बीच माघ महिनादेखि मात्रै धेरैजसो विद्यालय नियमित सञ्चालनमा आएको बताइएको छ।

शिक्षा नियमावलीमा वर्षमा १९२ दिन पढाइ हुनुपर्ने व्यवस्था छ।

तर यस वर्ष त्यो पूरा गर्न सक्ने अवस्था नभएको र चैत्रमै परीक्षा गर्दा विद्यार्थीलाई गार्‍हो हुने भन्दै शैक्षिक सत्र लम्ब्याउने गरी काम भइरहेको बताइएको छ।

सबैलाई लागु

शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीले भने, "शैक्षिक सत्रको व्यवस्थापन गर्दा बढीमा दुई महिना अगाडि सारेर लैजानु पर्छ भन्ने धेरै सरोकारवालाहरूको धारणा छ।"

"त्यो धारणालाई समावेश गरेर निर्णयमा पुग्ने गरी मन्त्रालयले गृहकार्य गरिरहेको छ। शैक्षिक सत्रका बारेमा देखिएको अन्योल छिट्टै हटाउँछौँ।"

यसरी लम्ब्याइएको शैक्षिक सत्र नियमित रूपले वैकल्पिक माध्यमबाट पढाइरहेका विद्यालयदेखि माघ महिनामा खुलेका विद्यालय सबैमा लागु हुने बताइएको छ।

सिकाइको अवस्था हेर्न सुझाव

तर शैक्षिक सत्र लम्ब्याउने निर्णय गर्नुभन्दा पहिले विद्यार्थीको सिकाइको अवस्था के छ भनेर अध्ययन गर्नु पर्ने र त्यसका आधारमा मात्र निर्णय लिनु पर्ने शिक्षाविद् सुसन आचार्यको भनाइ छ।

उनले भनिन्, "सिकाइको लेखाजोखा नै गरिएको छैन। यो दिन तोक्नेसँग के मतलब भयो र? विद्यार्थीहरूले दुई महिना थपेर सिक्छन् कि सिक्दैनन् भन्ने महत्त्वपूर्ण कुरा हो।"

"यो त विद्यालयहरूलाई नै यति सिक्नु पर्ने तिम्रा विद्यार्थीले सिकेका छन् भने अर्को कक्षामा बढाएर पढाऊ हैन भने कति समयमा सिक्छन् भन्ने निर्णय गर भनेर उनीहरूलाई नै निर्णय गर्न दिनु पर्‍यो।"

यसपटकको शैक्षिक सत्र दुई महिना थप भएमा अर्को शैक्षिक सत्र १० महिनाको बनाउने वा सधैँका लागि नयाँ शैक्षिक सत्र कायम गर्ने भन्ने पनि निर्णय हुनुपर्ने आचार्यको भनाइ छ।

साथै नयाँ शैक्षिक सत्र तोक्दा हिमाली जिल्लाका विषयमा बेग्लै निर्णय गर्नु पर्ने अवस्था देखिन्छ।