डाइनसोर मासिनेगरी महाप्रलय भयो तर सर्पहरू जोगिए अनि पृथ्वीभरि फैलिए

रेन्बो बोआ
तस्बिरको क्याप्शन, एन्टार्क्टिकाबाहेक सबै महादेशमा सर्प पाइन्छ
    • Author, हेलेन ब्रिग्स
    • Role, विज्ञान तथा पर्यावरण संवाददाता
  • Published

डाइनसोर नै लोप हुनेगरी एउटा क्षुद्रग्रह बजारिएका कारण पृथ्वीमा सर्प फैलिन सफल भएको एउटा नयाँ अध्ययनले देखाएको छ।

क्षुद्रग्रहका कारण पृथ्वीमा ठूलो विनाश भएको अनि अधिकांश पशु र वनस्पतिहरू मासिएको ठानिन्छ।

तर जोगिन सफल केही प्रजातिका सर्पहरू भुइँमुनि लुकेर अनि लामो समय निराहार बसेर महाप्रलयपछिको समयमा फस्टाएको विश्वास गरिएको छ।

ती सहनशील सरीसृप ३,००० भन्दा बढी प्रजाति बनेर पृथ्वीभरि फैलिए।

आजभन्दा ६.६ करोड वर्षअघि एउटा क्षुद्रग्रह पृथ्वीमा खस्दा डाइनसोरहरू लोप भएका विश्वास गरिन्छ।

त्यतिबेला भूकम्प, सुनामी र डढेलोको प्रकोप उत्पन्न भएको अनि खरानीयुक्त बादलले सूर्य छेकेको हुँदा दशकौँसम्म पृथ्वीमा अन्धकार छाएको मानिन्छ।

डाइनसोर

वैज्ञानिकहरूले त्यो महाप्रलयका कारण पृथ्वीमा ७६ प्रतिशत वनस्पति र जीव मासिएको अनुमान गरेका छन्।

तर केही स्तनपायी जीव, चरा, भ्यागुता र माछाजस्तै सर्पहरू जोगिएका थिए।

"आहाराचक्र नासिएको यस्तो परिस्थितिमा सर्पहरू जोगिन र मौलाउन सक्षम छन् अनि ती नयाँ महादेशमा फैलिन तथा आफ्नो पर्यावरणमा नयाँ किसिमले अन्तरक्रिया गर्न सक्षम छन्," यूनिभर्सिटी अफ बाथमा गरिएको अनुसन्धानको नेतृत्व गरेकी डा. क्याथरिन क्लाइनले भनिन्।

"क्षुद्रग्रहको प्रभावबिना ती (सर्प) आज जहाँ छन् सम्भवतः त्यहाँ हुँदैनथे।"

मेक्सिकोमा उक्त क्षुद्रग्रह बजारिएको बेला सर्पहरू आज हामी जुन रूपमा देख्छौँ लगभग त्यस्तै थिए : खुट्टाविहीन अनि सिकार निल्न लामो च्यापु भएका।

आहारा अभाव हुँदा एक वर्षसम्म निराहार बस्न सक्ने अनि महाविनाशपछि अन्धकारमा सिकार गर्न सक्ने तिनको क्षमता सर्पको अस्तित्वका लागि सहायकसिद्ध भएको हुनसक्छ।

जोगिएका थोरै प्रजातिका सर्पहरू भुइँमुनि वा जङ्गलको सतहमा अनि पानीमा बस्ने खालका थिए।

अरू जीवसँग प्रतिस्पर्धा कम हुँदा तिनलाई उद्‌विकासका विभिन्न मार्गबाट पृथ्वीभरि फैलिन ठूलो स्थान उपलब्ध थियो।

ती पहिलो पटक एशियामा पनि पुगे र फैलिए।

समयक्रमसँगै सर्प अझ ठूला भएर धेरैतिर फैलिए।

तिनले नयाँ वासस्थान र नयाँ सिकार फेला पारे। अनि १० मिटर लामो समुद्री सर्पसहित नयाँ प्रकारका सर्प पनि देखा परे।

येलो एनाकोन्डा
तस्बिरको क्याप्शन, अनुसन्धानकर्ताहरूले सर्पहरूको जीवावशेषको आनुवंशिक अध्ययक गरेका थिए

यससम्बन्धी शोध वैज्ञानिक जर्नल नेचर कम्यूनिकेशन्समा प्रकाशित भएको छ।

यो शोधले अहिले अस्तित्वमा भएका सबै सर्पहरूको सम्बन्ध क्षुद्रग्रह बजारिएपछि बाँच्न सफल प्रजातिसँग भएको देखाएको छ।

रूखमा बस्ने, समुद्रमा पाइने, विषालु भाइपर र गोमन अनि बोआ र अजिङ्गरजस्ता अहिले भेटिने विविध प्रकारका सर्पहरू सबै त्यतिबेलाको महाविनाशपछि उत्पन्न भएका हुन्।

छोटो अवधिमा कम्तीमा आधाजति प्रजाति मासिने घटना पृथ्वीमा केही पटक मात्र भएको छ।

यूनिभर्सिटी अफ बाथको मिल्नर सेन्टर फर ईभलूशनका वैज्ञानिक डा. निक लङ्‌रिचका अनुसार विध्वंसपछिको समयमा उद्‌विकास अनियन्त्रित रूपमा "प्रयोगात्मक र नवीन" हुन्छ।

उक्त अध्ययनले पृथ्वी न्यायो अवस्थाबाट अलि चिसो जलवायु भएको अवस्थामा पुग्दा दोस्रो पटक सर्पहरूको उद्‌विकासको लहर आएको पत्ता लगाएको छ।

त्यतिबेला पृथ्वीको ध्रुवमा बरफ जमेर आइसक्यापहरू बनेका थिए अनि पृथ्वीमा हिमयुग सुरु भएको थियो।

कलाकारले बनाएको चित्र
तस्बिरको क्याप्शन, क्षुद्रग्रह पृथ्वीमा बजारिएपछि जमिनमुनि बस्ने सर्पहरू जोगिएका थिए

सफल जीव

सर्पलाई सफल जीव मानिन्छ।

एन्टार्क्टिकाबाहेक सबै महादेशमा सर्प पाइन्छ। समुद्रदेखि मरुभूमिसम्म सर्प पाइन्छ। रूखदेखि जमिनमुनिसम्म ती बस्छन्।

सानामा केही सेन्टिमिटर र ठूलामा छ मिटरभन्दा लामा सर्प पनि हुन्छन्।

पारिस्थितिक प्रणालीका लागि सर्पलाई एकदमै महत्त्पूर्ण मानिन्छ। तिनले साना जीवजन्तु नियन्त्रण गर्न सघाउँछन्।

तर मानिससँगको द्वन्द्वका कारण धेरै प्रजातिका सर्पहरू लोप हुने जोखिममा छन्।

यो पनि हेर्नुहोस्

भिडिओ क्याप्शन सुरु हुँदैछ, तपाईँको आँसु र पिउने कफीसँग डाइनसोरको के सम्बन्ध?