इजरेल र इरानद्वारा एकअर्काको भूमिमा गोलाबारी जारी, पछिल्लो अवस्था के छ

इरानी हमलामा परेको मध्य इजरेलको एक भवन
तस्बिरको क्याप्शन, इरानी हमलामा परेको मध्य इजरेलको एक भवन
Published
पढ्ने समय: ३ मिनेट

इजरेलले इरानमा आक्रमण गरेपछि सुरु भएको दुई देशबीचको तनाव तेस्रो रात पनि कायम रह्यो भने दुवै तर्फबाट एक अर्काको देशमा गोलाबारी जारी छ।

इजरेली आक्रमणपछि प्रत्याक्रमणमा उत्रेको इरानले शनिवार राति मध्य इजरेलमा थप क्षेप्यास्त्रहरू प्रहार गरेको छ।

इजरेल डिफेन्स फोर्सेस आईडीएफले पनि राति नै तेहरानमा हवाई आक्रमण गरेको बताएको छ।

उसले इरानको रक्षा मन्त्रालयसहित इरानको परमाणु कार्यक्रमसँग सम्बन्धित क्षेत्रहरूलाई आफूले निसाना बनाएको बताएको हो।

इरानको सरकारी टेलिभिजनका अनुसार इजरेलमा 'व्यापक ड्रोन' आक्रमण सुरु गरेको छ।

इजरेलमा केहीको मृत्यु

इरानले इजरेलमा कैयौँ क्षेप्यास्त्र प्रहार गरेको छ

पछिल्लो इरानी हमलामा परेर इजरेलमा कम्तीमा १० जनाको ज्यान गएको अधिकारीहरूले बताएका छन्।

इजरेली प्रहरीका अनुसार मध्य इजरेलमा कम्तीमा ६ जनाको ज्यान गएको छ भने १०० जनाभन्दा बढी घाइते भएको बताइएको छ।

तेल अभिभको दक्षिणमा रहेको बात याम क्षेत्रमा एउटा भवनमा इरानले प्रहार गर्दा ती व्यक्तिहरूको मृत्यु भएको बताइएको हो।

त्यहाँ अन्य सात जना हराइरहेको विवरण इजरेली आकस्मिक सेवाका अधिकारीहरूले दिएका छन्। भग्नावशेषहरूमा उनीहरूको खोजी कार्य जारी छ।

स्थानीय अस्पताल र आकस्मिक सेवाका अनुसार उत्तरी इजरेलको अरबहरूको बस्ती रहेको सहर तम्राहमा अन्य चार जनाको ज्यान गएको छ।

यद्यपि धेरै इजरेली समाचार संस्थाहरूका अनुसार देशको उत्तरस्थित हाइफा नजिकैको आवासीय क्षेत्रमा क्षेप्यास्त्र प्रहार हुँदा कम्तीमा पाँच जनाको मृत्यु भएको विवरण छ।

त्यसलाई बीबीसीले स्वतन्त्र रूपमा पुष्टि गर्न सकेको छैन। इरानले रातभरि दुई पटक गरेर कैयौँ क्षेप्यास्त्रहरू इजरेलमा प्रहार गरेको थियो।

इरानमा भएको पछिल्लो आक्रमण

इरानले कैयौँ क्षेप्यास्त्र प्रहार गरेको छ

इरानको तेल मन्त्रालयका अनुसार इजरेलले तेहरानको शाहरान तेल डिपो र त्यहाँस्थित इन्धन भरिएका ट्याङ्कीहरूलाई निसाना बनाएको छ।

यद्यपि उसले स्थिति नियन्त्रणमा रहेको जनाएको छ।

अर्कोतर्फ इरानले प्रहार गरेको क्षेप्यास्त्रका कारण इजरेलको हाइफा अइल रिफाइनरीमा आगो लागेको भिडिओ आएको छ र त्यसलाई बीबीसीले पुष्टि गरेको छ।

इरानको सरकारी टेलिभिजनले आइफा र तेल अभिभलाई लक्षित गर्दै इजरेलमा १०० भन्दा बढी क्षेप्यास्त्रहरू प्रहार गरेको बताएको थियो।

इजरेल र इरानबीच तनाव

अमेरिका-इरान परमाणु वार्ता स्थगित

यसैबीच आइतवार हुने भनिएको अमेरिका-इरान परमाणु वार्ताको अर्को चरण अगाडि नबढ्ने भएको छ।

उक्त वार्ताको मध्यस्थता गरिरहेको ओमनका विदेशमन्त्री बद्र अल्बुसैदीले त्यसबारे जानकारी दिएका हुन्।

उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, "यो आइतबार मस्कटमा हुने तय भएको इरान-अमेरिका वार्ता अब हुने छैन तर कूटनीति र संवाद नै दिगो शान्तिको एक मात्र बाटो हो।"

यसअघि इरानका विदेशमन्त्रीले वर्तमान परिस्थितिलाई ध्यानमा राख्दै अमेरिकासँग वार्ता जारी राख्नु "न्यायपूर्ण नहुने" बताएका थिए।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।